Trending
Prev Story
Next Story

नदीको सफाइसहित काठमाडौंलाई बस्न योग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

Nagarik News •
November 23, 2026 • 06:37 AM
3
3 reads 0 reactions

श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः कञ्चन बनाउने र काठमाडौंलाई सुरक्षित तथा बस्न योग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

नदीको सफाइसहित काठमाडौंलाई बस्न योग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः कञ्चन बनाउने र काठमाडौंलाई सुरक्षित तथा बस्न योग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

‘काठमाडौं जलवायु कार्य सप्ताह’लाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै काठमाडौं क्षेत्र नं. ८ का सांसदसमेत रहेका श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्य योजनाहरू सार्वजनिक गरे।

सम्बोधनका क्रममा श्रेष्ठले आफ्नो बाल्यकाल स्मरण गर्दै विष्णुमती र बागमती नदीको सफा पानी पिएको, नुहाएको र नदी किनारका हरिया खेत तथा चराचुरुङ्गीको चिरबिरबीच हुर्किएको अनुभव सुनाए।

तर, आफ्नै जीवनकालमा ती नदीहरू प्रदूषित र सङ्कटग्रस्त बन्दै गएको देख्दा आफू निकै भावुक हुने गरेको उनले बताए।

पछिल्ला केही दशकमा जथाभाबी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको, धुलो–धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदा कालो हुँदै गएको र वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम भयावह बनेको उनले उल्लेख गरे।

जलवायु परिवर्तनले संकट अझ थपेको बताउँदै श्रेष्ठले मात्र ४६ दिनको अवधिमा तीनवटा नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए।

तीव्र गतिमा सहरीकरण भइरहेका देशका अन्य नगरपालिकाहरूलाई काठमाडौंको गल्तीबाट पाठ सिकेर बेलैमा नदी, पोखरी र खुला जमिन जोगाउन उहाँले आग्रह गरे।

साथै, पछिल्ला चार वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकोमा काठमाडौं महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षहरूको उनले प्रशंसा गरे।

सम्बोधनमा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले सरकारका तर्फबाट मुख्य प्रतिबद्धता र योजनाहरू पनि सुनाए। उनकाअनुसार बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली बनाइनेछ।

बाढी आउनुअघि नै वडा र घरपरिवारले जानकारी पाउन सकुन् भनेर जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणालीमा महानगर तथा अन्य सहरसँग सहकार्य गरिनेछ।

साथै, झुन्डिएका हिमचट्टान र पग्लिँदो हिमनदीको अनुगमनमा विज्ञ, वैज्ञानिक, अभियन्ता र युवाहरूलाई जोडिनेछ।

यसैगरी प्रकृतिमा आधारित नदी संरक्षण गरिनेछ। नदीलाई कडा कङ्क्रिटको पर्खालभित्र थुन्नुको साटो प्राकृतिक रूपमै फैलिन र खुम्चिन दिइनेछ।

विष्णुद्वार र वाग्द्वारका मुहान तथा नागार्जुन र गोदावरी क्षेत्र जोगाइनेछ। नदीले प्रशासनिक सिमाना नचिन्ने भएकाले जलस्रोत तथा सिँचाइ विभाग र भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौं महानगर तथा नदी प्रणालीसँग जोडिएका वरपरका १७ वटा नगरपालिकासँग समन्वय गरी आगामी मनसुनअघि नै काम सुरु गर्नेछन्।

यसैगरी सहर शीतल बनाउने र भूमिगत पानी पुनर्भरण गरिनेछ। घर(घरमा आकाशे पानी सङ्कलन, पानी सोस्ने पैदल मार्ग, खुला ठाउँ र मुख्य सडक किनारमा रैथाने रूख रोप्ने कार्यका लागि महानगरले स्थान पहिचान गरेपछि सङ्घीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ।

यसैगरी वायु प्रदूषण नियन्त्रण गरिनेछ। राष्ट्रिय निर्धारित योगदानअनुरूप विद्युतीय सार्वजनिक यातायात, स्वच्छ इँटा भट्टा र फोहोर दहन नियन्त्रणमा जोड दिइनेछ।

