Trending
Prev Story
Next Story

इतिहासकै बिर्सनलायक कोप, कुनै सम्झौता हुन सकेन

Ekantipur •
November 23, 2026 • 11:03 AM
22
22 reads 0 reactions

यो इतिहासकै सबैभन्दा लामो ‘कोप’ बन्यो । तर पनि अन्त्यमा कुनै सहमति जुट्न सकेन

इतिहासकै बिर्सनलायक कोप, कुनै सम्झौता हुन सकेन

यो इतिहासकै सबैभन्दा लामो ‘कोप’ बन्यो । तर पनि अन्त्यमा कुनै सहमति जुट्न सकेन

अन्ताल्या — युरोपेली संघ (ईयू) र अन्य मुलुकहरूले कोप–३१ का अध्यक्ष राष्ट्र टर्कीए र अष्ट्रेलियाद्वारा प्रस्तुत अन्तिम मस्यौदा प्रस्ताव अस्वीकार गरेपछि संयुक्त राष्ट्रसंघीय जलवायु वार्ता आइतबार बिना निष्कर्ष टुंगिएको छ ।

उक्त प्रस्तावमा विश्वव्यापी तापक्रम वृद्धिविरुद्धको लडाइँलाई अघि बढाउने ठोस विषय उल्लेख नभएको भन्दै ईयूले अस्वीकार गरेको हो ।

जलवायु परिवर्तनका लागि जिम्मेवार मानिएको जीवाश्म इन्धनको उत्सर्जनका विषयमा यस प्रस्तावमा केही पनि उल्लेख थिएन ।

विश्वले एकातर्फ युद्ध र आर्थिक दबाब झेलिरहेको छ । अर्कोतर्फ, तापक्रम वृद्धिका कारण निम्तिने लु (हिटवेभ), डढेलो, बाढी र शक्तिशाली आँधीजस्ता भयावह परिणामहरूको सामना गरिरहेको छ ।

तर, यस्ता प्राकृतिक घटनाहरूलाई रोक्न राष्ट्रहरूको प्रयास विफल भएको यो असफल वार्ताले देखाएको छ ।

दुई साताभन्दा लामो समयसम्म चलेको वार्तालाई सार्थक बनाउन निर्धारित समयभन्दा दुई दिन थप लम्ब्याइएको थियो । जसकारण यो इतिहासकै सबैभन्दा लामो ‘कोप’ बन्यो । तर पनि अन्त्यमा कुनै सहमति जुट्न सकेन ।

‘हामीले सकेजति सबै गर्‍यौं । अब गर्न सकिने केही छैन,’ टर्कीएका सम्मेलन प्रमुख मुरत कुरुमले समापन बैठकलाई सम्बोधन गर्दै भने ।

उनले कुनै नयाँ मस्यौदा अघि नबढाइने जानकारी पनि उक्त बैठकमा गराए । त्यसपछि अन्य देशका प्रतिनिधिहरूले भाषण गरिरहेकै बेला उनी मञ्च छोडेर बाहिरिएका थिए ।

अष्ट्रेलियाका कोप–३१ वार्ता प्रमुख क्रिस बोवेनले वार्ताको नतिजा अत्यन्तै निराशाजनक रहेको बताए । जीवाश्म इन्धन र जलवायु वित्तका विषयमा देखिएको असहमति नै सम्झौताको मुख्य बाधक बनेको उनले उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि नतिजाप्रति गहिरो निराशा व्यक्त गरेका छन् ।

‘जलवायु संकटले माग गरेअनुसार सरकारहरू जिम्मेवार बन्नेछन् भन्ने अपेक्षा राख्ने सबै निराश भएका छन् । म पनि निराश छु,’ उनले भने ।

यसअघि सन् २००९ मा कोपनहेगनमा भएको राष्ट्रसंघीय जलवायु वार्तामा पनि सम्झौताको मस्यौदा पारित हुन सकेको थिएन ।

पछिल्ला कोप सम्मेलनहरू निकै तनावपूर्ण रहे पनि अन्ततः राष्ट्रहरूबीच कुनै न कुनै सहमति बनेको थियो ।

त्यस्ता सहमतिपत्रले व्यावसायिक लगानीका लागि महत्त्वपूर्ण संकेत दिनुका साथै नवीकरणीय ऊर्जा र विद्युतीय सवारीसाधन प्रविधिको विकासलाई गति दिन मद्दत गरेको विश्लेषकहरू बताउँछन् । ती सम्मेलनहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई केही हदसम्म नियन्त्रण गर्नका लागि सघाएका पनि छन् ।

