एनआईसी एसिया बैंकको साइबरसोर्समा आबद्ध करिब ७ सय अनलाइन पसल, होटल, एयरलाइन्स र ट्राभल एजेन्सीमा यो सुविधा उपलब्ध छ ।
काठमाडौँ — अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रणाली एप्पल पे र गुगल पेमार्फत हुने भुक्तानी नेपालमा पनि स्वीकार गर्न थालिएको छ । एनआईसी एसिया बैंकले आफ्नो इकमर्स पेमेन्ट गेटवे, साइबरसोर्समार्फत यो सुविधा सञ्चालनमा ल्याएको हो ।
योसँगै अब नेपाल आउने विदेशी पर्यटक, गैरआवासीय नेपाली तथा अन्तर्राष्ट्रिय ग्राहकले नेपाली व्यवसायीलाई एप्पल पे र गुगल पेबाट भुक्तानी गरेर वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । हाललाई एनआईसी एसिया बैंकको साइबरसोर्स प्रणालीमा आबद्ध करिब ७ सयवटा अनलाइन पसल, एयरलाइन्स, होटेल तथा ट्राभल एजेन्सीमा यो सेवा उपलब्ध गराइएको बैँकले जानकारी दिएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका ट्रान्ज्याक्सन बैंकिङ प्रमुख पुजनलाल अमात्यले अन्तर्राष्ट्रिय ग्राहकलाई डिजिटल भुक्तानीमा सहजता प्रदान गर्न यो फिचर ल्याइएको बताए । ‘अन्तर्राष्ट्रिय ग्राहकले आफ्नो कार्ड एप्पल पे वा गुगल पेमा राखेर एक-दुई क्लिकमै भुक्तानी गर्न सक्छन्,’ उनले भने ।
हाललाई यो सुविधा विदेशी बैंकहरूले जारी गरेका भिजा, मास्टर र युनियन पे कार्डहरूमा मात्रै उपलब्ध छ ।नेपाली बैंकहरूले जारी गरेका कार्ड तथा खाताहरूलाई भने एप्पल पे वा गुगल पेमा जोड्ने सुविधा उपलब्ध छैन । त्यसका लागि पनि पहल भइरहेको बैंकले जनाएको छ ।
बैंकका ट्रान्ज्याक्सन बैंकिङ अफिसर विपिन खड्काले यो प्रविधि सुरक्षित र झन्झटमुक्त रहेको बताए । ‘बायोमेट्रिक जाँच र टोकनाइजेसन प्रविधि अपनाइने भएकाले कार्ड विवरण चोरी हुने डर हुँदैन,’ उनले भने, ‘यसले पर्यटन, निर्यात र स्थानीय इकमर्स क्षेत्रमा ठूलो टेवा पुर्याउनेछ ।’
यो प्रविधिबाट दराज, फुडमान्डु, श्री एयरलाइन्स, यती एयरलाइन्स तथा हिमालय एयरलाइन्स जस्ता व्यवसायीहरूले अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी लिन सक्ने बैँकले जानकारी दिएको छ । यस प्रणालीमा जोडिएको फेल्ट एन्ड यार्नका प्रमुख कार्यकारी अधिकृत राज बस्नेतले बैंकको साइबरसोर्समार्फत एप्पल पे र गुगल पे सुरु भएपछि आफूहरूको बिक्री निकै बढेको बताए । तथापि, बैंकको डिजिटल टिम राम्रो भए पनि अपरेसनल (सञ्चालन) पाटोमा ढिलासुस्ती भइरहेको टिप्पणी गरे ।
‘समयमा एपीसी (एड्भान्स पेमेन्ट सर्टिफिकेट) नपाइने र पटक-पटक ताकेता गर्नुपर्ने समस्या छ,’ उनको प्रतिकृया थियो, ‘बैंकले निर्यातकर्ता र हस्तकला व्यवसायीहरूलाई सहज बनाउन एउटा बलियो अपरेसनल टिम खटाएर प्रक्रियालाई अझ सरल बनाउनुपर्छ ।’
एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले ग्राहकलाई छिटो र सहज सेवा दिनु नै बैंकको मुख्य उद्देश्य रहेको धारणा राखे । ‘भुक्तानी प्रक्रियालाई मिनेटबाट सेकेन्डमा झार्नु नै असली सहजता हो,’ उनले भने, ‘यसले विदेशी पर्यटक तथा नेपाली डायस्पोरालाई नेपालमा व्यापार व्यवसाय गर्न थप प्रोत्साहन गर्नेछ ।’
कार्यक्रममा भिजाका कन्ट्री म्यानेजर मनोज शर्माले पनि नेपालको डिजिटल भुक्तानीलाई यस पहलले विश्व बजारसँग जोडेको भनाइ राखेका थिए । ‘अन्तर्राष्ट्रिय ग्राहकले रुचाएको भुक्तानी माध्यमलाई नेपाली व्यापार व्यवसायसँग जोड्नु ठूलो उपलब्धि हो,’ उनले भने ।
सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।