काठमाडौं । विश्वकै धनाढ्य व्यक्ति इलन मस्कका दुई कम्पनी स्पेसएक्स र टेस्लाबीच मर्जरको तयारी भइरहेको छ। फाइनान्सियल टाइम्सका अनुसार दुवै कम्पनीबीच ३.२ ट्रिलियन डलरको सम्झौता हुन सक्ने र आगामी डिसेम्बरमा घोषणा हुन सक्ने सम्भावना छ।
सम्झौताका लागि दुवै कम्पनीले पाँच जना सञ्चालक र तीनवटा लगानी बैंक सम्मिलित विशेष समिति बनाएका छन्। स्पेसएक्सका तर्फबाट रोएलोफ बोथा र र्यान्डी ग्लेन तथा टेस्लाका तर्फबाट रोबिन डेनहोम, क्याथलीन विल्सन–थम्पसन र ज्याक हार्टुङले वार्ताको जिम्मेवारी पाएका छन्।
मर्जरको वित्तीय परामर्शका लागि मोर्गन स्ट्यान्ली र गोल्डम्यान स्याक्सले स्पेसएक्सलाई तथा एभरकोरले टेस्लालाई सहयोग गरिरहेका छन्। प्रस्तावित सम्झौता नगद कारोबार नभई सेयर आदानप्रदानमा आधारित हुनेछ।
हाल स्पेसएक्सको बजार पुँजीकरण करिब १.७ ट्रिलियन डलर र टेस्लाको १.५ ट्रिलियन डलर छ। मर्जर सफल भए नयाँ कम्पनीको मूल्यांकन ३.२ ट्रिलियन डलर पुग्ने र विश्वका पाँच ठूला मूल्यवान् कम्पनीमध्ये एक बन्नेछ।
मस्कले स्वार्थको द्वन्द्व हुन नदिन आफूलाई मर्जर वार्ताबाट अलग राखेको बताएका छन्। उनले दुवै कम्पनी एकसाथ रहनु उपयुक्त हुने धारणा पनि व्यक्त गरेका छन्।
यसैबीच, लगानी बैंक जेपी मोर्गनका अनुसार टेस्लासँगको मर्जरले स्पेसएक्सलाई अमेरिकी सेयर बजारको प्रमुख सूचक एस एन्ड पी ५०० मा समावेश हुन सहज बनाउन सक्छ। हाल स्पेसएक्सले सूचकमा प्रवेशका लागि आवश्यक कारोबार अवधि र नाफासम्बन्धी मापदण्ड पूरा गरेको छैन।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।