पाकिस्तानका अली बने चिनियाँ स्टेसनमा पुग्ने पहिलो विदेशी
बेइजिङ — चीनले बुधबार बिहान ‘लङ मार्च–२ एफ वाई२४’ रकेटमार्फत ‘सेन्झाउ–२४’ मानवयुक्त अन्तरिक्ष यानको सफल प्रक्षेपण गरेको छ।
चिनियाँ समयअनुसार बिहान ८ :१८ बजे उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडेको यान करिब साढे तीन घण्टापछि चिनियाँ अन्तरिक्ष स्टेसन ‘टियाङगंग’ सँग सफलतापूर्वक जोडिएको र यात्रीहरू स्टेसनभित्र प्रवेश गरेको चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले जनाएको छ ।
यानमा सवार अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र प्रक्षेपण पूर्ण रूपमा सफल भएको जानकारी पनि दिइएको छ ।
चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयका अनुसार कक्षमा प्रवेश गरेसँगै ‘सेन्झाउ–२४’ यानले पूर्वनिर्धारित प्रक्रियाअनुसार स्वचालित र तीव्र गतिमा अन्तरिक्ष स्टेसनसँग सम्पर्क स्थापित गर्यो ।
मिसनका क्रममा अन्तरिक्ष जीवन तथा मानव अध्ययन, सूक्ष्म गुरुत्वाकर्षण (माइक्रोग्राभिटी), भौतिकशास्त्र र नयाँ अन्तरिक्ष प्रविधिसँग सम्बन्धित विभिन्न वैज्ञानिक प्रयोग तथा व्यावहारिक कार्यहरू गरिनेछन् । यसमा चीन र विदेशी साझेदारबीचका संयुक्त वैज्ञानिक परियोजनाहरू पनि समावेश छन्।
यस यानमा दुई चिनियाँ र एक पाकिस्तानी यात्री छन्। कुनै पनि विदेशी यात्री चिनियाँ स्टेसनमा पुगेको यो पहिलो घटना हो।
त्यही कारण, यसले अन्तरिक्ष यात्रामा अन्य देशसँगको चीनको सहकार्यलाई सफल रूपमा उजागर गरेको छ। चिनियाँ यात्रीद्वय ५१ वर्षीय ताङ होङ्बो र ३९ वर्षीय वु यीसँगै ४० वर्षीय पाकिस्तानी यात्री मोहम्मद जिसान अली अन्तरिक्षमा पुगेका हुन्। उनीहरूले टियाङगंग स्टेसनमा पहिल्यैदेखि रहेका ‘सेन्झाउ–२३’ मिसनका तीन यात्रीसँग सामूहिक तस्बिर खिचाएका छन्।
अब चालक दलले मिसनका क्रममा ९० भन्दा बढी वैज्ञानिक प्रयोग र प्रविधि परीक्षण गर्नेछन् । केही दिनको बसाइमा अलीले प्रकाश संश्लेषण (फोटोसिन्थेटिक) सायनोब्याक्टेरियासम्बन्धी प्रयोग गर्नेछन् र त्यसपछि ‘सेन्झाउ–२३’ यानमार्फत पृथ्वीमा फर्कनेछन्।
यसअघि नै अन्तरिक्षमा रहेका ‘सेन्झाउ–२३’ का कमान्डर झु याङझु भने झन्डै एक वर्ष अन्तरिक्ष स्टेसनमा बस्ने कार्यक्रम छ। उनी अन्तरिक्ष स्टेसनमा सबैभन्दा लामो समयसम्म बस्ने चिनियाँ यात्री बन्नेछन्।
अली र वुको यो पहिलो अन्तरिक्ष यात्रा भए पनि कमान्डर ताङको यो तेस्रो उडान हो। यससँगै ताङ ‘टियाङगंग’ अन्तरिक्ष स्टेसनमा तीनपटक प्रवेश गर्ने पहिलो अन्तरिक्ष यात्री बनेका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा ताङले भाषा र सांस्कृतिक भिन्नताका बाबजुद दुवै पक्षको प्रयासले सहकार्य सफल भएको बताएका थिए। सोही कार्यक्रममा अलीले चिनियाँ (मन्दारिन) भाषामा कविताका हरफ वाचन गर्दै भविष्यमा चन्द्रमा र मङ्गल ग्रहसम्म संयुक्त उडान हुने आशा व्यक्त गरेका थिए।
