पुनःस्थापनामा ढिलाइ हुँदा पीडितहरू राति चिच्याउने, बाढीको दृश्य सम्झेर झस्किने र सामान्य जीवनमा फर्कन नसक्ने अवस्थामा पुगेका छन् ।
काठमाडौं — गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली बजारनजिकै मच्छापोखरीको बिजुरास्थित बस्तीमा माटो र गेग्रानसहितको भेल पस्दा सुब्बा तामाङ आफ्नी दिदीको घरमा थिए । बाढीले उनका भिनाजुलाई बगायो भने दिदीको घरसहित सबै सम्पत्ति बगायो ।
विदुर नगरपालिकाको रानीस्वाँराका तामाङ अझै पनि उक्त घटनाको मानसिक आघातबाट मुक्त हुन सकेका छैनन् । भिनाजु गुमाउनुपरेको पीडामात्र होइन, विपद्का बेला देखेको दृश्यले उनलाई सामान्य अवस्थामा फर्कन दिएको छैन । ‘भाइको स्वास्थ्यस्थिति बिग्रँदै गएपछि हामीले उसलाई अस्पताल ल्याएका हौँ,’ त्रिशूली अस्पताल को आकस्मिक कक्षमा बिरामी भाइको हेरचाह गर्दै गरेकी तामाङकी माइली दिदी नानुमैयाँले भनिन् ।
बाढी आएको पनि झन्डै ३ महिना बितिसकेको छ । तर सुब्बजस्ता धेरै स्थानीयमा आझै यसको आघातबाट मुक्त हुन सकेका छैनन । बाढीका कारण परिवारका सदस्य गुमाउनुका साथै घरजग्गा र जीविकोपार्जनका आधार गुमाएका मानिसहरू मानसिक समस्या लिएर उपचारका लागि आउने क्रम बढेको त्रिशूली अस्पतालले जनाएको छ ।
अस्पतालका अधिकारीहरूका अनुसार पछिल्ला महिनामा चिन्ता, निराशा र अन्य मानसिक स्वास्थ्य समस्याको उपचार खोज्ने बिरामी बढेका छन् । ‘सामान्यतया हाम्रो अस्पतालमा दैनिक २० देखि २५ जना मानसिक स्वास्थ्य समस्या भएका बिरामी उपचारका लागि आउने गर्थे, तर अहिले यो बढेर ३५ देखि ४० पुगेको छ,’ अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले भने ।
भविष्यप्रतिको अनिश्चितताले बाढीपीडितमा मानसिक आघात झनै बढाएको छ । विनाशकारी बाढीमा परी एक हजार ४५७ जनाले ज्यान गुमाएका थिए भने थप ५ हजार २८५ जना बेपत्ता छन् । त्यस्तै, रसुवा, नुवाकोट र धादिङमा झन्डै ७ हजार ५०० घर बाढीले बगाएको थियो । लामो समयसम्म पनि सरकारले पुनःस्थापनाका लागि निर्णय गर्न नसक्दा विस्थापितहरूमा छटपटी बढेको छ ।
धेरै पीडितहरू अब कहाँ बस्ने, के खाने र कसरी जीवन पुनः सुरु गर्ने भन्ने अन्योलमा छन् ।
विपद्लगत्तै सरकारले विस्थापित परिवारलाई ६ महिनाभित्र अस्थायी आवासमा र २ वर्षभित्र स्थायी रूपमा पुनःस्थापना गर्ने घोषणा गरेको थियो । तर पीडितहरूका अनुसार यसमा खासै प्रगति भएको छैन । उनीहरूको धैर्य टुट्दै गएको छ र सरकारले जतिसक्दो छिटो पुनःस्थापनाका लागि स्थान तय गर्नुपर्ने उनीहरूको माग छ ।