सन् २०१५ मा देशहरूले पेरिस सम्झौता गर्दा विश्वव्यापी तापक्रम वृद्धिलाई पूर्वऔद्योगिक कालको दाँजोमा १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य राखिएको थियो । त्यही कारण पनि पेरिस सम्झौतालाई सधैं जलवायु नियन्त्रणको कोसेढुंगा मानिन्छ ।

तापक्रम वृद्धिलाई नियन्त्रणमा नराख्दा अर्थात् त्यस बेलाकै रफ्तारमा तापक्रम वृद्धि हुँदा यस शताब्दीको अन्त्यसम्ममा विश्वको औसत तापक्रम झन्डै ४ डिग्री सेल्सियसले बढ्ने प्रक्षेपण त्यसबेलाका विभिन्न अध्ययनहरूले गरेका थिए । यो सतर्कतालाई मध्यनजर गर्दै देशहरू सम्झौतामा पुगेका थिए ।

सुरुवाती केही वर्ष उनीहरूले निकै कडाइका साथ सम्झौता पालना गर्ने प्रयास गरे । जसकारण, एक दशकपछिका अध्ययनहरूले अहिलेकै रफ्तारमा तापक्रम वृद्धि हुँदा शताब्दीको अन्त्यसम्म २.८ डिग्री सेल्सियसमा औसत तापक्रम पुग्ने देखाएका छन् ।

एक दशकअघिको ४ डिग्री प्रक्षेपणका दाँजोमा यो निकै ठूलो सुधार हो । तर पर्याप्त भने नरहेको जलवायु अभियन्ताहरूले बताउँदै आएका छन् । पछिल्ला वर्षहरूमा पेरिस जलवायु सम्झौतालाई कडाइका साथ पालना गर्न देशहरू चुकेको पनि अभियन्ताहरूले बताउँदै आएका छन् ।

अक्टोबरमा राष्ट्रसंघीय वातावरण निकायले विश्वव्यापी तापक्रम वृद्धिले १.५ डिग्री सेल्सियसको सीमा नाघ्ने निश्चित भइसकेको पुष्टि गरेको थियो ।

वैज्ञानिकहरूका अनुसार तापक्रम यो विन्दुभन्दा माथि जाँदा चरम मौसमी प्रकोपहरू झन् तीव्र बन्दै जान्छन् । नयाँ अध्ययनहरुले सन् २०२६ इतिहासकै सबैभन्दा तातो वर्ष बन्‍ने प्रक्षेपण पनि गरेका छन् ।

आयरल्याण्डका वातावरणमन्त्री डारा ओ’ब्रायनले  प्रस्तावित सम्झौतामा जीवाश्म इन्धनबारे उल्लेख नभएकाले युरोपेली संघले त्यसलाई समर्थन गर्न नसकेको बताए ।

जबकि, वैज्ञानिकहरूले विश्वव्यापी तापक्रम वृद्धिको मुख्य कारक नै जीवाश्म इन्धनलाई मान्दै आएका छन् । ‘जीवाश्म इन्धनको कुनै सन्दर्भ नभएको र त्यसको प्रयोग घटाउने विषय नै उल्लेख नभएको जलवायु सम्झौता स्वीकार गर्नु अकल्पनीय छ,’ उनले भने ।

अर्कोतर्फ, साउदी अरेबिया र अन्य ठूला तेल उत्पादक देशहरूले निकट भविष्यसम्म अर्थतन्त्रमा जीवाश्म इन्धनको भूमिका रहिरहने बताएका छन् । उनीहरूले नै मस्यौदाबाट जीवाश्म इन्धनको प्रसङ्ग हटाउन लबिङ गरेको सम्मेलनका पर्यवेक्षकहरूले बताएका छन् ।

उत्सर्जनमा भारी कटौतीसँगै वायुमण्डलबाट कार्बन हटाउनु जलवायु परिवर्तनका भयावह असरहरूबाट बच्न अपरिहार्य रहेको वैज्ञानिकहरूले बताउँदै आएका छन् ।

कार्बन हटाउने (कार्बन–रिमुभल) प्रविधिको तीव्र विकास गर्न मस्यौदा प्रस्तावमा सबैलाई आह्वान गरिएको थियो । यी बुँदालाई समावेश गर्न तेल उत्पादक देशहरू इच्छुक भए पनि जीवाश्म इन्धनबारे केही उल्लेख नभएकाले ईयू र अन्य देशहरू सम्झौतामा हस्ताक्षर गर्न तयार भएनन् ।

