दुर्गम क्षेत्रसम्म खोप सेवा विस्तार गर्दै हरेक बालबालिकालाई नियमित खोपको पहुँच सुनिश्चित गरेपछि बागमतीले यो उपलब्धि हासिल गरेको हो।
हेटौंडा — बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने बागमती चौथो प्रदेश हो । यसअघि कोशी, मधेश र कर्णाली प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकिएको छ ।
प्रदेश खोप समन्वय समितिले शनिबार एक समारोहबीच प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरीबहादुर तामाङलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र प्रदान गर्दै घोषणा गरेको हो ।
प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै स्वास्थ्य तथा सामाजिक विकासमन्त्री तामाङले यसले हरेक बालबालिकाको स्वस्थ रहन पाउने अधिकार सुनिश्चित गरेको बताए । प्रदेशका सबै जिल्ला सुगम नभए पनि दुर्गम क्षेत्रमा समेत स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गरिरहेको भन्दै उनले सन्तुष्टि व्यक्त गरे । खोप सेवालाई सहज बनाउन प्रत्येक जिल्लालाई एक–एकवटा खोप सवारीसाधन उपलब्ध गराउनेबारे आफूले सोचिरहेको उनले बताए ।
कार्यक्रममा भोटेकोशी बाढीका बेला योगदान पुर्याउने स्वास्थ्यकर्मीलगायत पूर्ण खोप सुनिश्चितताका लागि सक्रिय भूमिका खेल्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअनुसार २०७९ सालदेखि पूर्ण खोप सुनिश्चितता अभियान सञ्चालन हुँदै आएको छ । प्रत्येक वर्ष चैत महिनाभित्र सम्बन्धित वडामा हालसालै जन्मिएका नवजात शिशुदेखि १५ महिनासम्मका बालबालिकाले लगाउनुपर्ने खोपको मात्रा पूरा गरे–नगरेको खोजी गरिन्छ । यस क्रममा कुनै बालबालिकाले खोप नलगाएको पाइएमा आवश्यक खोप दिएर सुनिश्चित गरिन्छ ।
त्यसपछि वडा तहबाट स्थानीय तह हुँदै जिल्ला र प्रदेशभर पूर्ण खोप सुनिश्चितताको घोषणा गरिन्छ । दिगोपनाका लागि हरेक तहमा प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरिँदै आएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलगायत अन्य जिल्ला समन्वय समितिका प्रमुखहरूको उपस्थिति थियो । कार्यक्रममा प्रदेशका सबै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, स्वास्थ्य स्वयंसेविका तथा विद्यालयका नर्स सहभागी थिए ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।