Trending
Prev Story
Next Story

‘टिम अफ द टुर्नामेन्ट’ मा सुदूरपश्चिमका ३ खेलाडी

Ekantipur •
November 22, 2026 • 05:03 PM
6
6 reads 0 reactions

ब्याटिङमा रनको वर्षा गर्ने, बलिङमा विपक्षीलाई धराशायी बनाउने र अलराउन्ड प्रदर्शनमार्फत टोलीको नतिजामा प्रभाव पारेका खेलाडीलाई समेटेर ‘टिम अफ द टुर्नामेन्ट’ तयार पार्ने प्रयास गरेका छौं ।

‘टिम अफ द टुर्नामेन्ट’ मा सुदूरपश्चिमका ३ खेलाडी

ब्याटिङमा रनको वर्षा गर्ने, बलिङमा विपक्षीलाई धराशायी बनाउने र अलराउन्ड प्रदर्शनमार्फत टोलीको नतिजामा प्रभाव पारेका खेलाडीलाई समेटेर ‘टिम अफ द टुर्नामेन्ट’ तयार पार्ने प्रयास गरेका छौं ।

काठमाडौँ — जर्ज मुन्सीले शनिबार लुम्बिनी लायन्सविरुद्ध फाइनलमा खेलेको इनिङ्स नेपाल प्रिमियर लिग (एनपीएल) इतिहासकै उत्कृष्ट इनिङ्स हो । तर कान्तिपुर खेलकुद टिमले तयार पारेको ‘टिम अफ द टुर्नामेन्ट’ उनीबिनै रहेको छ । कारण उनले फाइनल अघि दुई इनिङ्स मात्र खेलेका थिए र त्यसमा सम्झना लायक केही गर्न सकेका थिएनन् ।

मुन्सीको प्रयासमा सुदूरपश्चिम रोयल्सले पहिलो पटक उपाधि जित्दै प्रतियोगिताको सुखद अन्त्य गर्दा व्यक्तिगत प्रदर्शनका आधारमा पनि केही खेलाडीले आफूलाई अब्बल साबित गरे । कप्तान दीपेन्द्रसिंह ऐरीसहित सुदूरपश्चिमका तीन खेलाडीले ‘टिम अफ द टुर्नामेन्ट’ मा स्थान बनाएका छन् ।

ब्याटिङमा रनको वर्षा गर्ने, बलिङमा विपक्षीलाई धराशायी बनाउने र अलराउन्ड प्रदर्शनमार्फत टोलीको नतिजामा प्रभाव पारेका खेलाडीलाई समेटेर ‘टिम अफ द टुर्नामेन्ट’ तयार पार्ने प्रयास गरेका छौं । प्रतियोगिताभरको प्रदर्शन, खेलाडीको भूमिका, टोलीको आवश्यकता र एनपीएलको खेलाडीसम्बन्धी नियमलाई आधार मानेर प्रतियोगिताको उत्कृष्ट प्लेइङ–११ तयार पारेको हो ।

यस टिमको ओपनिङ ब्याटर हुनेछन् पोखरा एभेन्जर्सका युवराज सामराले । क्यानडाका युवा ओपनर सामरा यस सिजनका सर्वाधिक प्रभावशाली ब्याटर हन् । उनले केवल चार खेलमा २ सय ९४ रन बनाउँदै प्लाटिनम क्याप जिते । विस्फोटक ब्याटिङ गरेका सामराले १ शतक र २ अर्धशतक प्रहार गरे ।

उनलाई विराटनगर किङ्सका लोकेश बमले साथ दिए । नेपाली ब्याटरमध्ये सर्वाधिक रन बनाएका बमले सात खेलमा २ अर्धशतकसहित २ सय ४२ रन जोडे । उनले प्रतियोगितामा सर्वाधिक १८ छक्का प्रहार गर्दै आफ्नो आक्रामक क्षमता देखाए । उत्कृष्ट नेपाली ब्याटरको अवार्ड जितेका लोकेश ‘टिम अफ द टुर्नामेन्ट’ का विकेटकिपर पनि हुन् ।

आँकडामा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलका लागि यो सिजन खास हुन सकेन । तर उनको नेतृत्वमा लुम्बिनीले लगातार दोस्रो फाइनल खेल्यो । ८ खेलमा १ सय ५१ रन बनाएका रोहित ‘टिम अफ द टुर्नामेन्ट’ का उपकप्तानसमेत हुन् । र, उनी यस टिमको तेस्रो नम्बरका ब्याटर हुन् ।

चितवन राइनोजका कप्तान रवि बोपाराले सात खेलमा २ सय ३८ रन बनाए । दुई अर्धशतकसहित उनले दबाबको अवस्थामा पनि संयमित ब्याटिङ गरे । मध्यक्रममा इनिङ्स सम्हाल्न सक्ने भएकाले उनी चौथो नम्बरमा उपयुक्त देखिन्छन् । उनी एनपीएल इतिहासकै सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

