नागरिक उड्डयन नियामक निकाय डीजीसीएले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ। बोइङ ७८७-९ मोडलको विमानमार्फत सञ्चालित ‘फ्लाइट एआई २०३०’ सुरक्षित रूपमा अवतरण भएको डीजीसीएले जनाएको छ
जयपुर — जर्मनीको फ्रान्कफर्टबाट भारतको नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको उडानलाई बुधबार जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरेर संकटकालीन अवतरण गराइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
चालकदलका प्रमुखले विमान अपहरणको चेतावनी जारी गरेपछि उक्त कदम चालिएको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन्।
नागरिक उड्डयन नियामक निकाय डीजीसीएले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ। बोइङ ७८७-९ मोडलको विमानमार्फत सञ्चालित ‘फ्लाइट एआई २०३०’ सुरक्षित रूपमा अवतरण भएको डीजीसीएले जनाएको छ ।
यसलाई सुरक्षा जाँचका लागि विमानस्थलको छुट्टै आइसोलेसन बेमा राखिएको थियो। डीजीसीए स्रोतका अनुसार विमानको ट्रान्सपोन्डरबाट '७५००' कोड प्रसारण भइरहेको थियो, जुन गैरकानुनी हस्तक्षेप वा विमान अपहरणको संकेतका रूपमा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा प्रयोग गरिन्छ।
पाइलटले पठाएको उक्त चेतावनी एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले प्राप्त गरेलगत्तै उडानलाई जयपुरतर्फ मोड्न निर्देशन दिइएको थियो। सुरक्षा निकायहरूले आवश्यक अनुसन्धान तथा जाँच पुरा गरेपछि विमानलाई उडानका लागि अनुमति दिइसकेका छन् र यात्रुहरूलाई पुनः बोर्डिङ गराइँदैछ।
'अक्टोबर १४ मा फ्रान्कफर्टबाट दिल्ली उडिरहेको एयर इन्डियाको उडान एआई२०३० लाई सुरक्षा सतर्कताका कारण जयपुर डाइभर्ट गरिएको थियो। विमान सुरक्षित रूपमा जयपुरमा अवतरण भयो। सम्बन्धित सुरक्षा निकायहरूले आवश्यक जाँच गरी विमान र चालकदललाई अनुमति दिएका छन्। सबै यात्रुहरूलाई ओरालेर सुरक्षा जाँच गराइसकेपछि पुनः विमानमा चढाइएको छ। उडान केही बेरमै दिल्लीतर्फ प्रस्थान गर्दैछ,' घटनापछि एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।
यद्यपि, प्रहरी स्रोतहरूले भने बमको धम्की आएका कारण आपत्कालीन अवतरण गराइएको दाबी गरेका छन्।डीजीसीएले यस घटनाबारे सूक्ष्म अनुसन्धान गरिरहेको छ।