Trending
Prev Story
Next Story

असोजमा पाँच अर्ब ९२ करोडको विद्युत् निर्यात

Nagarik News •
October 25, 2026 • 06:02 AM
1
1 reads 0 reactions

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ रु पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ।

असोजमा पाँच अर्ब ९२ करोडको विद्युत् निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ।

बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताए।

उनका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौता अनुसार र बाँकी आइएक्समार्फत बिक्री गरिएको थियो।

यसैबीच भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि फेरि सुरु भएको छ।

प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्क अनुसार असोजमा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ। उक्त विद्युत् बिक्रीबाट पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

असोजमा भारततर्फ विद्युत् निर्यात दुई माध्यमबाट गरिएको थियो। द्विपक्षीय विद्युत् बिक्री सम्झौता अनुसार भारतको हरियाणा तथा विहार राज्यमा विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बेचिएको थियो।

प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षा यामको विद्युत् प्रत्येक वर्ष भारत एवं बङ्गलादेशमा निर्यात गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार हरियाणा तथा विहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ।

गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट चार अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार रकम पाँच अर्ब नौ करोड २५ लाख रुपैयाँ थियो। यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाखले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ। चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु

नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात गत शुक्रबार, कात्तिक ६ गते साँझदेखि पुनः सुरु भएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बङ्गलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो। बाढीका कारण द्विपक्षीय सम्झौताबमोजिम स्वीकृति प्राप्त जलविद्युत् केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत् निर्यात आंशिक रूपमा प्रभावित भएको थियो।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताए। नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो।

नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच २०८१ असोज १७ गते वर्षा यामको विद्युत् निर्यातसम्बन्धी पाँच वर्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको ६ महिनाको अवधिमा दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात हुँदै आएको छ।

यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यात अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको छ।

प्रकाशित: ८ कार्तिक २०८३ ११:४७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
काँकडभिट्टाबाट असोजमा ९८ करोडको अलैँची निर्यात

काँकडभिट्टाबाट असोजमा ९८ करोडको अलैँची निर्यात

झापा । काँकडभिट्टा नाकाबाट गत असोज महिनामा ९८ करोड ८८ लाख ८४ हजार बराबरको अलैँची निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो महिनामा पाँच लाख ४१ हजार ९४० केजी अलँै...

#निर्यात #असोज #करोडको
Compare →
Arthasansar
4d ago
लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...

#विद्युत-प्राधिकरण #विद्युत् #निर्यात
Compare →
Ekantipur
5d ago
लक्ष्मीपूजाको साँझ विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात

लक्ष्मीपूजाको साँझ विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात

पिक आवरमा प्रणालीमा कुनै पनि किसिमको अवरोध वा ट्रिपिङ नभई देशैभर विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

#विद्युत-प्राधिकरण #विद्युत् #निर्यात
Compare →
Onlinekhabar
5d ago
लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

२२ कात्तिक, काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम …

#विद्युत-प्राधिकरण #विद्युत् #निर्यात
Compare →

Related Stories

Business & Economy
Build #2611