Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, आज समकक्षी मोदी भेट्दै

Nagarik News •
November 23, 2026 • 01:13 AM
3
3 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह दक्षिणी छिमेकी मुलुक भारतको दुई दिने राजकीय भ्रमणमा नयाँदिल्ली आएका छन्।

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, आज समकक्षी मोदी भेट्दै

प्रधानमन्त्री बालेन्द्र शाह दक्षिणी छिमेकी मुलुक भारतको दुई दिने राजकीय भ्रमणमा नयाँदिल्ली आएका छन्। गत चैत १३ गते मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेपछि शाह पहिलो राजकीय भ्रमणका क्रममा आइतबार नयाँदिल्ली आएका हुन्।

प्रधानमन्त्री शाहको औपचारिक भ्रमण टोली अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, पत्रकारसहित ३५ सदस्यीय छ। यसका अतिरिक्त ५२ उद्योगीव्यवसायी र दुई दर्जन बढी पत्रकार पनि प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेका छन्।

प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। भारतका लागि नेपाली राजदूतसहित उच्च पदस्थ अधिकारीहरू पनि प्रधानमन्त्री शाहलाई स्वागत गर्न विमानस्थलमा पुगेका थिए। प्रधानमन्त्री शाह विमानस्थलबाट सिधै होटल ताज गए।

प्रधानमन्त्री शाहलाई भेट्न साँझ भारतीय विदेशमन्त्री एस जयशंकर होटल ताजमा पुगेका थिए। साँझ ६ बजे भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध पक्ष, विशेष गरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा, जनस्तरको सम्बन्ध लगायत क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।

भेटमा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको छ। भेटमा भारतीय विदेशमन्त्रीले दुई पक्षीय हितका विषयमा सोमबार नेपाल र भारतका प्रधानमन्त्रीबिच हुने समझदारी र सहमतिबारे पनि जानकारी गराएको स्रोतको दाबी छ।

प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा हैदराबाद हाउसमा भेटवार्ताको कार्यक्रम छ। भेटपछि दुई पक्षीय हितका सहमति र सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यतालिका तय भएको छ। समकक्षी मोदीसँगको भेटअघि बिहान १० बजे प्रधानमन्त्री शाहलाई राष्ट्रपति कार्यालयमा औपचारिक रूपमा स्वागत गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले राजघाटस्थित गान्धी समाधिस्थल पुगेर श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम पनि छ। उनले दिउँसो सवा ३ बजे भारतीय राष्ट्रपति द्राैपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति निवासमा हुने उक्त भेटघाटपछि ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल फर्कने कार्यतालिका छ।

केही वर्षयता नेपाल र भारतबिचको सम्बन्धमा चिसोपना आएको विश्लेषण गरिएका बेला प्रधानमन्त्री शाहको भ्रमणले आपसी सम्बन्ध सुमधुर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीका भ्रमणका क्रममा लामो समयदेखि दुई देशबिच ऊर्जा, आर्थिक सहयोग, पूर्वाधार र हवाई प्रवेशमार्गलगायत अल्झेका कार्यक्रम र परियोजनाहरू अघि बढ्ने अपेक्षा गरिएको छ। सीमा विवाद, पञ्चेश्वर परियोजनासहित जलविद्युत् उत्पादन, ऊर्जा व्यापार, सिँचाइ, बाढी नियन्त्रणजस्ता मुद्दाले पनि नयाँ बाटो र गति लिने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयले भ्रमणका अवसरमा दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको जनाएको छ।

त्यसैगरी व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयु) समेत आदानप्रदान गरिने जनाइएको छ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउन महत्त्वपूर्ण हुने दाबी गरेको छ। पार्टीका महामन्त्री विपीन आचार्यले विज्ञप्ति जारी गर्दै भ्रमणले दुई देशबिच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने जनाएका हुन्। ‘भ्रमणले आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ,’ उनले भनेका छन्, ‘राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुंगा बन्ने विश्वास छ।’

त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भ्रमणका क्रममा हुने भेटमा नेपालको दीर्घकालीन हितलाई केन्द्रमा राख्दै विगतदेखि नेपालले निरन्तर उठाउँदै आएका द्विपक्षीय विषयहरूलाई स्पष्ट अडान र उच्च प्राथमिकताका साथ राख्न सुझाएका छन्।

प्रधानमन्त्रीको भ्रमण टोली नेपाल फर्किएसँगै परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने जनाइएको छ।

प्रकाशित: ७ मंसिर २०८३ ०६:५८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
प्रधानमन्त्री बालेन शाह नयाँदिल्ली पुगे, भोलि मोदीसँग उच्चस्तरीय वार्ता हुने

प्रधानमन्त्री बालेन शाह नयाँदिल्ली पुगे, भोलि मोदीसँग उच्चस्तरीय वार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन्। नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ...

#बालेन-शाह #नयाँदिल्ली #शाह
Compare →
Arthasansar
17h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भ्रमण #शाह
Compare →
Bizshala
17h ago
३४ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग एक्लाएक्लै वार्ता हुने

३४ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग एक्लाएक्लै वार्ता हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री...

#बालेन-शाह #भ्रमण #मोदी
Compare →
Ekantipur
18h ago
दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

#भ्रमण #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612