भोटेकोशी बाढीमा ७ हजार ३ सय घरपरिवार प्रभावित भएको र घरमा क्षति पुगेको ३ हजार ६७ परिवारको आवास निर्माणमा १२ अर्ब लाग्ने राष्ट्रिय योजना आयोगको सर्वेक्षणले देखाएको छ ।
काठमाडौँ — भोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्रिय योजना आयोगले गरिरहेको विपद्पछिको आवश्यकता आकलन (पीडीएन) अन्तर्गत प्रभावित क्षेत्रको घरपरिवार सर्वेक्षणले यस्तो देखाएको हो । बाढीबाट सर्वस्व गुमे पनि उनीहरूले पुनः सोही स्थानमा बस्न चाहना रहेको बताएका हुन् ।
बाढीबाट घरमा क्षति पुगेको ३ हजार ६७ परिवारलाई भविष्यमा स्थायी बसोबासबारे सोधिएको थियो । जसमा ७ सय ९७ (२५.९९ प्रतिशत) परिवारले बाढीअघिकै स्थानमा बस्ने चाहना व्यक्त गरेको प्रतिवेदनले देखाएको छ ।
५ सय ६५ (१८.४२ प्रतिशत) परिवारले जिल्लाभित्र आफ्नै स्वामित्वको अर्को जग्गामा बस्ने चाहना व्यक्त गरेका छन् भने १ सय ५९ (५.१८ प्रतिशत) परिवारले देशभित्रको आफ्नै स्वामित्वमा रहेको जग्गा बस्ने विकल्प रोजेका छन् । सरकारले जग्गा उपलब्ध गराए उक्त स्थानमा बस्न चाहने परिवारको संख्या ९ सय ३९ (३०.६२ प्रतिशत) छ ।
सरकारले सामूहिक आवासको व्यवस्था गरे सो स्थानमा बस्न चाहने ५ सय ९० (१९.२४ प्रतिशत) परिवार रहेको विवरण प्राप्त भएको छ । भविष्यको स्थायी बसोबासबारे उत्तर प्राप्त नभएका घरपरिवारको संख्या १७ रहेको देखिएको छ । आफ्नै स्वामित्वमा घर भएको जग्गामा १३ अर्ब २६ करोड बराबरको क्षति र भवन निर्माण लागत ११ अर्ब ९५ करोड देखिन्छ ।
प्राप्त प्रारम्भिक विवरण विश्लेषण गर्दा ३ हजार ६ सय १० परिवारको ५ सय ७.९७ हेक्टर जमिनमा क्षति पुगेको र जग्गाजमिनमा करिब ३५ अर्ब ४४ करोड बराबरको क्षति भएको देखिन्छ । लगाइरहेको बालीमा करिब २३ करोड २१ लाख (२ हजार ९ सय ५१ घरपरिवार), भण्डारण गरिएको खाद्यान्नमा करिब १० करोड ४१ लाख (१,८७६ घरपरिवार) र पशुपन्छी तथा माछापालनमा करिब २१ करोड ४२ लाख (१,०११ घरपरिवार) बराबरको क्षति पुगेको देखिन्छ ।
प्राप्त विवरणलाई हेर्दा घरपरिवारले पालेका ठूला जातका पशु ६ सय ६४, साना जातका पशु ४ हजार ६ सय १, पन्छी (कुखुरा/हाँसलगायत) ६३ हजार ६ सय ३३ र माछा २४ हजार ५ सय ८ केजी नष्ट भएको प्रतिवेदनले देखाएको छ । सर्वेक्षणबाट १ हजार १ सय १५ घरपरिवारका १ हजार ४ सय २३ साना/ठूला तथा दुईपांग्रे/चारपांग्रेसहितका सवारीसाधनमा १ अर्ब २४ करोड र २ हजार ३ सय ३० घरपरिवारका नगद, बहुमूल्य, सांस्कृतिक तथा पुरातात्त्विक वस्तुमा ५.०२ अर्ब बराबरको क्षति भएको विवरण प्राप्त भएको छ ।