४० वर्षीय तामाङ ४ सन्तानका पिता हुन् र परिवारमा उनी एक्ला कमाउने व्यक्ति हुन् । उनी अझै पनि सपनामा बर्बराउने, उठेर दौडने, ‘खोला आयो, भागौँ’, ‘थुन्न जाऊँ’ भनेर कराउँछन् ।
‘उनी मध्यरातमा एक्कासि चिच्याउन थाल्छन् । नदी थुन्न जानुपर्छ भन्दै मानिसहरूलाई बोलाउने गर्छन् । कसैले सामान बोकेको देखे ‘मेरो दिदीको हो’ भन्दै खोस्न जान्छन्,’ तामाङका काका राजकुमारले भने, ‘उनको व्यवहार दिनदिनै असामान्य हुन थालेपछि अस्पताल ल्याएका हौँ ।’
तामाङ पेसाले डकर्मी हुन् । बाढीअघि मिस्त्री काम गरेर बच्चा पढाउनुका साथै परिवार पनि राम्रैसँग पालेका थिए । तर उनको मानसिक अवस्था बिग्रिएपछि पारिवारिक अवस्था कठिन बनेको छ । उनकी श्रीमती सुन्न सक्दिनन् भने नियमित आम्दानी नहुँदा छोराछोरीले पनि पढाइ छाडेको राजकुमारले बताए ।
भोटेकोशी बाढीले केही पीडितमा कडा खालको मानसिक समस्या सिर्जना गरेको छ । कतिपय उपचारका लागि अस्पताल नै नगएपछि पीडा कम हुनुको साटो बढ्दै गएको पीडितहरू बताउँछन् ।
विदुर नगरपालिकाकी ६५ वर्षीया चन्द्रकुमारी खत्रीलाई केही दिनदेखि ज्वरो आएपछि अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । विपद्पछि राति राम्रोसँग निदाउन नसकेको उनले बताइन् । ८ सदस्यीय उनको परिवार अहिले नजिकैको अंगुटारमा कोठा भाडामा लिएर बसिरहेको छ ।
बाढीले उनीहरूको घर, खेतीयोग्य जमिन र अन्य सम्पत्ति बगाएको थियो । उनका श्रीमान्लाई फोक्सोको क्यान्सर भएको छ र काठमाडौंमा केमोथेरापी गराइरहेका छन् । एकपटक किमो लगाउँदा एक लाखसम्म खर्च हुन्छ । उनले अहिलेसम्म २१ पटक केमोथेरापी गराइसकेका छन् ।
‘धान काट्ने बेला भयो तर अब हाम्रो खेती गर्ने जमिन नै छैन । जेठो छोराले गाउँमै खेतीकिसानी गरेर घरव्यवहार चलाउँदै आएको थियो, बाढीले सबै बगाएपछि ऊ पनि बेरोजगार भएको छ,’ उनले भनिन्, ‘हाम्रो जीवन निकै कठिन भएको छ । जीवनको यो उमेरमा यस्ता दुःख भोग्नुपर्ला भनेर कहिल्यै सोचेकी थिइनँ ।’
धेरै बाढीपीडित र विस्थापित परिवारले १० भदौको विपद्ले अझै पनि आफूहरूलाई सताइरहेको बताए । उनीहरूले बारम्बार डरलाग्दा सपना देख्ने र विपद्का घटनाहरू सम्झेर झस्किने गरेको सुनाए । पुनःस्थापनाबारे सरकारले निर्णय गर्न नसकेकोमा उनीहरूले आक्रोश पनि व्यक्त गरे ।
बाढी आएको झन्डै ३ महिना बितिसक्दा पनि सरकारले बेपत्ताहरूलाई मृत घोषणा गरेको छैन । त्यसले गर्दा उनीहरूका परिवारले अन्तिम संस्कारका लागि पाउनुपर्ने क्षतिपूर्ति लिन सकेका छैनन् । फेला परेका शवसमेत परिवारलाई नबुझाइएको र डीएनए परीक्षणको प्रतिवेदन आउन बाँकी रहेको पीडित परिवारको गुनासो छ । सरकारले दिने भनेको घरभाडा सहायता पनि पाउन नसकेको उनीहरूको भनाइ छ ।
