६ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने छ भने आगामी आर्थिक वर्षबाट निर्माण अघि बढाइने भएको छ ।
हिमाली पर्यटकीय राजमार्ग निर्माणका लागि पहिलो पटक सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि नेपाल पूर्वाधार कम्पनी लिमिटेड र सडक विभागबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । दसैंअघि गरिएको सम्झौताअनुसार केही दिनभित्रमै अध्ययनका लागि प्राविधिक टोली परिचालन हुने नेपाल पूर्वाधार कम्पनी लिमिटेडले जनाएको छ ।
पहिलो चरणमा दार्चुलाको अपिनाम्पा, बझाङको सैपाल हुँदै बाजुराको बडिमालिकासम्म १ सय ५ किलोमिटर र संखुवासभाको नुम हुँदै ताप्लेजुङको पाथीभरासम्म ४५ किमि सडक खण्डको सम्भाव्यता अध्ययन गरिनेछ । सरकारको नयाँ अवधारणाअनुसार पर्यटकीय क्षेत्रमा सुरक्षित सडक बनाएर आन्तरिक र बाह्य पर्यटन आवागमन वृद्धि गर्ने लक्ष्य रहेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेले बताए ।
‘यसका लागि सम्भाव्यता अध्ययन गरिँदै छ,’ उपमहानिर्देशक न्यौपानेले भने, ‘राजमार्ग बनेपछि पर्यटक आवागमन बढाउन र अर्थतन्त्र चलायमान बनाउन पनि सघाउ पुग्नेछ ।’ अहिलेसम्म सबैभन्दा बढी उचाइमा कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको कोरलामा बनाइएको सडक हो, जुन सडक खण्डको उचाइ ४ हजार ६ सय मिटर रहेको न्यौपानेले जनाए ।
सम्भाव्यता अध्ययनबाट धेरै विषय थाहा हुने र पहिल्यै बनेका लिंक सडकलाई हिमाली पर्यटकीय राजमार्गसँग जोड्न सकिने उनको भनाइ छ । ‘सहायक मार्गले जोड्ने सडक पनि राष्ट्रिय राजमार्गभित्र नै पर्नेछन्,’ उनले भने, ‘अहिले दार्चुलादेखि बाजुरा र संखुवासभादेखि ताप्लेजुङको पाथीभरासम्म जोड्ने मार्गको अध्ययन गरिनेछ ।’ पहिलो चरणमा सुदूरपश्चिम र सुदूरपूर्वका ठाउँ छानिएको उनले बताए । ‘यसले पर्यटकीय र धार्मिक स्थल दुवैलाई जोड्छ,’ उनले भने । अध्ययनको समय ६ महिना तोकिएको छ ।
चालु वर्षमा सम्भाव्यता अध्ययन सकेर अर्को वर्ष निर्माणमै जाने योजनाअनुसार काम अघि बढाइने उनको भनाइ छ । ‘यो सबैको चासोको राजमार्ग हो, सम्भाव्यता अध्ययनपछि विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम अघि बढ्छ,’ प्रवक्ता न्यौपानेले भने । ढलान र कालोपत्र कुन उपयुक्त हुन्छ, त्यहीअनुसार १२ महिना नै चल्ने राजमार्ग बनाउने योजना रहेको उनले जनाए ।
निर्वाचनका बेला प्रधानमन्त्री वालेन्द्र शाहले चुनावी भाषणका क्रममा धनगढीमा भनेका थिए, ‘मान्छेहरू देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्, स्विट्जरल्यान्डको बाउ बडिमालिका यहीँ छ, किन बनाउनुपर्यो स्विट्जरल्यान्ड । स्विट्जरल्यान्डको परकाष्ठा रामारोशन यहीँ छ, किन बनाउनुपर्यो स्विट्जरल्यान्ड, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ किन बनाउनुपर्यो स्विट्जरल्यान्ड, हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौं । भएको चिज देखाउनै सकेका छैनौं ।’
शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेर ८ माघ २०८२ मा ताप्लेजुङस्थित पाथीभरा मन्दिर पुगेका थिए । अहिले उनी पुगेका दुवै क्षेत्रमा हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्ने योजनासहित सम्भाव्यता अध्ययन गर्न लागिएको हो । सम्भाव्यता अध्ययनअनुसार बडिमालिका, पाथिभरा लगायत पर्यटकीय क्षेत्रलाई सडक सञ्जालमार्फत जोड्न आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइने पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताए । ‘हाम्रा हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हिमाली पर्यटकीय राजमार्गलाई नवीन कार्यक्रमका रूपमा अघि बढाएका छौं,’ मन्त्री लम्सालले सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
तिहारअघि नै भिन्दा–भिन्दै दुई वटा समूह बनाएर सम्भाव्यता अध्ययनका लागि त्यसतर्फ जाने तयारीमा रहेको नेपाल पूर्वाधार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभाकर थापाको भनाइ छ ।
‘दसैंको मुखमा सम्भाव्यता अध्ययनका लागि सम्झौता भएको हो, तोकिएको समय ६ महिनाभित्र रिपोर्ट बुझाउँछौं,’ थापाले भने, ‘सम्भाव्यता अध्ययन भएकाले प्राविधिक, आर्थिक, सामाजिक र वातावरणीय अध्ययन हुनेछ ।’ सडकको रेखांकन अन्य कुन सडक हुँदै जान सक्छ भनेर विभिन्न विकल्प हेर्दै अध्ययन गरिने उनले सुनाए ।
‘ताकि कम लागत, वातावरणलाई कम असर गर्ने र बढीभन्दा बढी मानिस लाभान्वित हुने गरी राजमार्ग निर्माण गर्न मिल्ने विकल्पसहित अध्ययन गर्छौं,’ थापाले भने, ‘यसले स्थानीय बजारलाई पनि छुनुपर्यो, यस्तै बस्ती र बजारलाई सहज हुने गरी अध्ययन गर्छौं ।’ कुन–कुन विकल्पहरू ठीक हुन्छन्, त्यसबारे सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख गरेर सुझाव दिइने उनले जनाए ।
विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।