गत भदौमा आएको भोटेकोशी बाढीले ७ हजार ३ सय १६ घरपरिवार तथा प्रतिष्ठान प्रभावित भएको अध्ययनले देखाएको छ । सर्वेक्षणले बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा गरी ४ जिल्लाका १५ पालिकामा ७ हजार ३ सय १६ घरपरिवार तथा प्रतिष्ठान प्रभावित भएको देखाएको हो ।
तीमध्ये ६ हजार ८ सय १७ घरपरिवार र ४ सय ९९ व्यवसाय/प्रतिष्ठान प्रभावित भएको प्रारम्भिक सर्वेक्षणले देखाएको छ । ‘नुवाकोटमा सबैभन्दा बढी ४ हजार १ सय ६४ घरपरिवार तथा प्रतिष्ठान प्रभावित भएको देखिएका छन् । रसुवामा १ हजार ९ सय ७७ घरपरिवार, धादिङमा १ हजार ५२ र गोरखामा १ सय २३ घरपरिवार तथा प्रतिष्ठान प्रभावित देखिएका छन्,’ सर्वेक्षणमा भनिएको छ ।
बाढीबाट ३२ हजार ८ सय ७२ व्यक्ति प्रत्यक्ष रूपमा प्रभावित भएको देखिन्छ । जिल्लागत रूपमा हेर्दा धादिङमा ४ हजार ५ सय ८४, गोरखामा ६ हजार ५८, नुवाकोटमा १७ हजार ९ सय ५४ र रसुवामा ९ हवार ६ सय ७६ जनसंख्या प्रभावित भएका छन् । प्रभावितमध्ये १६ हजार ७ सय १४ पुरुष र १६ हजार ८० महिला रहेका छ्न् । अन्य लिंगी तथा लैंगिक पहिचान नखुलेका प्रभावित व्यक्तिको संख्या ७८ रहेको देखिएको छ ।
‘रसुवा भोटेकोशी बाढीबाट ३ हजार ६७ घरधनीको ४ हजार १ सय ५१ वटा भवन संरचनामा क्षति पुगेको देखिन्छ । जसमध्ये रसुवामा ८ सय ८२ घरधनीको १ हजार २ सय ३६ वटा, नुवाकोटमा १ हजार ६ सय ८६ घरधनीको २ हजार २ सय ५६, धादिङमा ४ सय ८० घरधनीको ६ सय ३० र गोरखामा १९ घरधनीको २९ वटा भवन संरचनामा क्षति पुगेको देखिन्छ,’ सर्वेक्षणको प्रारम्भिक नतिजाले देखाएको छ, ‘बाढीबाट क्षति पुगेको ४ हजार १ सय ५१ भवन संरचनामध्ये २ हजार ७ सय ९२ घर, २ सय ८८ गोठ/धनसार/मतान, ६ सय ५१ ट्रस, २ सय ६३ टहरा र १४२ अन्य प्रकारका संरचना रहेका छन् भने १५ संरचनाको प्रकार खुलेको देखिँदैन ।’
सर्वेक्षणबाट प्राप्त विवरणअनुसार २ हजार ९ सय ८९ (७२.०१ प्रतिशत) भवन संरचना बाढीबाट पूर्ण रूपमा क्षति पुगेको देखिन्छ । कुल १ सय ४१ (३.४ प्रतिशत) संरचना ढल्किएर रहेको भन्ने तथ्यांक प्राप्त भएको छ । ३ सय २ (७.२८ प्रतिशत) भवन आंशिक रूपमा क्षति भएका, ५ सय ८ (१२.२४ प्रतिशत) भवन संरचनामा माटो तथा लेदोले पुरिएका र १ सय ९२ (४.६३ प्रतिशत) भवनमा सामान्य क्षति पुगेको देखिन्छ । बाँकी १९ (०.४६ प्रतिशत) वटा संरचनाको क्षतिको प्रकार उल्लेख गरेको पाइएन ।
पुनः प्रयोगको सम्भावनालाई हेर्दा ३ हजार १ सय ९४ (७६.९५ प्रतिशत) संरचना पुनः प्रयोग गर्न नै नसकिने अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी ३ सय ३२ (८ प्रतिशत) पूर्ण मर्मतपछि र ३ सय २० (७.७१ प्रतिशत) वटा सामान्य मर्मतपछि प्रयोग गर्न सकिने देखिएको छ । ९७ (२.३४ प्रतिशत) संरचनामा मर्मत नगरी पनि बस्न सकिने देखिएको छ ।
