Trending
Prev Story
Next Story

गुड्यो अयोध्या–जनकपुर रेल

Ekantipur •
November 23, 2026 • 08:33 AM
5
5 reads 0 reactions

रामायण सर्किटअन्तर्गत सुरु भएको रेलले तीर्थयात्रीलाई सहजता दिने र मिथिला चित्रकलालाई नेपाल–भारतमा नयाँ बजार उपलब्ध गराउने अपेक्षा गरिएको छ।

गुड्यो अयोध्या–जनकपुर रेल

रामायण सर्किटअन्तर्गत सुरु भएको रेलले तीर्थयात्रीलाई सहजता दिने र मिथिला चित्रकलालाई नेपाल–भारतमा नयाँ बजार उपलब्ध गराउने अपेक्षा गरिएको छ।

जनकपुर — नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीले सोमबार हरियो झन्डा देखाएपछि उत्तर प्रदेशको अयोध्यास्थित क्यान्ट स्टेशनबाट जनकपुरका लागि सरयुग–कमला रेल एक्सप्रेस गुडेको छ ।

१७ डिब्बामा करिब १ हजार यात्रु बोकेर उक्त भारतीय रेल्वे मंगलबार विहान जनकपुर स्टेशनमा आइपुग्नेछ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झन्डा देखाएपछि भिडिओ कन्फरेन्समा रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ताली बजाउँदै अयोध्याबाट जनकपुर गुडेको सरयु–कमला एक्सप्रेसको सोमबार दिउँसो १ बजेर ४५ मिनेटमा बिदाई गरेका छन् । नेपाल र भारतबीच सञ्चालनमा आएको सरयु–कमला एक्सप्रेस नै दुई देशबिचको पहिलो रेल सेवा हो ।

भारत सरकारकै सहयोगमा सीमावर्ती सहर जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको भंगहासम्म ब्रोडगेज रेल्वे लाइन ओछ्याइएको छ । नेपालले आफै निर्माण गरिरहेको पूर्व–पश्चिम रेलमार्गसँग जोड्न त्यो ब्रोडगेजलाई बर्दिवाससम्म बिस्तार गरिँदैछ । ब्रोडगेजमा हाल नेपाल सरकारले आफ्नै दुईवटा आधुनिक रेल इञ्जिन दैनिक तीन पटक जयनगर–जनकपुर–भगहासम्म यात्रुवाहक सेवा सञ्चालन गरिरहेको छ । कात्तिकको दोस्रो साता अयोध्याबाट आएको रेललाई जनकपुरसम्म ल्याएर परिक्षण गरिएको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्या–जनकपुर रेल सेवाबाट दुवै देशका श्रद्धालु लाभान्वित हुने बताए। रेल सेवाको शुभारम्भअघि सोमबार उत्तर प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै आदित्यनाथले नेपाल र भारतका दुई तीर्थस्थल रेलमार्गले जोडिएकोमा खुसी व्यक्त गरे । ‘मिथिला र अयोध्या दुई संस्कृतिको पौराणिक मिलन हो,’ उनले भने, ‘सरयु–कमला रेल्वे एक्सप्रेसमार्फत पौराणिक सम्बन्धलाई फेरि जीवित पारेको छ ।’

उनले अयोध्याको राम मन्दिर र जनकपुरको जानकी मन्दिर पुग्ने श्रद्धालुका लागि यो रेल सेवा महत्त्वपूर्ण कडी सावित हुने बताए । रेल सेवाबाट जनकपुरमा बनाइने मिथिला चित्रकलाले पनि बजार पाउने उनको विश्वास थियो ।

यता, उत्तर प्रदेश सरकारले सरयु–कमला एक्सप्रेसले नेपाल र भारतबीचको मित्रतालाई नयाँ गति दिने र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने जनाएको छ । सरकारले अयोध्याबाट जनकपुर गुड्ने रेललाई बेहुलीझैं सिंगारिएको तस्बिरसमेत सार्वजनिक गरेको छ । अयोध्या र जनकपुरबीच वैवाहिक सम्बन्ध छ । राम र सीताको विवाहपछि यी दुई सहरबीच पारिवारिक सम्बन्ध पनि जोडिएको मानिन्छ ।

