काठमाण्डौ । नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ। प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा विशेष रेल सेवाको उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री शाहको औपचारिक भारत भ्रमणका क्रममा सुरु गरिएको यो रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धनसँगै सीमापार आवागमन थप सहज बनाउने अपेक्षा गरिएको छ।
दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि भारतको अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्ने कार्यक्रम छ। अयोध्या रेलवे स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय रेलवेका उच्च अधिकारीहरूले रेललाई बिदाइ गर्नेछन्।
६०४ किलोमिटर दूरी, सातामा एकपटक सेवा
भारतीय रेलवेले स्वीकृति दिएको नयाँ रेल सेवाले जनकपुरधाम र उत्तर प्रदेशको अयोध्या क्यान्टलाई सिधा जोड्नेछ।
करिब ६०४ किलोमिटर लामो यस रुटमा सातामा एकपटक दुवैतर्फ रेल सञ्चालन हुनेछ।
रेलवे बोर्डले तय गरेको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ बजेर १० मिनेटमा अयोध्या क्यान्ट पुग्नेछ।
त्यस्तै, प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्या क्यान्टबाट रेल नम्बर १५५९६ जनकपुरधामका लागि प्रस्थान गर्नेछ।
यो रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रोकिनेछ।
यसअघि भारतीय रेल नेपाली भूमिमा प्रवेश गर्दा सुरक्षा व्यवस्थापन कसले गर्ने भन्ने विषयमा दुई देशबीच लामो छलफल भएको थियो। नेपालले आफ्नो भूभागमा नेपाली सुरक्षाकर्मी परिचालन हुनुपर्ने अडान राखेको थियो भने भारतीय पक्षले रेलसँगै आफ्ना सुरक्षाकर्मी रहने प्रस्ताव गरेको थियो।
जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनलाई दुई देशबीच धार्मिक पर्यटन विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई सिधा रेलमार्गले जोड्दा रामायण सर्किटअन्तर्गतको पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर र विवाहमण्डप तथा अयोध्याको राम मन्दिरमा दर्शन गर्न जाने श्रद्धालुलाई यसले थप सहज बनाउनेछ।
विशेषगरी विवाहपञ्चमीका अवसरमा अयोध्या र जनकपुरधामबीच हुने धार्मिक आवागमनलाई यो रेल सेवाले थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
जनकपुरबाट पोखरासम्म पर्यटक पुर्याउने योजना
जनकपुरधाम र अयोध्याबीच सिधा रेल सम्पर्क स्थापित भएसँगै नेपालले धार्मिक पर्यटकलाई देशका अन्य गन्तव्यसम्म पुर्याउने योजना पनि अघि सारेको छ।
यसअन्तर्गत जनकपुरधामबाट पोखरासम्म हवाई सेवा सञ्चालन गरी भारतीय धार्मिक पर्यटकलाई नेपालको अन्य पर्यटकीय क्षेत्रमा आकर्षित गर्ने योजना रहेको छ।
रेलमार्गमार्फत जनकपुर आउने भारतीय पर्यटकलाई पोखरा लगायतका गन्तव्यसम्म पुर्याउन सके नेपालको पर्यटन व्यवसाय, होटल, यातायात तथा स्थानीय व्यापारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालनमा छ।
नयाँ सिधा रेल सेवा सुरु भएसँगै नेपाल र भारतबीचको रेल सम्पर्क थप विस्तार भएको छ। यसले दुई देशबीचको सदियौँ पुरानो धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायात पूर्वाधारमार्फत थप बलियो बनाउने अपेक्षा गरिएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।