सर्वेक्षणबाट प्राप्त विवरण विश्लेषण गर्दा क्षति भएको भवन संरचनाले ५४.६५ हेक्टर जमिन चर्चेको प्रतिवेदनले देखाएको छ । सर्वेक्षणको प्रारम्भिक विवरणअनुसार ३ हजार १ सय ८७ परिवारको १ अर्ब ४५ करोड बराबरको स्थायी प्रकृतिका सामानमा क्षति पुगेको देखिन्छ भने २ हजार ७ सय ६९ घरपरिवारको ६६ करोड ३५ लाख बराबरको अस्थायी प्रकृतिका सामानमा क्षति पुगेको देखिन्छ ।
व्यवसाय/प्रतिष्ठानतर्फ भएको क्षतिलाई हेर्दा बाढीबाट प्रभावित ४ जिल्लामा १ हजार ६ सय ३८ व्यवसाय/प्रतिष्ठानमा क्षति पुगेको देखिन्छ । जिल्लागत रूपमा हेर्दा नुवाकोटमा ९ सय ६२, रसुवामा ४ सय १६, धादिङमा २ सय ४१, गोरखामा १९ व्यावसायिक प्रतिष्ठान तथा उद्योग व्यवसाय प्रभावित भएका छन् ।
क्षति भएका व्यावसायिक प्रतिष्ठानको मुख्य आर्थिक क्रियाकलापलाई विश्लेषण गर्दा थोक तथा खुद्रा व्यापार गर्ने व्यवसाय ७ सय ७४ (४७.२५ प्रतिशत), आवास तथा खाद्य सेवा ३ सय ३७ (२०.५७ प्रतिशत) कृषि, वन तथा मत्स्यपालन १ सय ६६ (१०.१३ प्रतिशत), अन्य सेवाप्रदायक १ सय ३६ (८.३ प्रतिशत) र बाँकी अन्य प्रकारका आर्थिक क्रियाकलाप गर्ने व्यवसाय/प्रतिष्ठान रहेको देखिन्छ ।
सर्वेक्षणमा व्यावसायिक प्रतिष्ठानका ४ सय ३ साना/ठूला दुईपांग्रे/चारपांग्रेसहितका सवारीमा ९४ करोड बराबरको क्षति भएको देखिन्छ । व्यावसायिक प्रतिष्ठानले पालेका ठूला जातका पशु १ सय ३०, साना जातका पशु २ हजार ५८, पन्छी (कुखुरा/हाँसलगायत) १ लाख ५३ हजार ५२ र माछा २८ हजार १ सय ५० केजी नष्ट भएको सर्वेक्षणले देखाएको छ ।
यसरी घरपरिवार र प्रतिष्ठानतर्फको सर्वेक्षणको विवरण विश्लेषण गर्दा रसुवा भोटेकोशी बाढीले घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय/प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड गरी कुल ७९ अर्ब १७ करोडको क्षति पुगेको प्रारम्भिक अनुमान छ । यी विवरण घरधुरी सर्वेक्षणको प्रारम्भिक तथ्यांकमा आधारित छन् । पूर्वाधार, उत्पादनशील, सामाजिक, वातावरणलगायत क्षेत्रमा भएका क्षति तथा नोक्सानीसमेतको विवरण समावेश गरी प्रतिवेदन तयार गर्ने कार्य भइरहेको जनाइएको छ ।
– रसुवा, नुवाकोट, धादिङ र गोरखा गरी ४ जिल्लाका १५ पालिकामा ७ हजार ३ सय १६ घरपरिवार तथा प्रतिष्ठान प्रभावित
– तीमध्ये ६ हजार ८ सय १७ घरपरिवार र ४ सय ९९ व्यवसाय/प्रतिष्ठान प्रभावित
– नुवाकोटमा सबैभन्दा बढी ४ हजार १ सय ६४ घरपरिवार तथा प्रतिष्ठान प्रभावित
– रसुवामा १ हजार ९ सय ७७ घरपरिवार, धादिङमा १ हजार ५२ र गोरखामा १ सय २३ घरपरिवार तथा प्रतिष्ठान प्रभावित
