आर्थिक अभावका कारण माइती जान नसक्ने चेलीहरूलाई तिहारमा घरदेखि माइतीसम्म र फर्किँदा घरसम्म पुर्याउन खोटाङमा निःशुल्क बाइक सेवा सुरु गरिएको छ ।
खोटाङ — यातायात पहुँचबाहिरका चेलीहरूलाई माइतीसम्म पुर्याउन निःशुल्क मोटरसाइकल सेवा सुरु गरिएको छ । आर्थिक अभावका कारण यातायात पहुँचबाहिरका चेलीहरूलाई तिहारमा माइतीसम्म पुर्याउन मङ्गलबारदेखि निःशुल्क बाइक सेवा सुरु गरिएको हो ।
‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत अभावमा परेका चेलीहरूलाई घरबाट माइतीसम्म र माइतीबाट घरसम्म पुर्याउनका लागि निःशुल्क बाइक सेवा सुरु गरिएको अभियानका संयोजक सञ्जयकुमार राईले बताए । ‘अभावमा माइती–मावली गर्न नसक्ने चेलीहरूका लागि यो अभियान सञ्चालन गरिएको हो,’ राईले भने, ‘दसैं बेला ४ दिन सञ्चालन गरिएको अभियानमा ६ सय ४७ जना चेलीहरूले सेवा पाउनुभएको थियो, तिहारमा पनि त्यसै अनुपातमा सेवा दिने लक्ष्य राखिएको छ ।’
अभियानको सुरु दिन मङ्गलबार १८ वटा बाइक र एउटा अटोबाट एक सय ३६ जनाले सेवा पाएको अभियान सचिवालय प्रमुख निराजन ढकालले बताए । यो अभियान विगत ३ वर्षदेखि सञ्चालन गरिँदै आएको राईले सुनाए । गत वर्ष ७ सय ५० र अघिल्लो वर्ष ५ सय जनाले सेवा पाएका थिए ।
डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।