पुनःस्थापना र पुनर्वासमा भइरहेको ढिलाइबाट आजित त्रिशूलीका बाढीपीडितले कोलानीस्थित नेपाल विद्युत् प्राधिकरणको जग्गा कब्जा गरेर पाल टाँगेका छन् । सरकारले पुनःस्थापनामा खासै प्रगति नगरेको, मृतक परिवारका सदस्यको अन्त्येष्टिका लागि आर्थिक सहयोग नदिएको र प्रतिबद्धता जनाइएको घरभाडा सहायता उपलब्ध नगराएकाले आफूहरू बाध्य भएर यस्तो कदम चाल्नुपरेको उनीहरूले बताएका छन् ।
बाढीको असर अस्पतालमा उपचार खोज्नेहरूमा मात्र सीमित छैन । नेपाल मानसिक अस्पतालका पूर्वनिर्देशक तथा मनोचिकित्सक डा. अनन्त अधिकारीले हालै त्रिशूली अस्पताल, नुवाकोटको तारकेश्वर गाउँपालिकाका २ स्वास्थ्य संस्था र रसुवाको धुन्चे अस्पताल पुगेर मानसिक स्वास्थ्य समस्या भएका बिरामीको उपचार गरेका थिए । उनका अनुसार बाढीपीडितमध्ये धेरैमा विपद्पछिको मानसिक तनावका लक्षण देखिएका छन् ।
विपद्पछिको मानसिक तनाव (पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर–पीटीएसडी) कुनै व्यक्तिले अत्यन्तै पीडादायी घटना अनुभव गर्दा वा प्रत्यक्ष देख्दा उत्पन्न हुन सक्छ । यसमा बारम्बार डरलाग्दा सपना देख्ने, विगतका घटनाहरू आँखाअगाडि झलझली आउने तथा निरन्तर डर र चिन्ता भइरहनेजस्ता लक्षण देखिन सक्छन् ।
विपद्पछि केही पीडित स्वास्थ्य संस्थासम्म पुग्न नसकेको र अरू केहीले बाढीले औषधि तथा चिकित्सकका पुर्जा बगाएपछि लामो समयसम्म औषधि खान नपाएको गुनासो गरेको उनले सुनाए । प्रभावित क्षेत्रका कतिपय ठाउँमा मानसिक स्वास्थ्य सेवा नै उपलब्ध छैन ।
‘बाढीले परिवारहरूलाई छिन्नभिन्न पारेको छ । कसैले आमाबुबा, छोराछोरी, श्रीमान् वा श्रीमती गुमाएका छन् भने कतिपय अझै बेपत्ता छोराछोरी खोजिरहेका छन् । घर, पैतृक सम्पत्ति र जीवनभरको बचत सबै बगाएको छ । अब कहाँ बस्ने र कसरी जीविकोपार्जन गर्ने भन्ने कुनै निश्चितता छैन,’ अधिकारीले भने, ‘धेरैलाई अब अर्को छाक कसरी टार्ने र जीवन कसरी फेरि सुरु गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।’
भ्रमणका क्रममा अधिकारीले बाढीमा ट्रक चालक श्रीमान् बेपत्ता भएकी एक महिलालाई भेटेका थिए । उनले बाढीमा बेपत्ता श्रीमान्को सपना बारम्बार देखिने र त्यसले रातभर निदाउन नदिने गरेको बताएकी थिइन् ।
‘यति ठूलो क्षति र भविष्यको अनिश्चितताले पीडितहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ,’ अधिकारीले भने, ‘यस्तो परिस्थितिमा को पो मानसिक रूपमा अप्रभावित रहन सक्छ र ?’
