काठमाण्डौ । परम्परागत खेतीपातीमा निर्भर इलामको कन्यामका किसान पछिल्लो समय पर्यटन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेका छन्। पर्यटकीय क्षेत्रमा घोडचढीप्रतिको आकर्षण बढेसँगै स्थानीय किसानले घोडा पालेर पर्यटक घुमाउने व्यवसायलाई आम्दानीको महत्वपूर्ण माध्यम बनाएका हुन्।
इलामको सूर्योदय नगरपालिका–७ कन्यामका सोमबहादुर तामाङ यसका उदाहरण हुन्। उनको दैनिकी बिहानै घोडाको हेरचाहबाट सुरु हुन्छ। घोडालाई दानापानी खुवाउने, सरसफाइ गर्ने र पर्यटकका लागि तयार पारेर कन्याम बजार पुग्ने उनको नियमित काम हो।
पर्यटकलाई घोडामा चढाएर चियाबारी तथा आसपासका रमणीय क्षेत्र घुमाउने तामाङले दैनिक औसत ३ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। विशेष प्याकेजमा पर्यटक घुमाउन पाएको दिन उनको कमाइ ५ हजार रुपैयाँसम्म पुग्छ।
उनका अनुसार घोडाको दानापानीमा दैनिक करिब एक हजार रुपैयाँ खर्च हुन्छ। औसत आम्दानीबाट उक्त खर्च कटाउँदा अन्य खर्चबाहेक दैनिक करिब दुई हजार रुपैयाँ बचत हुने गरेको छ।
खेतीपातीसँगै पर्यटन व्यवसायमा जोडिएपछि आम्दानीको स्रोत थपिएको र जीविकोपार्जन सहज बनेको उनको अनुभव छ।
पर्यटकको आकर्षण बढ्दै गएपछि कन्याममा घोडचढी व्यवसाय गर्ने किसानको संख्या पनि बढेको छ।
हाल यस क्षेत्रका ३९ किसान घोडा पालेर पर्यटकलाई घुमाउने व्यवसायमा संलग्न छन्। बिहानदेखि साँझसम्म पर्यटकलाई घोडचढी सेवा उपलब्ध गराउनु उनीहरूको नियमित काम बनेको छ।
विशेषगरी हरियाली चियाबारीमा घोडा चढेर फोटो तथा भिडियो खिच्ने र टिकटक बनाउने पर्यटकको संख्या बढ्दा व्यवसायीको आम्दानीमा सकारात्मक प्रभाव परेको छ।
पर्यटकको चापसँगै घोडचढी व्यवसाय व्यवस्थित गर्न स्थानीय व्यवसायीले घोडचढी व्यवसायी संघसमेत गठन गरेका छन्।
५० रुपैयाँदेखि ५ हजारसम्मका प्याकेज
घोडचढी व्यवसायी संघले पर्यटकको चाहना र घुम्ने दूरीका आधारमा विभिन्न शुल्क निर्धारण गरेको छ।
संघका कोषाध्यक्ष डिकबहादुर तामाङका अनुसार घोडामा चढेर फोटो खिच्न मात्रै ५० रुपैयाँ लाग्छ भने १० मिनेट घुम्न १०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
त्यस्तै, स्पोर्ट राउन्ड घुम्न ३०० रुपैयाँ, हरियाली चियाबारी क्षेत्र घुम्न ६०० रुपैयाँ तथा कन्यामका विभिन्न पर्यटकीय क्षेत्र समेटिएका विशेष प्याकेजका लागि २ हजार ५०० देखि ५ हजार रुपैयाँसम्म शुल्क लाग्छ।
व्यवसायीहरूले नगरपालिकालाई वार्षिक एक हजार ४७० रुपैयाँ र सरसफाइबापत मासिक ८० रुपैयाँ शुल्क बुझाउने गरेका छन्।
खेतीपातीभन्दा पर्यटन व्यवसायमा आकर्षण
घोडचढी व्यवसायी संघका अध्यक्ष प्रेमलाल ग्याबाका अनुसार कन्याममा घोडचढी व्यवसाय स्थानीय किसानको जीविकोपार्जनको महत्वपूर्ण आधार बन्दै गएको छ।
परम्परागत खेतीपातीसँगै पर्यटकलाई सेवा दिएर आम्दानी गर्न सकिने भएपछि किसान यस व्यवसायमा आकर्षित भएका हुन्।
उनका अनुसार व्यवसायबाट आर्थिक लाभ मात्रै नभई देशका विभिन्न स्थानबाट आउने पर्यटकसँग भेटघाट र अन्तरक्रिया गर्ने अवसरसमेत मिल्ने गरेको छ।
कन्याममा बालबालिकादेखि युवायुवती र ज्येष्ठ नागरिकसम्म घोडचढीमा रमाउने गरेका छन्।
पर्यटकीय सिजन सुरु भएसँगै व्यवसायी उत्साहित
कोसी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक कन्याममा अहिले मुख्य पर्यटकीय सिजन सुरु भएको छ।
स्थानीय पर्यटन व्यवसायी टिका ओडारीका अनुसार सामान्यतया असोजदेखि जेठसम्म कन्याममा पर्यटकको चहलपहल बढी हुने गर्छ।
हरियाली चियाबारी, सुन्दर प्राकृतिक दृश्य र रमणीय वातावरणका कारण कन्याम आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ।
वनभोज, घुमघाम तथा फोटो र भिडियो खिच्न आउने पर्यटकका लागि घोडचढी थप आकर्षण बनेको छ।
पर्यटनसँग जोडिएको यो व्यवसायले स्थानीय किसानलाई कृषि उत्पादनमा मात्रै निर्भर रहनुपर्ने अवस्था कम गर्दै अतिरिक्त आम्दानीको अवसर सिर्जना गरेको छ। यसले ग्रामीण पर्यटनमार्फत स्थानीय स्तरमै स्वरोजगार सिर्जना गर्न सकिने सम्भावनासमेत देखाएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।