यूपीआईको तथ्यांक विश्लेषण गर्दा नेपाल आउने भारतीय पर्यटकमध्ये ३५ प्रतिशत बिदा मनाउन तथा मनोरञ्जनका लागि र १५ प्रतिशत तीर्थयात्राका लागि आउने गरेका छन् ।
काठमाडौँ — दुई वर्षअघि नेपाल आउँदा अनुजित बर्माले नयाँदिल्लीमै बैंकको एटीएमबाट नगद झिकेर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यसलाई डलरमा साटीवरी काठमाडौं आएका थिए । वित्तीय–प्रविधि क्षेत्रमा काम गर्ने अनुजितलाई त्यो प्रक्रिया साह्रै झन्झटिलो र सुस्त लागेको थियो । यसपालि ‘फिनटेक एक्स्पो २०२६’ मा प्रदर्शनीकर्ताका रूपमा भाग लिन काठमाडौँ ओर्लिंदा भने उनले खल्तीमा नगद बोकेका थिएनन्, मोबाइलमा क्यूआर कोड थियो ।
‘नेपालमा यूपीआई र क्यूआर प्रविधि लागू भएपछि हामी भारतीयलाई नेपालमा कारोबार गर्न एकदमै सजिलो र छिटो भएको छ,’ सानेपास्थित हेरिटेज गार्डेनमा भइरहेको फिनटेक एक्स्पोमा शुक्रबार आफ्नो स्टलछेउ भेटिएका अनुजितले कान्तिपुरसँग भने, ‘भारतमा प्रयोग भइरहेको यूपीआई नेपालमा पनि सीधै प्रयोग गर्न पाउँदा खुसी लाग्यो ।’ एन्टी–मनी लन्डरिङ, वित्तीय अपराध अनुपालन र वित्तीय जोखिम व्यवस्थापनका क्षेत्रमा काम गर्ने ‘जायग्राम’ प्रविधिका उनी कस्टमर सलुसन्सका निर्देशक हुन् ।
नेपालका लागि भारत सबैभन्दा धेरै पर्यटक भित्रिने स्रोत बजार हो । सन् २०२५ मा ११ लाख ६२ हजार विदेशी पर्यटक नेपाल आएका थिए । तीमध्ये हवाईमार्गबाट मात्रै २ लाख ९३ हजार भारतीय थिए । यो संख्या कुल विदेशी पर्यटक आगमनको करिब २५ प्रतिशत हो । सडकमार्ग हुँदै आउने भारतीय पर्यटकको छुट्टै तथ्यांक कुनै निकायले व्यवस्थित रूपमा राख्ने गरेको छैन । त्यसैले नेपाल आउने भारतीय पर्यटकको वास्तविक संख्या अझै ठूलो छ । उनीहरू नेपाल आएर कहाँ–कहाँ जाँदा हुन् ? के गर्दा हुन् ? केमा बढी खर्च गर्दा हुन् ?
यसबारे एउटा रोचक तथ्यांक फेला परेको छ । फागुन २०८० देखि भारतीय पर्यटकले नेपालमा मोबाइलबाटै क्यूआर स्क्यान गरेर पैसा तिर्ने सुविधा उपलब्ध भएयता नेपालमा भारतीय पर्यटकको रोजाइबारे केही प्रवृत्ति देखिएको छ । उनीहरू पशुपतिनाथजस्ता प्रमुख धार्मिक स्थलसँगै, केएफसी, पिज्जा हटजस्ता क्विक सर्भिस रेस्टुरेन्ट, चन्द्रागिरि हिल्स, द क्लिफ, एलओडी र क्याटवाकजस्ता मनोरञ्जनात्मक स्थान पुगेको र धेरै खर्च गरेको देखिन्छ । यस्तै भाटभटेनी, बिग मार्ट र सेल्सबेरीदेखि दृष्टि आई अस्पतालसम्म सेवा लिएको र हस्तकलाका सामान तथा उपहार (सुभेनियर) किन्न खर्च गरेको पाइन्छ ।
भारतको एकीकृत भुक्तानी प्रणाली (यूपीआई) मार्फत नेपालका २० लाखभन्दा बढी व्यवसायीलाई भारतीय नागरिकले क्यूआर स्क्यान गरेर रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । नेपालमा यूपीआई सेवाको प्रभावकारिताबारे जानकारी दिँदै ‘एनपीसीआई इन्टरनेसनल’ का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले २ भदौमा पशुपतिनाथमा क्यूआरबाटै भेटी चढाएको अनुभव साटेका थिए । उनले पशुपतिनाथमा फोनपेको क्यूआर कोडमा आफ्नो भारतीय गुगल पे एपमार्फत भारतीय बैंक खाताबाटै दान रकम भुक्तानी गरेको बताए ।