त्रिशूली अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि मानसिक तनावको असर देखिएको छ । गत मंगलबार अस्पतालको बहिरंग विभागमा मानसिक स्वास्थ्य समस्या भएका ३३ जना बिरामी उपचारका लागि आएका थिए । तीमध्ये केहीमा विपद्पछिको मानसिक तनावका लक्षण देखिएको चिकित्सकहरूले बताए ।
नुवाकोटको सूर्यगढी गाउँपालिकाकी अर्की ६५ वर्षीया महिलालाई पनि हालै अस्पताल ल्याइएको थियो । उनकी छोरी सुस्मिता तामाङका अनुसार भोटेकोशी बाढी आउनुअघि नै आमालाई निद्रासम्बन्धी समस्या थियो । तर विपद्पछि उनको अवस्था झन् बिग्रियो ।
‘बाढीमा हामीले काका र काकी गुमायौँ । आमाले यो पीडा सहन सक्नुभएको छैन,’ सुस्मिताले भनिन्, ‘बाढीको खबर सुन्नु र त्यसले निम्त्याएको विनाश आफ्नै आँखाले देख्नुले उहाँको अवस्था झन् बिग्रियो ।’
चिकित्सकहरूका अनुसार मानसिक समस्याप्रतिको नकारात्मक धारणाका कारण नेपालमा धेरै मानिस उपचारका लागि जान हिचकिचाउने भएकाले मानसिक समस्या भएका व्यक्तिको वास्तविक संख्या अझ बढी हुन सक्छ ।
त्रिशूली अस्पतालका मनोचिकित्सक डा. सन्देश उपाध्यायका अनुसार अधिकांश बिरामी आफैँ उपचार खोज्दै आउँदैनन् । उनीहरूका परिवारका सदस्यले अस्पताल ल्याउँछन् । प्रायः अवस्था गम्भीर भएपछि मात्रै उनीहरूलाई अस्पताल पुर्याइन्छ ।
‘केही बिरामी धारो खोल्दा, नुहाउँदा वा बगिरहेको पानीको आवाज सुन्दा पनि बाढीको त्रासदी फेरि भोगिरहेको महसुस हुने गरेको बताउँछन्,’ उपाध्यायले भने ।
विज्ञहरूका अनुसार विपद्ले निम्त्याएको मानसिक स्वास्थ्य समस्या समाधान गर्न औषधि उपचार मात्र पर्याप्त हुँदैन । विस्थापित परिवारको पुनःस्थापनामा भइरहेको ढिलाइ र जीविकोपार्जनका आधार पुनःस्थापित हुन नसक्दा सुरुमा सामान्य अवस्थामा देखिएका मानिसमा समेत निराशा र आक्रोश बढ्न सक्छ ।
बाढीले रसुवा, नुवाकोट र धादिङ गरी ३ जिल्लाका बस्तीहरू तहसनहस पारेको थियो । विपद्को व्यापकता र विनाशकारी प्रभावले प्रभावित क्षेत्रका थोरै मानिस मात्र यसको असरबाट अछुतो रहे ।
‘विपद् यति ठूलो थियो कि प्रभावित क्षेत्रका सायदै कोही यसको असरबाट जोगिएका छन् । मानिसहरूले आफूले भोगेको क्षतिलाई फरकफरक समयमा स्वीकार गर्छन् । कसैले छिट्टै स्वीकार गर्छन् भने कसैलाई लामो समय लाग्छ । केहीलाई त यो वास्तविकता स्वीकार गर्न निकै कठिन हुन्छ,’ वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले भने, ‘राज्यले सहयोग र पुनःस्थापनामा जति ढिलाइ गर्छ, समस्या त्यति नै बढ्दै जान्छ ।’ विपद्पछि तत्काल गर्नुपर्ने प्रमुख काममध्ये राहत र पुनःस्थापना हुन् । तर बाढीपीडितलाई सहयोग उपलब्ध गराउन भइरहेको ढिलाइप्रति चिन्ता बढेको छ ।
विज्ञहरूका अनुसार पुनःस्थापनाको दायरा अस्थायी राहतमा मात्र सीमित हुनु हुँदैन । विद्यालय छाडेका बालबालिकालाई पुनः विद्यालय फर्काउन सहयोग गर्नुपर्छ । घर गुमाएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउनुका साथै घर पुनर्निर्माणमा सहयोग गर्नुपर्छ । व्यवसाय गुमाएकाहरूलाई पुनः व्यवसाय सञ्चालन गर्न सहायता दिनुपर्छ । रोजगारीका अवसरसमेत सिर्जना गर्नुपर्छ ।
‘बाढीपीडितहरूमा निराशा र आक्रोश बढ्दै गएको छ । चरम अवस्थामा यही निराशाले आत्महत्यासमेत निम्त्याउन सक्छ,’ डा. कपिलले भने, ‘सरकारले यस विषयमा समयमै ध्यान दिनुपर्छ । बाढीपीडितको जतिसक्दो चाँडो पुनःस्थापना गरिनुपर्छ ।’
अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।