जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो।
काठमाडौँ — काठमाडौं महानगरपालिकाको आयोजनामा ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आजदेखि सुरु भएको छ। जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि छलफल र विचारविमर्शमा मात्र सीमित नभई व्यवहारमै काम गर्नुपर्ने बताएकी छन्।
उनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम सामना गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सप्ताहका कार्यक्रममार्फत तत्काल कार्यान्वयन गर्न सकिने कामलाई प्राथमिकता दिइने बताइन्।
सप्ताहको पहिलो दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौं अभियान’ सुरु गरिएको छ। यसै दिन जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्व तहमा संवाद र स्थानीय तहका जनप्रतिनिधिबीच अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गरिएका छन्।
साताव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन जलवायु वित्त तथा जलवायु अनुकूलन र उत्थानशील पूर्वाधार निर्माणका विषयमा विज्ञहरूसँग छलफल गरिनेछ। तेस्रो दिन नागरिक विज्ञान, सम्पदा संरक्षण तथा जलवायु परिवर्तनका असरबारे विमर्श गरिने महानगरपालिकाले जनाएको छ।
त्यस्तै, परम्परागत हिटी प्रणालीको संरक्षण, भूमिगत जल पुनःभरण, पानीको गुणस्तर परीक्षण तथा ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रालगायत कार्यक्रम पनि सञ्चालन गरिनेछन्।
महानगरपालिकाका अनुसार सप्ताहका कार्यक्रममार्फत काठमाडौं उपत्यकालाई जलवायु उत्थानशील, समावेशी, स्वस्थ र बस्न योग्य सहरका रूपमा विकास गर्न साझा प्रयासको थालनी गरिनेछ।
जलवायु परिवर्तनका चुनौतीबारे छलफल मात्र नभई त्यसको सामना गर्न विज्ञानमा आधारित तथा समुदायको सहभागितामा सञ्चालन गर्न सकिने कार्यहरूलाई व्यवहारमा उतार्ने लक्ष्य सप्ताहले लिएको छ।
नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।