बागमती प्रदेश स्तरीय बुद्धिचाल छनोटमा क्लासिकल खेल विधातर्फ १० जिल्लाका ३७ जना पुरुष तथा ६ जिल्लाका २० महिला खेलाडी प्रतिस्पर्धा छन् ।
ललितपुर — आसन्न १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्ले बुद्धिचालमा सोमबार पाँचौं चरण सकिँदा ललितपुरका कमल श्रेष्ठ र सुरज महर्जन साढे ४ अंक जोडेर अग्रस्थानमा रहेका छन् ।
ललितपुरका कमल श्रेष्ठले क्रमशः दोलखाका विमल भण्डारी, ललितपुरका अशोकमोहन श्रेष्ठ, रत्न व्यञ्जनकार, धादिङका सुवास कुमार गुरुङलाई हराए । कमल काभ्रेका शैलेन्द्र न्यौपानेसँग बराबरी गर्दै ४.५ अंक बनाएर छनोट नजिक पुगे ।
ललितपुरका सुरोजले सुस्त गतिमा काभ्रेका खेलाडी शैलेन्द्र न्यौपानेमाथिको खेल नियन्त्रणमा लिए । ललितपुरका सुरज महर्जनले काठमाडौंका गोविन्द खड्का, मकवानपुरका सुन्दर कार्की, चितवनका सुदीप श्रेष्ठ र बनेपाका शैलेन्द्र न्यौपानेलाई पराजित गरे भने दोलखाका राजीव कार्कीसँग बराबरी खेलेर ४.५ अंक जोडेका छन् ।
प्रतिस्पर्धामा चितवनका सत्यम शर्मा र ललितपुरका अशोकमोहनले समान ४ अंक जोडेर संयुक्त दोस्रोमा छन् । सत्यमले चितवनकै अनिश दुलाल, धादिङका तारामान श्रेष्ठ, दोलखाका राजिव कार्की र काठमाडौंका मोहम्मद इमरान खानलाई पराजित गरे । उनले भक्तपुरका पुरुषोत्तम दुवालसँग हार बेहोरे ।
अशोकमोहनले ललितपुरकै कमल श्रेष्ठसँग पराजित बेहारे भने काभ्रेका तीर्थ लामा, चितवनका अनिश दुलाल, काभ्रेका श्याम मानन्धर र भक्तपुरका पुरुषोत्तम दुवाललाई हराए ।
महिलातर्फ ललितपुरका ग्लोसी श्रेष्ठले साढे ४ अंक जोडेर एकल अग्रता बनाइन् । ग्लोसीले ललितपुरकै इन्सु ओली, काठमाडौकी शुभश्री श्रेष्ठ, रामेछापकी ओजस्वी श्रेष्ठ र चितवनकी लक्ष्मी कँडेललाई पराजित गरिन् । उनले अन्तिम खेल काभ्रेका शुभेच्छा घिमिरेसँग बराबरी खेलिन् ।
चितवनकी लक्ष्मी र काठमाडौकी नेलिसा ओझा समान ४ अंक जोडेर संयुक्त दोस्रो स्थानमा रहन छन् । शुभेच्छा घिमिरे र श्री तुलाधर समान साढे तीन अंक तथा ओजस्वी, इन्सु, मानसिनी शर्मा र यशस्वी महर्जन समान ३ अंक जोडेका छन् ।
ललितपुरस्थित जुजु सवास् नेवारी रेस्टुरेन्ट नख्खु दोबाटोमा भएको बागमती प्रदेश स्तरीय बुद्धिचाल छनोटमा क्लासिकल खेल विधातर्फ १० जिल्लाका ३७ जना पुरुष तथा ६ जिल्लाका २० महिला खेलाडी प्रतिस्पर्धा छन् ।
प्राविधिक संयोजक राजु ताम्राकारले क्लासिकल विधाको बाँकी दुई चरणका खेल मंगलबार सकिने जानकारी गराए ।