अन्तरिक्ष स्टेसनको प्रयोग तथा विकास चरणमा प्रवेश गरेयता चीनको यो आठौँ मानवयुक्त उडान हो । समग्रमा चीनले परियोजना सुरु गरेयताको यो ४१ औँ प्रक्षेपण हो । यस मिसनमा पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीसमेत सहभागी भएका छन्।
हालसम्म ३१ चिनियाँ र १ विदेशी गरी कुल ३२ जना अन्तरिक्ष यात्रीहरू ५० पटक अन्तरिक्षमा पुगिसकेका छन् । चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमको इतिहासमा चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सम्मिलित यो पहिलो संयुक्त उडान हो।
प्रक्षेपणको केही घण्टाअघि आयोजित बिदाइ समारोहमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो। उता पाकिस्तानमा यान आकाशतर्फ उक्लिँदै गर्दा ‘अल्लाह हु अकबर’ र ‘पाकिस्तान–चीन मित्रता जिन्दाबाद’ का नारा गुन्जिएका थिए ।
हजारौँ किलोमिटर टाढा रहेका पाकिस्तानी परिवार, रेस्टुरेन्टका ग्राहक र अन्तरिक्ष एजेन्सीका वैज्ञानिकहरूले टेलिभिजनको प्रत्यक्ष प्रसारण हेर्दै ऐतिहासिक क्षणको खुसी साटेका थिए।
यस अवसरमा पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी र चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाई आदान–प्रदान गर्दै यसलाई द्विपक्षीय सम्बन्धको कोसेढुङ्गाका रूपमा व्याख्या गरेका छन् ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार राष्ट्रपति सीले चिनियाँ अन्तरिक्ष स्टेसनलाई शान्ति, मित्रता र सहकार्यको ‘डुङ्गा’ को संज्ञा दिएका छन् । उनले अन्तरिक्षको शान्तिपूर्ण उपयोगमा अन्य देशसँग सहकार्य गर्न चीन तत्पर रहेको बताएका छन्।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यो यात्रा एक अन्तरिक्ष यात्रीको मात्र नभई २४ करोड पाकिस्तानीको साझा यात्रा र युवा पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरेका छन् ।
प्रक्षेपण स्थलमा उपस्थित पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले अलीले आफ्नो काँध र पोसाकमा पाकिस्तानी झन्डासँगै देशवासीको आशा र आकांक्षा बोकेर अन्तरिक्षमा पुगेको बताए। सन् २०२५ फेब्रुअरीमा दुई देशबीच भएको सम्झौताअनुसार यो संयुक्त उडान सम्भव भएको हो।
चीन र पाकिस्तानबीचको अन्तरिक्ष सहकार्य भने १९९० को दशकदेखि नै सुरु भएको थियो। विगतमा चीनले पाकिस्तानी स्याटेलाइटलाई अन्तरिक्षमा प्रक्षेपण गरिसकेको छ। त्यस्तै, सन् २०२८ सम्म पाकिस्तानमा निर्मित रोभरलाई चिनियाँ लुनार मिसनमा लैजाने लक्ष्य राखिएको छ।
पछिल्लो समय अन्तरिक्षमा चीन र अमेरिकाबीचको प्रतिस्पर्धा तीव्र छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०२८ मा चन्द्रमामा मानव पठाउने लक्ष्य राखेको छ। चीनले सन् २०३० सम्ममा आफ्नो पहिलो मानवयुक्त यान चन्द्रमामा अवतरण गर्ने योजना बनाएको छ।