Trending
Prev Story
Next Story

वर्षाको त्रासले किसानलाई धान भित्र्याउन हतारो

Ekantipur •
October 27, 2026 • 05:00 PM
1
1 reads 0 reactions

वर्षाको जोखिमलाई ध्यानमा राख्दै नार्कको सुझाव— ‘वर्षा रोकिएपछि मात्रै धान काट्नू’

वर्षाको त्रासले किसानलाई धान भित्र्याउन हतारो

वर्षाको जोखिमलाई ध्यानमा राख्दै नार्कको सुझाव— ‘वर्षा रोकिएपछि मात्रै धान काट्नू’

काठमाडौँ — धान भित्र्याउने मुख्य समयमा भारी वर्षाको सम्भावना देखिएपछि किसानलाई पाकेको धान जोगाउने चिन्ता थपिएको छ । बिहीबारदेखि देशका विभिन्न स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थान, लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने देखिएको छ ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने विभागले सार्वजनिक गरेको बुलेटिनमा उल्लेख छ । लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबारदेखि नै मौसम बदली हुन थाल्ने विभागका मौसमविद् रोजन लामिछानेको भनाइ छ । बिहीबारदेखि शनिबार दिउँसोसम्म नेपालमा प्रणालीको प्रभाव बढी देखिने उनले जनाए ।

वर्षा हुने अनुमानसँगै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले किसानलाई वर्षा रोकिएपछि मात्रै धान काट्न सुझाएको छ । धान काटेर एक घाम सुकाउन वा फिँजाएर सुरक्षित राख्न सकिने अवस्थामा मात्रै कटानी गर्न नार्कको सुझाव छ ।

धान भित्र्याउने मुख्य सिजनमा वर्षाको सम्भावना बढेपछि कृषि विभागले किसानलाई पूर्वसूचनामार्फत सचेत गराएको छ । तर देशभर कति प्रतिशत धान कटानी भइसकेको छ, कति धान काटियो, कति बाँकी छ, यसको तथ्यांक नभएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताए । विभागले रोपाइँको तथ्यांक संकलन गर्ने गरे पनि धान कटानीको तथ्यांक नियमित रूपमा संकलन गर्ने अभ्यास नरहेको कोइरालाको भनाइ छ ।

‘पूर्वतयारी भनेकै सूचना सम्प्रेषण हो । एफएम, सञ्चारमाध्यम र वेबसाइटमार्फत किसानलाई सचेत गराइएको छ,’ कोइरालाले भने, ‘धान कटानीको तथ्यांक पनि सम्बन्धित केन्द्रसँग मागेका छौं, तर अहिलेसम्म प्राप्त भएको छैन ।’ वर्षाको पूर्वसूचनाले किसानलाई सम्भावित क्षति कम गर्न सहयोग पुग्ने उनको दाबी छ । सूचना पाएपछि कतिपय किसानले धान थन्क्याइसकेको र कतिपयले कृषि मेसिन प्रयोग गरेर कटानी गरिरहेको उनले जनाए ।

सिँचाइ सुविधा भएका खेतमा धान काट्नुअघि पानी सुकाउनुपर्ने भएकाले खेतको अवस्था हेरेर कटानीको समय व्यवस्थापन गर्न सकिने कोइरालाको सुझाव छ । मौसमी सूचनाका कारण धान क्षति कम हुने कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी जितबहादुर चन्दले बताए । इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगले हरेक किसानमा सूचना पुगेको उनले जनाए ।

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, रूपन्देहीलगायत तराईका जिल्लामा कम्बाइन हार्भेस्टरबाट धान काट्ने चलन बढ्दै गएको चन्दको भनाइ छ । धान काटेर खेतमै छाड्दा हावाहुरी र पानीले क्षति धेरै हुन्छ । काटिसकेको धानलाई सुरक्षित राख्ने र काट्न बाँकीलाई वर्षापछि मात्रै काट्नु उपयुक्त हुने उनले जनाए ।

तराई तथा भित्री मधेशदेखि पहाडी क्षेत्रसम्म विभिन्न जातका धान खेती हुने भएकाले धानको जात, पाक्ने अवस्था र खेतको परिस्थितिअनुसार कटानी तथा भण्डारणको तयारीमा किसान लागेका छन् । मौसमसम्बन्धी सूचनाका आधारमा किसानले धान भित्र्याइरहेको कृषक महासंघका अध्यक्ष पञ्जकाजी श्रेष्ठले बताए । ‘अहिले धेरै किसानले मौसमसम्बन्धी सूचना सुनिरहेका छन् । त्यहीअनुसार आफ्नो खेतीपाती व्यवस्थापन पनि गरिरहेका छन्,’ उनले भने, ‘साथीहरूसँग बुझ्दा पनि कतिपय किसानले धान काटिरहेको र कतिपयले भित्र्याइसकेको जानकारी पाएका छौं । त्यसैले सूचना प्रभावकारी भएको देखिन्छ ।’

मौसमसम्बन्धी सूचना सबै किसानसम्म पुर्‍याउन स्थानीय तहको भूमिका अझ प्रभावकारी हुनुपर्ने श्रेष्ठको भनाइ छ । धेरैजसो किसानसँग मोबाइल भए पनि सूचना सबैसम्म पुग्न नसक्ने भएकाले गाउँपालिका तथा वडा कार्यालयमार्फत माइकिङ गरेर जानकारी गराउनुपर्ने उनको सुझाव छ ।

प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
15h ago
आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना ५ मिनेट अघि काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आगामी आइतबार (कात्तिक २९) देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा मौ...

#वर्षा #हिमपात
Compare →
Bizshala
10h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #किसान
Compare →
Nagarik News
11h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612