काठमाडौं । चाडपर्वपछि रक्तदान कार्यक्रम घट्नु र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्नुले रक्तसञ्चार केन्द्रहरूमा अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीले सबै रक्तसमूहको मौज्दात सकिएको जनाउँदै स्वयंसेवी रक्तदातालाई रक्तदान गर्न आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार केन्द्रमा होल ब्लड, प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) र प्लेटलेट्स (पीआरपी) को मौज्दात सकिएको छ । रगतको मागअनुसार आपूर्ति हुन नसक्दा बिरामीका लागि आवश्यक रगत व्यवस्थापन गर्न कठिनाइ भइरहेको उनले बताए ।
रेडक्रसले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पुगेका स्वस्थ युवायुवतीलाई रक्तदानमा सहभागी हुन आह्वान गरेको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले दसैँलगायतका चाडपर्वमा कार्यालय र शैक्षिक संस्था बन्द हुँदा नियमित रूपमा आयोजना हुने रक्तदान कार्यक्रम प्रभावित भएको बताए । रक्तदान कार्यक्रम घटेपछि रगतको सहज उपलब्धतामा समस्या देखिएको उल्लेख गर्दै उनले स्वयंसेवी रक्तदाता र विभिन्न सङ्घसंस्थालाई रक्तदान अभियानमा जुट्न आग्रह गरेका छन् ।
रेडक्रसका महामन्त्री ऋषि खनालका अनुसार संस्थाले देशका ७३ जिल्लामा रहेका १२० स्थानका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । रक्तदान गर्न इच्छुक व्यक्ति तथा रगत आवश्यक पर्ने बिरामीका आफन्तले केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१५३८८४८५ र ०१५३८८४८६ मा सम्पर्क गर्न सक्नेछन् । यसैगरी, नेपाल रेडक्रसको निःशुल्क हटलाइन ११३० मा फोन गरेर पनि जानकारी लिन सकिने संस्थाले जनाएको छ ।
रक्तसञ्चार सेवासम्बन्धी थप जानकारी प्राप्त गर्न मोबाइलको प्लेस्टोरबाट ‘एनआरसीएस बीटीएस’ एप डाउनलोड गर्नसमेत रेडक्रसले अनुरोध गरेको छ । रगतको अभावका कारण बिरामीको उपचार प्रभावित हुन नदिन स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नु आवश्यक रहेको रेडक्रसले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )