धान काट्ने र थन्क्याउने काम भुजुङमा मात्र सीमित छैन । घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, घेर्मु र ताघ्रिङलगायत लमजुङका ग्रामीण बस्तीमा पनि किसानलाई धान भित्र्याउने चटारो छ ।
लमजुङ — दसैं सकिएसँगै लमजुङका ग्रामीण बस्तीमा धान भित्र्याउने चटारो बढेको छ । केही दिनपछि पानी पर्ने मौसम पूर्वानुमानले किसानलाई धान काटेर सुरक्षित राख्न भ्याइनभ्याइ छ । बिहान सबेरै खेतमा पुग्ने किसान साँझसम्म धान काट्ने, पन्जा उठाउने र कुनियो बनाएर राख्ने काममा व्यस्त छन् ।
क्व्होलासोथार गाउँपालिका–४, भुजुङकी ७१ वर्षीया नर्खु गुरुङ बिहानै तल्हृयु खेतमा पुग्छिन् । पाकेको धान झर्न लागिसकेको छ । त्यसमाथि पानी पर्ने पूर्वानुमानले उनलाई थप हतारो गराएको छ । ‘पाकेको धान झर्नै लाग्यो । अब त पानी पनि पर्छ भनेको छ, धान नकाटी सुखै भएन,’ उनले भनिन् ।
नर्खुजस्तै भुजुङका प्रायः सबै किसान यतिबेला खेतमै भेटिन्छन् । पानी पर्ने खबर गाउँसम्मै पुगेपछि धान काट्ने कामले तीव्रता पाएको स्थानीय हिउँमती गुरुङले बताइन् । उनका अनुसार ख्युँजे (घिम्चे) खेतको धान काट्ने काम सकिएको छ । अहिले गाउँले तल्हृयु खेतमा धान थन्क्याउन जुटेका छन् । घिम्चे खेतमा गोठ राख्ने समय नजिकिँदै गर्दा पनि गाउँलेलाई धान थन्क्याउने चटारो छ ।
भुजुङमा खेतअनुसार धान काट्ने समय फरक पर्छ । घिम्चे खेतमा धान काटिसकेपछि किसान तल्हृयु खेतमा खटिएका हुन् । घिम्चे खेतमा किसानले स्थानीयस्तरमै नौलो मानिने ताक्मरे जातको धान खेती गर्दै आएका छन् । गाउँघरमा दरमाली, पहेँलेलगायत स्थानीय जातका धान पनि लगाइन्छ ।
धान काट्ने र थन्क्याउने काम भुजुङमा मात्र सीमित छैन । घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, घेर्मु र ताघ्रिङलगायत लमजुङका ग्रामीण बस्तीमा पनि किसानलाई धान भित्र्याउने चटारो छ । दसैं सकिएलगत्तै सुरु भएको यो काम मौसमको अनिश्चितताले झन् हतारो भएको भुजुङकी हेमन्ता गुरुङ बताउँछिन् । उनका अनुसार ग्रामीण भेगमा किसानले सामूहिक रूपमा धान काट्ने, पन्जा उठाउने र कुनियो बनाएर राख्ने गर्छन् । पाकेको धान खेतमै लामो समय राख्दा झर्ने र पानी परेमा भिजेर क्षति हुने जोखिम हुन्छ । त्यसैले मौसम बिग्रनुअघि नै धान सुरक्षित राख्न किसान जुटेका उनले बताइन् ।
गाउँमा अगौटे धान काट्ने काम सकिएपछि लमजुङका ठूला फाँटमा धान काट्ने क्रम बढ्ने गर्छ । कृषि विकास कार्यालय लमजुङका अनुसार अहिले ग्रामीण भेगमा धान काट्ने काम चलिरहेको छ । केही दिनपछि ठूला फाँटमा पनि धान काट्ने चटारो थपिनेछ ।
कार्यालयका कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार लमजुङमा हालसम्म करिब १५ प्रतिशत धान काटिसकिएको अनुमान छ । बाँकी धान भित्र्याउने काम मौसमको अवस्थासँगै अघि बढ्ने उनले बताए । कार्यालयका अनुसार लमजुङमा कुल ६१ हजार ८ सय १९ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये ४५ हजार ५० हेक्टरमा खेती गरिन्छ । यस वर्ष ९ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।
गत आर्थिक वर्षमा ९ हजार २ सय ९९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो । त्यस वर्ष ३५ हजार ३ सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । लमजुङका ग्रामीण बस्तीमा स्थानीय जातका धानको खेती प्रचलनमा रहे पनि तल्लो क्षेत्रका ठूला फाँटमा भने उन्नत र हाइब्रिड जातका धान लगाउने गरिएको छ । रामधान, सुनौलो सुगन्ध, सुक्खा–२, सावित्री, जेठोबुढो, एक्ले र लोकतन्त्र उन्नत जातका धान हुन् । त्यस्तै लोकनाथ, गोरखनाथ, यूएस–३१२, मकवानपुर, वर्षे–३००४ र मनसुलीलगायत हाइब्रिड जातका धान पनि खेती गरिँदै आएको छ ।
पानी कम हुने क्षेत्रमा किसानले सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका कृषि कार्यालयले जनाएको छ ।
आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।