उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर र अयोध्यालाई रेल सेवामार्फत जोडिनु नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गरेपछि आदित्यनाथले यस्तो प्रतिक्रिया दिएका हुन्।
जनकपुरका लागि रेललाई बिदाइ गर्न आयोजित कार्यक्रममा उनले नयाँ रेल सेवाले दुई देशबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले यस पहलका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभारसमेत प्रकट गरे।
आदित्यनाथका अनुसार सरयू–कमला एक्सप्रेस रेल सेवा भारतको अयोध्यास्थित सरयू नदीको धार्मिक महत्त्व र नेपालको जनकपुरस्थित माता जानकीको पवित्र भूमिलाई जोड्ने माध्यम बनेको छ।
उनले अयोध्या र जनकपुरलाई दुई देशको साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा व्याख्या गर्दै रेल सेवाले तीर्थयात्रीको आवागमन सहज बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने बताए।
उनका अनुसार सरयू–कमला एक्सप्रेस केवल यातायातको साधन मात्र नभई नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, साझा आस्था र सांस्कृतिक एकताको प्रतीक पनि हो।
नयाँ रेल सेवाले धार्मिक पर्यटनसँगै दुई देशका नागरिकबीचको सांस्कृतिक आदानप्रदान र आपसी सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित: ७ मंसिर २०८३ १६:०२ सोमबार