सुदूरपश्चिम रोयल्सलाई पहिलो पटक एनपीएल च्याम्पियन बनाएका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । ब्याटिङमा २ सय १७ रन बनाएका उनले बलिङमा ७ विकेट लिए भने फिल्डिङमा पनि महत्त्वपूर्ण योगदान दिए । तीनै क्षेत्रमा प्रभाव पार्न सक्ने दीपेन्द्र यस टिमका कप्तानसमेत हुन् ।

अलराउन्डरका हिसाबमा कर्णाली याक्सका हुसैन तलात टोलीमा रहेका छन् । कर्णालीले खास प्रदर्शन गर्न नसके पनि यी पाकिस्तानी खेलाडीले ६ खेलमा १ अर्धशतकसहित १ सय १९ रन बनाए भने आफ्नो तीव्र बलिङको दममा १० विकेट पनि हात पारे । काठमाडौं गोर्खाजका राशिद खानले यस सिजन ब्याटिङ र बलिङ दुवैमा योगदान दिए । तल्लो मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै २ अर्धशतकसहित १ सय ९८ रन बनाएका राशिदले मिडियम फास्ट बलिङबाट पनि टोलीलाई विकल्प दिए ।

लुम्बिनी लायन्सका प्रमुख स्पिनर शेर मल्लले ८ खेलमा ११ विकेट लिए । पावर प्ले र मध्य ओभरमा विपक्षी ब्याटरलाई दबाबमा राख्न सक्ने उनको क्षमताले लुम्बिनीको बलिङलाई बलियो बनाएको थियो । स्पिन बलिङका लागि उनलाई टोलीमा समावेश गरिएको छ । सुदूरपश्चिम रोयल्सका अनिल खरेलले प्रतियोगितामा १० विकेट लिए । करिब ६.४० को इकोनोमीमा बलिङ गरेका उनले मध्य ओभरमा विपक्षीको रन गति नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेले । शेर मल्लसँगै स्पिन आक्रमण सम्हाल्ने जिम्मेवारी उनलाई दिइएको छ ।

न्युजिल्यान्डका स्कट कुगेलेइनले सुदूरपश्चिम रोयल्सलाई च्याम्पियन बनाउन १० खेलमा १५ विकेट लिए । नयाँ बल र डेथ ओभरमा प्रभावकारी बलिङ गरेका उनी प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडीमध्ये दोस्रो स्थानमा रहे । तल्लो क्रममा ब्याटिङ गर्न सक्ने क्षमतासमेत भएकाले उनी टोलीका महत्त्वपूर्ण विदेशी खेलाडी हुन् ।

चितवनका रिजन ढकालले आठ खेलमा १७ विकेट लिँदै प्रतियोगिताको गोल्डेन क्याप जिते । उनी प्रतियोगिताका सर्वाधिक विकेट लिने बलर बने । स्विङ र सटीक लाइन–लेन्थमार्फत विपक्षी ब्याटरलाई समस्यामा पारेका उनी यस टिमका मुख्य फास्ट बलर हुन् ।

जनकपुर बोल्ट्सका तीव्र गतिका बलर राहुल यादवले सात खेलमा १२ विकेट लिए । उनले इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्टको उपाधिसमेत जिते । डेब्यु खेलको पहिलो बलमै विकेट लिएका राहुललाई ‘टिम अफ द टुर्नामेन्ट’ को १२औं खेलाडीमा राखेका छौं ।

प्रतियोगिताभरको व्यक्तिगत प्रदर्शन, खेलाडीको भूमिका, टोलीको सन्तुलन र एनपीएलको नियमलाई आधार मानेर तयार गरिएको यस टोलीमा केही उत्कृष्ट प्रदर्शन गरेका खेलाडी भने समावेश हुन सकेनन् । प्लेइङ ११ मा सुदूरपश्चिमका ३, लुम्बिनी र चितवनबाट २–२ तथा पोखरा, विराटनगर, कर्णाली र काठमाडौंका १–१ खेलाडीले स्थान बनाए । जनकपुरका राहुल यादव १२औं खेलाडी रहे ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

सुबास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
एनपीएल सिजन–३ : सुदूरपश्चिम च्याम्पियन, दीपेन्द्र बने प्लेयर अफ द टुर्नामेन्ट, रिजनले पाए कार

एनपीएल सिजन–३ : सुदूरपश्चिम च्याम्पियन, दीपेन्द्र बने प्लेयर अफ द टुर्नामेन्ट, रिजनले पाए कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पि...

#सुदूरपश्चिम #टुर्नामेन्ट
Compare →
Bizshala
16h ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#सुदूरपश्चिम
Compare →
Nagarik News
1d ago
मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

#सुदूरपश्चिम
Compare →
Onlinekhabar
2d ago
धनगढीमा ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ हुँदै

धनगढीमा ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ हुँदै

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा दुईदिने 'सुदूरपश्चिम साहित्य महोत्सव–२०८३' आयोजना गर्ने भएको छ । यही मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पसको परिसरमा महोत्सवम आयोजना हुँदैछ । सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता र …

#सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612