शुक्लाले नै दिएको जानकारीअनुसार भारतीयहरूले नेपालमा केएफसी, भाटभटेनी, बिग मार्ट, एलओडी, चन्द्रागिरि हिल्स, पिज्जा हट, बिजी बी, त्रिशारा, मनकामना केबलकार, क्याटवाक, फुडमान्डु, एनसेल, बास्किन–रबिन्स, सेल्सबेरी, हिमालयन जाभा कफी, द सोल्टी होटल, ब्ल्याक फरेस्ट, दृष्टि आई हस्पिटल, द क्लिफ र लगायतमा खर्च गर्ने गरेका छन् ।
नेपाल घुम्न आएका भारतीय पर्यटकहरूको धार्मिक स्थलमा घुमघामसँगै मनोरञ्जन, दृश्यावलोकन, केबलकार, रिसोर्ट र नाइटलाइफमा समय बिताउने गरेको देखिन्छ । पशुपति क्षेत्र विकास कोषका प्रशासन प्रमुख सूर्य भाटका अनुसार पछिल्लो एक वर्षमा पशुपति आउने भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । पछिल्लो ६ महिनाको अवस्थालाई हेर्दा पशुपति क्षेत्र आउनेमध्ये करिब ६० प्रतिशत भारतीय रहेको उनको भनाइ छ । ‘अहिले यो एक वर्षदेखि भारतीय पर्यटक असाध्यै बढेका छन्, ६ महिनायता भारतीय पर्यटक ६० प्रतिशतले बढी छन्,’ भाटले भने ।
उनका अनुसार पछिल्लो समय दक्षिण भारतबाट आउनेको संख्या बढी देखिन्छ । तर, यस पटक राजस्थानबाट आउने पर्यटक पनि उल्लेख्य छन् । राजस्थान सरकारले आफ्ना नागरिकलाई तेस्रो मुलुकमा डलर खर्च नगरी नजिकका मुलुकमा खर्च गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याएकाले त्यसको प्रभाव नेपाल भ्रमणमा समेत परेको उनले बताए । पशुपतिमा भारतीयको क्यूआर कारोबार बढ्नुको कारण भने मन्दिरभित्रको दानभन्दा बाहिरी बजारको गतिविधि बढी रहेको भाटको भनाइ छ ।
पशुपति आसपासका रुद्राक्ष पसल, होटल, खाजा घर, पसल तथा गेस्टहाउसमा हुने कारोबारले क्यूआर प्रयोग बढाएको उनले बताए । पशुपति क्षेत्रमा दैनिक ३० देखि ४० हजारसम्म आगन्तुक हुने उनको अनुमान छ । त्यसमध्ये करिब १० हजार मन्दिरभित्र प्रवेश गर्ने गरेको उनले बताए । भारतीय पर्यटकको अर्को आकर्षण चन्द्रागिरि देखिएको छ । चन्द्रागिरि हिल्सका सेल्स तथा मार्केटिङ प्रमुख प्रभाकर खड्काका अनुसार भारतीय पर्यटकको आगमन चैत, वैशाख र जेठमा बढी हुन्छ । भारतमा गर्मी बिदाको समय पर्ने भएकाले यो अवधिमा चन्द्रागिरिमा भारतीयको चाप बढ्ने गरेको उनको बुझाइ छ । चन्द्रागिरिमा आउने भारतीयमध्ये सबैभन्दा ठूलो हिस्सा उत्तर प्रदेश (यूपी) र त्यसपछि बिहारको रहेको खड्काले बताए । ‘हाम्रोमा अधिकतम यूपीबाट आउनु हुन्छ, दोस्रोमा बिहार हो,’ उनले भने, ‘सडकबाट आउने धेरै हुन्छन् ।’
चन्द्रागिरिमा भारतीय पर्यटकको हिस्सा कुल आगन्तुकमा करिब एकतिहाइ रहेको खड्काले बताए । दैनिक औसत २ हजार ५ सयभन्दा बढी आगन्तुक आउने अवस्थामा त्यसमा भारतीयको हिस्सा २९ प्रतिशत आसपास रहेको उनको भनाइ छ । व्यस्त समयमा दैनिक आगन्तुक संख्या ५ हजारभन्दा माथि पुग्ने गरेको उनले बताए । रिसोर्टतर्फ भने भारतीय पाहुनाको हिस्सा अझ बढी देखिन्छ । रिसोर्टको अकुपेन्सी उच्च हुँदा भारतीय पाहुनाको हिस्सा करिब ४० देखि ४५ प्रतिशतसम्म पुग्ने गरेको खड्काले बताए । उनीहरू प्रायः एक रात मात्रै बस्ने गरेका छन् ।