अयोध्याबाट गुडेको रेल मंगलबार बिहान जनकपुर आइपुग्ने समयतालिका छ । रेलमा अयोध्याबाट आउने तीर्थयात्रीलाई जनकपुर रेल्वे स्टेसनमा स्वागत गरिनेछ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीर्थयात्रीको स्वागत गर्नेछन् । उनीहरूको स्वागतका लागि जनकपुर रेल्वे स्टेसनमा पण्डाल बनाइएको छ । त्यहाँ स्वागतमा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीले बताए । ‘अयोध्याबाट तीर्थयात्री मात्र होइन, भारतीय रेल्वेका अधिकारीहरू पनि जनकपुर आउँदैछन्,’ पराजुलीले भने, ‘उहाँहरूको स्वागतका लागि सबै तयारी पूरा भएको छ । जनकपुरका प्रमुख धार्मिक स्थलको भ्रमण गराउने कार्यक्रमसमेत छ ।’

शनिबारदेखि सातामा एक दिन व्यावसायिक रूपमा उक्त रेल सञ्चालन हुने उनले बताए । रेल नम्बर १५५९५ र १५५९६ अन्तर्गतको सरयु–कमला एक्सप्रेस हाल जनकपुर–अयोध्या रुटमा मात्रै सञ्चालन हुने उनले जानकारी दिए ।

अयोध्या–जनकपुरबीच सुरु भएको रेल सेवा भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुनेछ। जनकपुरदेखि अयोध्यासम्मको ६ सय ४ किलोमिटर रेलमार्गको दूरी तय गर्न रेल भारतको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्या पुग्नेछ । उक्त रेल जनकपुरबाट प्रत्येक शनिबार र अयोध्याबाट प्रत्येक सोमबार छुट्नेछ । यो दूरी तय गर्न रेललाई करिब १९ घण्टा लाग्नेछ ।

यसअघि २०७५ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले जनकपुर–अयोध्या बस सेवा शुभारम्भ गरेका थिए ।

रामायण सर्किटअन्तर्गत सीताको भूमि जनकपुर र राम जन्मस्थल अयोध्यालाई जोड्न दुवै देशले सीधा बस सेवा सुरु गरेका थिए । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर जनकपुरबाट छुटेको बस अयोध्या त पुग्यो, तर फर्केर आएन । बसको भाडा, रोकिने स्थल, सेवा नेपाली वा भारतीय कुन कम्पनीले सञ्चालन गर्ने भन्नेलगायतका प्राविधिक उल्झन नसुल्झाई हतारमा जनकपुर–अयोध्या बस सेवा सुरु गरिएको थियो । सातामा एकपटक अयोध्या–जनकपुर–अयोध्या रेल सेवा सुरु भए पनि बसकै नियति त भोग्नुपर्ने होइन भन्ने संशय भने छँदै छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
57m ago
जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

काठमाण्डौ । नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ।...

#रेल #भारत #अयोध्या
Compare →
Arthasansar
1h ago
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु...

#रेल #भारत #अयोध्या
Compare →
Hamro Patro News
22h ago
अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह

अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह

जनकपुर । भारतको अयोध्यादेखि धनुषाको जनकपुरधामसम्म रेल सेवा सुरु हुन लागेको छ । भोलि ७ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा अयोध्यादेखि जनकपु...

#रेल #भारत #अयोध्या
Compare →
Nagarik News
22h ago
जनकपुरधाम–अयोध्या रेल सञ्चालनले पर्यटन र अर्थतन्त्रमा नयाँ सम्भावना

जनकपुरधाम–अयोध्या रेल सञ्चालनले पर्यटन र अर्थतन्त्रमा नयाँ सम्भावना

भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्या र माता सीताको जन्मस्थल नेपालको जनकपुरधामलाई रेलमार्गबाट जोड्ने भएपछि जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा उत्साह छाएको छ।

#रेल #भारत #अयोध्या
Compare →

Related Stories

Technology
Build #2612