काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को औपचारिक भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य विस्तार गर्ने समझदारी भएको छ।
भारत भ्रमणको दोस्रो दिन सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय द्विपक्षीय वार्तापछि आठवटा विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
दुई देशबीच सुरक्षा, अपराध अनुसन्धान, सरकारी कर्मचारीको क्षमता विकास, स्वास्थ्य, अन्तरिक्ष प्रविधि, सहरी विकास तथा कृषि क्षेत्रसँग सम्बन्धित विषयमा सहकार्य गर्ने सहमति भएको छ।
विशेषगरी अपराध अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग, प्रहरी प्रशिक्षण, स्याटेलाइट सञ्चार प्रणालीको विकास र सरकारी कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी समझदारीलाई महत्वपूर्ण मानिएको छ।
नेपाल–भारतबीच परम्परागत रूपमा रहँदै आएको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई प्रविधि र संस्थागत क्षमता विकासका क्षेत्रमा समेत विस्तार गर्ने उद्देश्यले यी समझदारी भएका हुन्।
१. फरेन्सिक विज्ञान तथा अपराध अनुसन्धानमा सहकार्य
भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने समझदारी भएको छ। यसले अपराध अनुसन्धानमा वैज्ञानिक विधि र प्राविधिक क्षमताको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२. प्रहरी प्रशिक्षण तथा क्षमता विकास
भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षण तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।
३. सरकारी कर्मचारीलाई प्रशासनिक प्रशिक्षण
भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच नेपाली सरकारी अधिकारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा प्रवर्द्धन
नेपाल र भारतले आयुर्वेद तथा अन्य परम्परागत उपचार पद्धतिको विकास र प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने समझदारी गरेका छन्।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने समझदारी भएको छ। यो सहकार्यले नेपालमा अन्तरिक्षमा आधारित सञ्चार प्रविधिको उपयोग विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा छ।
६. दिगो सहरी विकासमा प्राविधिक सहकार्य
नेपाल र भारतले दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्ने समझदारी गरेका छन्।
७. स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रमा साझेदारी
दुई देशबीच स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रको विकासका लागि आपसी सहकार्य विस्तार गर्ने सहमति भएको छ।
नेपाल र भारतले पशुपालन तथा मत्स्यपालनको विकासमा सहकार्य गर्ने समझदारी गरेका छन्। यसबाट कृषि क्षेत्रको आधुनिकीकरण तथा उत्पादन क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका यी समझदारीले नेपाल–भारत सहकार्यको दायरा थप फराकिलो बनाएको छ।
यसअघि दुई देशबीच व्यापार, पारवहन, ऊर्जा तथा भौतिक पूर्वाधारका विषयले प्राथमिकता पाउँदै आएकोमा यसपटक सुरक्षा प्रविधि, प्रशासनिक क्षमता विकास, स्वास्थ्य तथा अन्तरिक्ष सञ्चारजस्ता क्षेत्र पनि समझदारीको महत्वपूर्ण हिस्सा बनेका छन्।
यद्यपि, समझदारीअनुसारका कार्यक्रम कहिलेदेखि कार्यान्वयन हुने, कति लगानी आवश्यक पर्ने र कुन पक्षले कस्तो जिम्मेवारी लिने भन्ने विस्तृत कार्ययोजना सार्वजनिक भएको छैन।
यी समझदारीबाट नेपालले वास्तविक लाभ प्राप्त गर्न आगामी दिनमा बन्ने कार्ययोजना, स्रोत व्यवस्थापन र प्रभावकारी कार्यान्वयन महत्वपूर्ण हुने देखिन्छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।