सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।
नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
नियुक्त हुनुअघि डा. बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीशका रूपमा कार्यरत थिए। सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत थिए।
यसअघि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरूको नियुक्तिको प्रक्रिया अघि बढेको थियो।
नवनियुक्त चारै न्यायाधीशलाई प्रधानन्यायाधीश मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथपछि उनीहरूलाई इजलास तोकिनेछ भने सोमबारदेखि नियमित कामकाज सुरु गर्ने तयारी रहेको छ।
चार न्यायाधीशको नियुक्तिसँगै सर्वोच्च अदालतको न्यायिक कामकारबाहीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २७ कार्तिक २०८३ १६:४१ शुक्रबार