बाढीबाट घरमा क्षति पुगेका ३,०६७ परिवारमध्ये ९३९ ले सरकारले जग्गा उपलब्ध गराएमा र ५९० ले सामूहिक आवासको व्यवस्था गरेमा बस्न चाहेको राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षणमा उल्लेख छ ।
काठमाडौँ — भोटेकोशी बाढीबाट घरमा क्षति पुगेका ९३९ परिवारले सरकारले जग्गा उपलब्ध गराएमा त्यहीँ बस्न चाहेको बताएका छन् ।
राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक सर्वेक्षण विवरणअनुसार घरमा क्षति पुगेका ३ हजार ६७ परिवारसँग भविष्यमा स्थायी बसोबासबारे सोधिएको थियो । त्यसमध्ये ७९७ परिवारले बाढीअघिकै स्थानमा बस्ने चाहना व्यक्त गरेका छन् ।
त्यस्तै, ५६५ परिवारले जिल्लाभित्रै आफ्नो स्वामित्वको अर्को जग्गामा बस्न चाहेका छन् भने १५९ परिवारले देशभित्र आफ्नै स्वामित्वमा रहेको अन्य जग्गामा बस्ने विकल्प रोजेका छन् । सरकारले सामूहिक आवासको व्यवस्था गरेमा ५९० परिवार त्यहाँ बस्न तयार रहेको सर्वेक्षणमा उल्लेख छ । १७ परिवारको स्थायी बसोबाससम्बन्धी उत्तर प्राप्त भएको छैन ।