२७ कात्तिक, स्याङ्जा । गण्डकी प्रदेशकै एक मात्र मत्स्य विकास केन्द्र पर्याप्त जग्गा र प्राविधिक जनशक्तिको अभावमा स्थापनाकालीन उद्देश्यअनुसार अघि बढ्न सकेको छैन ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीमा रहेको केन्द्रले स्थानीय किसानलाई सहुलियतमा माछाका भुरा उपलब्ध गराउनेदेखि प्राकृतिक जलस्रोतमा माछाको संख्या बढाउनेसम्मका जिम्मेवारी पाएको छ । तर आवश्यक पूर्वाधारको अभावमा केन्द्रले सेवा विस्तार गर्न सकेको छैन ।
केन्द्रका कार्यालय प्रमुख आविष्कार पोखरेलका अनुसार केन्द्रको आफ्नै जग्गा छैन । कार्यालयसमेत नेपाल विद्युत् प्राधिकरणको जग्गामा सञ्चालन भइरहेको छ । पर्याप्त जग्गा नहुँदा माछाका भुरा उत्पादन र वितरणको काम योजनाअनुसार गर्न नसकिएको उनले बताए ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणपछि कालीगण्डकी नदीमा माछाको वृद्धि दर घटेको थियो । नदीमा माछाको संख्या र वृद्धि दर कायम राख्ने उद्देश्यले २०६१ सालमा केन्द्र स्थापना गरिएको हो । तर जग्गा र प्राविधिक जनशक्तिको अभावमा स्थापनाकालीन लक्ष्यअनुसार काम गर्न नसकिएको पोखरेलको भनाइ छ ।
केन्द्रमा प्राविधिकसहित १० जनाको दरबन्दी भए पनि अहिले करारका दुई जनासहित छ जना मात्रै कार्यरत छन् । आवश्यक जनशक्ति र भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा समेत असर परेको छ ।
केन्द्रले आफैं माछाका भुरा उत्पादन गर्नुपर्ने भए पनि अहिले विद्युत् प्राधिकरणको जग्गामा सीमित रूपमा उत्पादन गर्दै आएको छ । ताल तथा जलाशयमा छोड्न र किसानलाई वितरण गर्न आवश्यक भुरा भने निजी ह्याचरी र बेगनास फिसरी रिसर्च सेन्टरबाट खरिद गर्ने गरिएको छ ।
११ जिल्लालाई कार्यक्षेत्र बनाइएको केन्द्र भौगोलिक हिसाबले पनि अपायक स्थानमा छ । यसले गर्दा सबै जिल्लाका किसानलाई सहज रूपमा सेवा पुर्याउन कठिन भएको पोखरेलले बताए ।
अहिले केन्द्रले माछापालनसम्बन्धी सामान्य तालिम दिने, माछापोखरी निर्माणमा सहयोग गर्ने, अनुगमन गर्ने तथा रेनबो ट्राउटका भुरा खरिद गरेर किसानलाई उपलब्ध गराउने काम गर्दै आएको छ । पर्याप्त जग्गा, प्राविधिक जनशक्ति र आवश्यक पूर्वाधार उपलब्ध गराउन सके यस क्षेत्रको माछापालन व्यवसायलाई लक्ष्यअनुसार विस्तार गर्न सकिने उनको भनाइ छ ।
भौतिक पूर्वाधार र जनशक्तिको अभाव झेलिरहेको केन्द्रले प्रदेशमै पहिलो पटक बायोफ्लक ट्याङ्की प्रविधिबाट माछापालन सुरु गरेको छ । थोरै क्षेत्रफलमा धेरै माछा उत्पादन गर्न सकिने यो प्रविधि दुईवटा ट्याङ्कीमा प्रयोग गरिएको छ ।
यस प्रविधिमा पाइपमार्फत बाहिरी हावा ट्याङ्कीभित्र पठाएर पानीमा अक्सिजनको मात्रा कायम गरिन्छ । कम ठाउँमा पनि माछापालन गर्न सकिने भएकाले यसले व्यावसायिक माछापालनका लागि नयाँ सम्भावना देखाएको पोखरेलले बताए ।
उनका अनुसार १० लिटर पानीमा एउटा माछा पाल्न सकिन्छ । किसानलाई आवश्यक तालिम दिएर यो प्रविधि हस्तान्तरण गर्न सके प्रभावकारी हुने उनको भनाइ छ ।
केन्द्रले अहिले तीन दिनको मात्रै तालिम उपलब्ध गराउन सक्ने भए पनि बायोफ्लक प्रविधिमा दक्ष हुन किसानलाई तीन महिनाको तालिम आवश्यक पर्ने पोखरेलले बताए । पर्याप्त तालिम र प्राविधिक सहयोग उपलब्ध गराउन सके यो प्रविधि किसानका लागि उपयोगी बन्न सक्ने उनको विश्वास छ ।