काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा पूरक बजेट ल्याउने प्रक्रिया अन्योलमा परेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको डेढ महिना बितिसक्दा पनि पूरक बजेटको प्रक्रिया अघि बढ्न नसकेपछि प्रदेश सरकारले विद्यमान बजेटकै कार्यान्वयनलाई तीव्रता दिने तयारी थालेको हो।
चालु खर्चतर्फ बजेट कार्यान्वयन भइरहे पनि विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च अपेक्षाअनुसार बढ्न सकेको छैन। राजनीतिक विवाद र प्रक्रियागत जटिलताका कारण विकास बजेट खर्च गर्न समस्या देखिएको छ।
प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पुँजीगत बजेट कार्यान्वयनमा देखिएका अवरोध हटाउन राजनीतिक नेतृत्वबाटै पहल आवश्यक रहेको बताएका छन्। उनले नीतिगत तथा प्रक्रियागत समस्या समाधान गरेर विकास आयोजनालाई गति दिनुपर्नेमा जोड दिएका छन्।
प्रदेशसभाले गत असोज २८ गते ३७ अर्ब ७० करोड रुपैयाँको बजेट पारित गरेको थियो। बजेट पारित गर्नुअघि नै सत्तारूढ दलका सांसदहरूलाई सहमत गराउन मन्त्रिपरिषद्बाट पूरक बजेट ल्याउने निर्णय गरिएको थियो। तर, सत्तारूढ नेकपा र नेकपा एमालेभित्रको मतभेद तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको असहमतिका कारण उक्त प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन।
सुरुमा बजेट अध्ययनका लागि सात सदस्यीय संसदीय समिति गठन गर्ने र समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने सहमति भएको थियो। समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउने समयसीमासमेत तोकिएको थियो।
यसका लागि कात्तिक २१ र २२ गते प्रदेशसभा बैठक बोलाइए पनि राजनीतिक विवादका कारण समिति गठनको प्रस्तावले औपचारिक रूप लिन सकेन।
प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले संसदीय समिति गठनमा सहमति नभएपछि तत्काल चालु बजेट कार्यान्वयनलाई प्राथमिकता दिइएको बताएका छन्।
उनका अनुसार पूरक बजेट ल्याउने विषय अब सभामुखको पहलमा निर्भर हुनेछ। संसदीय समिति गठन गर्ने जिम्मेवारी सरकारको नभई सभामुखको रहेको उनको भनाइ छ।
सभामुख भीमबहादुर भण्डारीले भने समिति गठनमा प्रमुख प्रतिपक्षी कांग्रेसभन्दा पनि सत्तारूढ नेकपाभित्रकै विवाद मुख्य समस्या बनेको बताएका छन्। उनले मंसिर ७ र ८ गते राजनीतिक दलहरूसँग छलफल गरेर सहमतिको प्रयास गर्ने तयारी गरेका छन्।
पूरक बजेटको प्रक्रिया अनिश्चित बनेपछि सरकारले तत्काल कार्यान्वयन गर्न सकिने विकास आयोजनालाई प्राथमिकतामा राख्ने रणनीति अघि सारेको छ। कार्यान्वयनको सम्भावना न्यून रहेका आयोजनाबाट बजेट रकमान्तर गर्ने विकल्पमाथिसमेत छलफल सुरु भएको छ।
यसैबीच, प्रदेशको आर्थिक मामिला मन्त्रालयले पुँजीगत खर्च बढाउने उद्देश्यले विषयगत मन्त्रालयका सचिव तथा सम्बन्धित अधिकारीहरूसँग छलफल थालेको छ। छलफलमा बजेट खर्चमा देखिएका अवरोध हटाउने, विकास आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने र उपलब्ध स्रोतको प्रभावकारी परिचालन गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
राजनीतिक सहमतिको अभावमा पूरक बजेट अन्योलमा रहे पनि प्रदेश सरकारका लागि अब स्वीकृत विकास बजेट समयमै खर्च गर्नु मुख्य चुनौती बनेको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।