– घरपरिवार सर्वेक्षणअनुसार बाढीबाट ३२ हजार ८ सय ७२ व्यक्ति प्रत्यक्ष रूपमा प्रभावित
– धादिङमा ४ हजार ५ सय ८४, गोरखामा ६ सय ५८, नुवाकोटमा १७ हजार ९ सय ५४ र रसुवामा ९ हजार ६ सय ७६ जनसंख्या प्रभावित
– प्रभावितमध्ये १६ हजार ७ सय १४ पुरुष र १६ हजार ८० महिला, अन्य लिंगी तथा लैंगिक पहिचान नखुलेका प्रभावित व्यक्तिको संख्या ७८
– बाढीबाट ३ हजार ६७ घरधनीका ४ हजार १ सय ५१ भवन संरचनामा क्षति
– रसुवामा ८ सय ८२ घरधनीको १ हजार २ सय ३६, नुवाकोटमा १ हजार ६ सय ८६ घरधनीको २ हजार २ सय ५६, धादिङमा ४ सय ८० घरधनीका ६ सय ३० र गोरखामा १९ घरधनीका २९ वटा भवन संरचनामा क्षति
– बाढीबाट क्षति पुगेका ४ हजार १ सय ५१ भवन संरचनामध्ये २ हजार ७ सय ९२ घर, २ सय ८८ गोठ/धन्सार/मतान, ६ सय ५१ ट्रस, २ सय ६३ टहरा र १ सय ४२ अन्य संरचना
– २ हजार ९ सय ८९ (७२.०१) भवन संरचना बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त, कुल १ सय ४१ (३.४ प्रतिशत) संरचना ढल्किएर रहेको
– ३ सय २ (७.२८ प्रतिशत) भवन आंशिक रूपमा क्षति भएका, ५ सय ८ (१२.२४ प्रतिशत) भवन संरचनामा माटो तथा लेदोले पुरिएका र १ सय ९२ (४.६३ प्रतिशत) भवनमा सामान्य क्षति
– ३ हजार १ सय ९४ (७६.९५ प्रतिशत) संरचना पुनःप्रयोग गर्न नसकिने
– ३ सय ३२ (८.०० प्रतिशत) पूर्ण मर्मतपछि र ३ सय २० (७.७१ प्रतिशत) वटा सामान्य मर्मतपछि प्रयोग गर्न सकिने, ९७ (२.३४ प्रतिशत) संरचनामा मर्मत नगरी पनि बस्न सकिने
– क्षति भएको भवन संरचनाले ५४.६५ हेक्टर जमिन चर्चेको
– आफ्नै स्वामित्वमा घर भएको जग्गामा १३ अर्ब २६ करोड बराबरको क्षति, भवन निर्माण लागत ११ अर्ब ९५ करोड
– ३ हजार ६१० परिवारको ५ सय ७.९७ हेक्टर जमिनमा क्षति पुगेको र जग्गा जमिनमा करिब ३५ अर्ब ४४ करोड बराबरको क्षति
– लगाइरहेको बालीमा करिब २३ करोड २१ लाख (२ हजार ९ सय ५१ घरपरिवार)
– भण्डारण गरिएको खाद्यान्नमा करिब १० करोड ४१ लाख (१ हजार ८ सय ७६ घरपरिवार)
– पशुपन्छी तथा माछापालनमा करिब २१ करोड ४२ लाख (१ हजार ११ घरपरिवार) बराबरको क्षति
– सर्वेक्षणबाट १ हजार १ सय १५ घरपरिवारका १ हजार ४ सय २३ साना/ठूला तथा दुईपांग्रे/चारपांग्रेसहितका सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँको क्षति
– २ हजार ३ सय ३० घरपरिवारका नगद, बहुमूल्य, सांस्कृतिक तथा पुरातात्त्विक वस्तुमा ५.०२ अर्ब बराबरको क्षति
– ३ हजार १ सय ८७ परिवारको १ अर्ब ४५ करोड बराबरको स्थायी प्रकृतिका सामानमा क्षति
– २ हजार ७ सय ६९ घरपरिवारको ६६ करोड ३५ लाख बराबरको अस्थायी प्रकृतिका सामानमा क्षति
यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।