मुक्तिनाथ, लुम्बिनीलगायत गन्तव्य पनि उनीहरूको यात्रामा समेटिने गरेको खड्काले बताए । यसले भारतीय पर्यटकले चन्द्रागिरिलाई छुट्टै गन्तव्यका रूपमा मात्र नभई नेपाल भ्रमणको प्याकेजभित्रको एउटा प्रमुख आकर्षणका रूपमा प्रयोग गरिरहेको देखाउँछ । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अरुण प्रधानका अनुसार भारतीय पर्यटक जाने प्रमुख गन्तव्यका रूपमा पशुपति, चन्द्रागिरि, ठमेलको एलओडीजस्ता स्थान देखिनु काठमाडौंमा भारतीय पर्यटकको गतिविधि बढेको संकेत पनि हो ।
चन्द्रागिरिमा आउने भारतीय पर्यटकमा महिलाको हिस्सा करिब ६० प्रतिशत र पुरुषको ४० प्रतिशत आसपास रहेको प्रधानको अनुमान छ । उमेरतर्फ ३० देखि ४० वर्ष समूह बढी देखिने उनले बताए । त्यसपछि वृद्ध उमेर समूहको हिस्सा तुलनात्मक रूपमा कम रहेको उनको भनाइ छ ।
धार्मिक र प्राकृतिक गन्तव्यसँगै भारतीय पर्यटकको काठमाडौं बसाइमा मनोरञ्जन क्षेत्र पनि जोडिएको छ । ठमेलको एलओडी भारतीय पर्यटकको क्यूआर कारोबार बढी देखिएको स्थानमध्ये परेको छ । एलओडीका सञ्चालक रविन श्रेष्ठका अनुसार पछिल्ला तीन/चार महिनामा भारतीय ग्राहकको फ्लो निकै राम्रो भएको छ । गत वर्ष पनि भारतीय ग्राहक आउने गरेको भए पनि यस वर्ष संख्या अझै बढेको उनले बताए । ‘तीन–चार महिना नै भयो, इन्डियनको फ्लो एकदमै राम्रो छ । यो वर्ष धेरै नम्बर भारतीय पर्यटककै छ,’ श्रेष्ठले भने ।
यूपीआईको तथ्यांक विश्लेषण गर्दा नेपाल आउने भारतीय पर्यटकमध्ये ३५ प्रतिशत बिदा मनाउन तथा मनोरञ्जनका लागि र १५ प्रतिशत तीर्थयात्राका लागि आउने गरेका छन् । अघिल्लो वर्ष २ लाख ९२ हजार भारतीय पर्यटक नेपाल आएकामा चालु वर्षको पहिलो ६ महिनामै करिब २ लाख भारतीय नागरिकले नेपाल भ्रमण गरिसकेका छन् । काठमाडौंबाट सुरु भएको यूपीआई क्यूआरको पहुँचलाई हाल पोखरासहित अन्य प्रमुख पर्यटकीय सहरहरूमा समेत विस्तार गरिँदै छ ।
एनपीसीआई इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत शुक्लाका अनुसार पहिलो चरणमा भारतीय नागरिकले नेपालमा क्यूआर भुक्तानी गर्न पाउने व्यवस्था मिलाइएको हो । दोस्रो चरणमा नेपाली नागरिकले पनि भारतका ६० लाखभन्दा बढी मर्चेन्डाइजमा क्यूआर स्क्यान गरी सहजै भुक्तानी गर्न पाउने गरी तयारी भइरहेको उनले जानकारी दिए । यसका साथै यूपीआई एनपीआई प्रणालीमार्फत नेपाल र भारतबीच वैधानिक बाटोबाट तत्कालै रकम पठाउन सकिने अन्तरदेशीय विप्रेषण सेवासमेत सञ्चालनमा आइसकेकाले यसले दुवै देशका नागरिक, व्यवसायी र अर्थतन्त्रलाई प्रत्यक्ष फाइदा पुर्याउने शुक्लाको भनाइ छ ।
सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।
सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।