लगानीकर्ता अमेरिकाको मुद्रास्फीति, रोजगारीसम्बन्धी तथ्यांक र त्यहाँको केन्द्रीय बैंकको आगामी डिसेम्बर ८ र ९ मा हुने बैठकको निर्णय कुर्दैछन् ।
काठमाडौँ — सोमबार नेपाली बजारमा सुनको मूल्यमा सुधार भएको छ । सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला सुन २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही सुधार भएपछि यहाँ पनि मूल्य बढेको हो । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन ८२ डलरले बढेर ३ हजार ६ सय २३ डलरमा कारोबार भइरहेको छ ।
सुनले यसअघि ३ हजार ५ सय डलर आसपासमा टेवा खोजिरहेको थियो । १४ महिनाकै न्यून विन्दुसम्म पुगेपछि सुनको मूल्य फर्किन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
सिएनबिसीले सेयर बजारमा आएको गिरावटको लाभ सुनको मूल्यमा पर्ने देखिएको समाचारमा उल्लेख गरेको छ । सिएनबिसीले समाचारमा क्यापिटल डटकमका वरिष्ठ वित्तीय बजार विश्लेषक काइल रोडालाई उद्धृत गरेको छ । रोडाले भनेकी छिन्, ‘प्रविधि (टेक) क्षेत्रका सेयरहरूमा आएको बिक्रीको चाप र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा देखिएको उछाल कमजोर भएसँगै आर्थिक गतिविधि सुस्त हुने अपेक्षा छ । यसका कारण आगामी दिनमा अमेरिकाले बढाउने अनुमान गरिएको ब्याजदरको प्रभाव कस्तो हुन सक्छ भनेर बजारले पुनः मूल्यांकन गर्न थालेको छ । यही कारण सुनको मूल्यले केही टेवा पाइरहेको छ ।’
यद्यपि, अहिले लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको पनि यी समाचारहरूमा विश्लेषण गरिएको छ । सञ्चारमाध्यमहरूका अनुसार विशेषगरी लगानीकर्ताहरूले अहिले तीन कुरा पर्खिरहेका छन् । पहिलो, अमेरिकाको मुद्रास्फीति (मुद्राको क्रयशक्तिमा ह्रास अर्थात् महँगी) ।
दोस्रो, अमेरिकाको रोजगारीसम्बन्धी तथ्यांक ।
तेस्रो, त्यहाँको केन्द्रीय बैंकको आगामी डिसेम्बर ८ र ९ मा हुने बैठकको निर्णय ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले अमेरिकी मूल्यवृद्धि दरको तथ्यांक सार्वजनिक हुने समय नजिकिएकाले पनि लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको विश्लेषण गरेको छ ।
यही नोभेम्बर २५ मा अमेरिकाको मूल्यवृद्धि दरसम्बन्धी तथ्यांक सार्वजनिक हुँदै छ । सेप्टेम्बरमा त्यहाँ मूल्यवृद्धि दर ३.७० प्रतिशत थियो ।
मूल्यवृद्धि थप बढ्ने अनुमानकै कारण अमेरिकी केन्द्रीय बैंकले नीतिगत ब्याजदर बढाउने संकेत गरिरहेको हो ।
शुक्रबार अमेरिकी केन्द्रीय बैंक (फेड) की एक गभर्नर लिसा कुकले आफूले मुद्रास्फीतिलाई ‘अत्यन्त चिन्ता’का साथ हेरिरहेको र यसको सामना गर्न हालको नीतिगत ब्याजदर पर्याप्त नभएको बताएकी छिन् । टाइम्स अफ इन्डियाले आफ्नो समाचारमा कुकलाई उद्धृत गरेको छ ।
धेरैले नीतिगत ब्याजदर ०.२५ देखि ०.५ प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिरहेका छन् । तर, केही अर्थशास्त्रीले भने फेडले अहिले पनि नीतिगत ब्याजदर धेरै बढाउन नहुने बताइरहेका छन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पछिल्लो मुद्रास्फीति तथ्यांकप्रति प्रतिक्रिया दिँदै फेडरल रिजर्भले मौद्रिक नीतिमा अत्यधिक कडाइ गर्दा अमेरिकी अर्थतन्त्र जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।
यसअघि अगस्ट महिनामा उनले दीर्घकालीन ऋणको बढ्दो लागत नियन्त्रण गर्न गरेको प्रयासले ऋणपत्रको प्रतिफल घटाएको र सुनको मूल्यमा अल्पकालीन उछाल ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गले उल्लेख गरेको छ ।
त्यस्तै, डिसेम्बर ४ मा सार्वजनिक हुने अमेरिकी रोजगारी प्रतिवेदनको प्रभाव पनि सुनको मूल्यमा पर्न सक्ने अनुमान गरिएको छ । रोजगारी बजार राम्रो देखिएमा अर्थतन्त्र तातिएको र महँगी अझै नियन्त्रणमा नआएको संकेत गर्ने बताइन्छ ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।