आलोचकहरूका अनुसार कार्बन हटाउने कुरा गरेर निरन्तर तेल उत्खनन गरिरहने प्रवृत्तिले जलवायु परिवर्तन नियन्त्रण हुन सक्दैन ।

आयोजक टर्कीएले विश्वको कुल ऊर्जा खपतमा विद्युतको हिस्सा बढाउन पनि प्रस्ताव गरेको थियो । हालको करिब २३ प्रतिशतबाट विद्युतको प्रयोग बढाएर सन् २०३५ भित्र ३५ प्रतिशत पुर्‍याउने प्रस्ताव टर्कीएले राखेको थियो ।

यस्तो प्रस्ताव पारित हुँदा नवीकरणीय ऊर्जाको प्रयोग बढ्ने तथा जीवाश्म इन्धनबाट चल्ने सवारी, कारखाना र अन्य उपकरणहरू विस्थापित गर्ने प्रक्रिया तीव्र हुने तर्क टर्कीको थियो ।

तर, यस प्रस्तावको विपक्षमा रहेकाहरुले जीवाश्म इन्धनबाट बाहिरिने स्पष्ट मार्गचित्र तयार नगरी लिइने निर्णयले गरिब राष्ट्रहरूमाथि थप आर्थिक भार पर्ने तर्क गरेका थिए ।

साउदी प्रतिनिधिमण्डलका एक सदस्यले समापन बैठकमा बोल्दै विश्वव्यापी तापक्रम वृद्धिको ठोस समाधानका रूपमा प्रस्तुत गरिएको मस्यौदा प्रस्तावमा भएको प्रतिरोध देखेर आफू अचम्मित भएको बताए ।

विकासशील देशहरूले पनि पर्याप्त जलवायु वित्तको व्यवस्था नगरिएको भन्दै मस्यौदाको आलोचना गरेका थिए । जलवायु परिवर्तनजन्य घटनाबाट भएका नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने उनीहरूको माग छ । मस्यौदामा त्यस्तो वित्त तेब्बर बनाउन आह्वान गरिएको भए पनि कसरी तेब्बर बनाउने भन्ने स्पष्ट थिएन ।

विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि देशहरूले आफ्ना पहलहरूलाई अघि बढाउने मुख्य मञ्च नै ‘कोप’ हो ।

तर, यसपटक कोपले त्यस्तो कुनै समाधान निकाल्न सकेन । अन्ताल्यामा राजनीतिक घोषणापत्रमा सहमति जुट्न नसके पनि यसअघिका राष्ट्रसंघीय सम्मेलनहरूमा गरिएका प्रतिबद्धताहरू भने खारेज हुने छैनन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
कोप-३१ मा किन हुन सकेन सम्झौता?

कोप-३१ मा किन हुन सकेन सम्झौता?

अन्ताल्या । टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन ‘कोप-३१’ मा जीवाश्म इन्धन र आर्थिक सहायताका विषयमा गम्भीर मतभेद उत्पन्न भएपछि जलवायु परिवर्तन रोकथामसम्बन्धी नयाँ सम्झौता हुन सकेन। ...

#कोप #सकेन
Compare →
Nagarik News
1d ago
कोप-३१ पछि नेपालको जलवायु न्याय

कोप-३१ पछि नेपालको जलवायु न्याय

टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ कुनै साझा राजनीतिक सम्झौताबिना समाप्त भयो।

#कोप
Compare →
Onlinekhabar
5d ago
कोप–३१ : मुख्य एजेण्डामा सहमति जुटेन, जलवायु न्याय र जवाफदेहिता शून्य

कोप–३१ : मुख्य एजेण्डामा सहमति जुटेन, जलवायु न्याय र जवाफदेहिता शून्य

७ मंसिर, अन्ताल्या (टर्की) । संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरुको विश्व जलवायु सम्मेलन कोप–३१ कुनै उच्चस्तीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ । सम्मेलनमा अनुकूलन, अनुकूलन कोष र …

#कोप
Compare →
Bizshala
6d ago
कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा

कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा

काठमाडौं । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा सम्बद्ध पक्षले जलवायु...

#कोप
Compare →
Arthasansar
1w ago
कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल

कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक...

#इतिहास
Compare →

Related Stories

World News
Build #2635