वायु गुणस्तरको तथ्याङ्क नागरिकका लागि खुला राखिनेछ र जाडो तथा तुवाँलो सुरु हुनु अगावै (अक्टोबरअघि नै) प्रदूषण नियन्त्रणका तयारी पूरा गरिनेछ।

यसै गरी फोहोरबाट ऊर्जा र जलवायु वित्त परिचालन गरिनेछ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौं महानगरबीच भएको समझदारी तथा टेकु बायोग्यास प्लान्टलाई छिटो सञ्चालनमा ल्याउन घरबाटै फोहोर वर्गीकरण गर्न आह्वान गरिएको छ।

साथै, 'जलवायु वित्त शिखर सम्मेलन'मार्फत हरित बन्ड र जलवायु कोष भित्र्याउन नगर विकास कोषसँग मिलेर काम गरिने मन्त्री श्रेष्ठले बताए।

भोटेकोशीको विपद्पछि पुनर्लाभका लागि छिटो परिचालन हुने कोषको आवश्यकता महसुस गरिएको उनले बताए।

नवीन प्रविधिमा युवाहरूको सक्रियताको प्रशंसा गर्दै श्रेष्ठले कक्षा १२ का विद्यार्थीहरूले मोबाइल नेटवर्कबिनै विपद्को सूचना पठाउने सञ्चार प्रणाली बनाएको उदाहरण दिए।

युवाहरूको प्रविधि र ज्येष्ठ नागरिकहरूको परम्परागत जलप्रणालीको ज्ञानलाई जोडेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

जलवायु न्यायको प्रसङ्ग उठाउँदै श्रेष्ठले विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि हिमनदी पग्लिने र बाढी-पहिरोको मार नेपालीले भोग्नुपरेको बताए।

नदी किनारका बासिन्दासँगै बोल्न नसक्ने नदी, मुहान, रूख, चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान जोगाउनु नै साँचो न्याय भएको उनको भनाइ थियो।

सम्बोधनको अन्त्यमा श्रेष्ठले रूखै–रूखले भरिएका शीतल सडक, १५ मिनेटमै हिँडेर पुग्न सकिने ऐतिहासिक टोल र बहाल, चोरी भएका मूर्ति फिर्ता, साइकल लेन र चराचुरुङ्गीको चिरबिरसहितको सफा बागमती–विष्णुमती करिडोर, काठमाडौं वरीपरीका जंगल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलनको परिकल्पना प्रस्तुत गरे।

पार्कमा बुवा–आमा ढुक्कले घाम ताप्ने, चोकमा बालबालिका सुरक्षित खेल्ने र हरियालीयुक्त आधुनिक व्यावसायिक केन्द्रहरू फस्टाउने सुन्दर काठमाडौं सबै मिलेर निर्माण गर्न उनले आह्वान गरे।

प्रकाशित: ७ मंसिर २०८३ १२:२२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
41m ago
काठमाडौं जलवायु कार्य सप्ताह, ‘रिचार्ज काठमाडौं’ अभियानको थालनी

काठमाडौं जलवायु कार्य सप्ताह, ‘रिचार्ज काठमाडौं’ अभियानको थालनी

जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो।

#काठमाडौं
Compare →
Bizshala
1h ago
रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा, डिसेम्बर १२ मा आयोजना हुने

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा, डिसेम्बर १२ मा आयोजना हुने

काठमाडौं। रोयल इन्फिल्डले आफ्नो सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने भएको छ।...

#काठमाडौं
Compare →
Hamro Patro News
5h ago
१० बालबालिकालाई जलवायु परिवर्तन सद्‌भावना दूत घोषणा गर्दै काठमाडौँ महानगर

१० बालबालिकालाई जलवायु परिवर्तन सद्‌भावना दूत घोषणा गर्दै काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जन...

#काठमाडौं
Compare →

Related Stories

Politics & Governance
Build #2612