Trending
Prev Story
Next Story

फास्ट ट्र्याक निर्माण लम्बिनेमा इलामवासी चिन्तित, छिटो नयाँ ठेक्कामा जान माग

Nagarik News •
November 23, 2026 • 02:30 AM
4
4 reads 0 reactions

इलाम, पाँचथर र ताप्लेजुङको ‘कोशेढुंगा’ हुने आशा गरिएको मेची करिडोर (केचना–कञ्चनजंघा सडक)को काम वर्षौं अलपत्र पारेका निर्माण व्यवसायी अदालत गएपछि निर्माणप्रक्रिया पुनः लम्बिने सम्भावना देखिएको छ।

फास्ट ट्र्याक निर्माण लम्बिनेमा इलामवासी चिन्तित, छिटो नयाँ ठेक्कामा जान माग

इलाम, पाँचथर र ताप्लेजुङको ‘कोशेढुंगा’ हुने आशा गरिएको मेची करिडोर (केचना–कञ्चनजंघा सडक)को काम वर्षौं अलपत्र पारेका निर्माण व्यवसायी अदालत गएपछि निर्माणप्रक्रिया पुनः लम्बिने सम्भावना देखिएको छ। २ वर्षमा सक्नेगरी लागेको ठेक्काको काम ५ वर्ष बित्दा आधा पनि गर्न नसकेका निर्माण व्यवसायी सरकारले ठेक्का तोडेपछि अदालत पुगेका छन्।

इलाम–झापा फास्ट ट्र्याक पनि भनिने यो सडकको बेलासे–राकसे–गोलाखर्क खण्डको ठेक्का तोड्ने सूचना गत कात्तिक १२ मा प्रकाशित भएको थियो। लगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा ठेक्का तोड्ने निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्। इलामकै पश्चिमी क्षेत्रको दमक–चिसोपानी सडक ४ वर्षसम्म अदालती प्रक्रियाले नै अल्झिएर चरम सास्ती खेपेका इलामवासी फास्ट ट्र्याकलाई पनि त्यसैसँग तुलना गर्दै चिन्तित देखिनथालेका छन्।

मेची राजमार्गको राजदुवाली खण्ड पहिरोले बर्खामा प्रायः बन्द हुने, अन्य विकल्पसमेत नभएको र विकल्पका रूपमा रहेको यही सडक पनि निर्माण व्यवसायीको लापरबाहीले अलपत्र हुँदा दुःख भोगिरहेका मेचीवासी पुनः चिन्तामा परेका हुन्। ‘यो सडक अलपत्र हुँदा सर्वसाधारणलाई सधैं सास्ती त भइरहेकै छ, यो सडक बनाउन जति ढिलो हुन्छ, उत्ति राज्यलाई घाटा पनि छ,’ यही सडकमा पर्ने एक मुख्य पालिका माई नगरपालिकाका मेयर खम्बसिंह लिम्बूले भने, ‘यो सडक बन्दा तराई र पहाडी जिल्ला जोड्ने सडकको दूरी आधाभन्दा छोटो हुन्छ, इन्धन, भाडादर, समयलगायत धेरै कुरा बचत हुन्छ।’ उनले चाँडोभन्दा चाँडो नयाँ ठेक्काप्रक्रियामा लगेर यो सडक निर्माण गर्नुपर्नेमा जोड दिए।

‘२ वर्षमा सकिनुपर्ने यो सडकको बेलासे–गोलाखर्क खण्डको काम ५ वर्षमा आधा पनि नहुँदा मानिसले धेरै सास्ती खेपेका छन्,’ उनले भने, ‘हामी सबैले अदालतको निर्णयको सम्मान गर्नुपर्छ। तर, स्थानीय आवश्यकता हेर्दा चाहिँ नयाँ ठेक्कामा छिटोभन्दा छिटो जानुपर्नेखालको छ।’

इलाम सदरमुकामसमेत रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले यही सडकको झापा–इलामका अन्य खण्डका ठेक्का करिब–करिब काम सकिने अवस्था पुग्दा बेलासे–गोलखर्कको काम चाहिँ अलपत्र पर्नु विडम्बना भएको बताए। ‘अहिले ठेक्का तोडिएको अवस्था छ, नयाँ प्रक्रिया छिटो सुरु नगरे इलाम सदरमुकामसहित पाँचथर, ताप्लेजुङसम्मको यातायात क्षेत्र आउँदो बर्खामै तहसनहस हुने अवस्था छ,’ उनले भने, ‘सडक डिभिजनले तुरुन्त नयाँ ठेक्काप्रक्रिया थालिहालोस् भन्ने इलामवासी सबैको चाहना छ।’ उनले यो सडक इलामका लागिमात्र नभई मुख्य गरी ३ जिल्लाको ‘लाइफलाइन’ नै हुने आशा गरिएकाले पनि चाँडोभन्दा चाँडो यो सडक बनिसकोस् भन्ने सबैको माग भएको बताए।

जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले एउटा सडक २ वर्षको ठेक्का लागेर ५ वर्षमा आधा पनि काम नहुँदा उपभोक्ताले ज्यादै कष्ट भोगेको बताए। ‘हामी जनप्रतिनिधिले पनि यो बाटो निर्माणमा भएको ढिलाइमा उपभोक्ताको तर्फबाट धेरै गाली खाएका छौं,’ उनले भने, ‘पटक–पटक निर्माण व्यवसायीको ध्यानाकर्षणसमेत गराएका थियौं तर काम भएन।’

यो सडकको काम समयमै नसकिँदा स्थानीय धेरै आक्रोशितसमेत भएको स्मरण गरे। ‘अब पनि अति छिटो गरी यो सडक बनेन भने आउँदा बर्खामा विगत वर्षहरूजस्तै तराईसँग यातायात सम्पर्क हराउने खतरा छ,’ उनले भने, ‘अदालतमा मुद्दा परेको विषयमा हामीले कुनै अनुमान सकिँदैन तर स्थानीयको माग र आवश्यकता चाहिँ यो सडक छिटो बनेन भने जटिल समस्या भोग्नुपर्नेखालको छ।’ उनले दमक–चिसोपानी सडकको उदाहरण दिँदै कानुनी उल्झनले त्यो सडक समयमा नबन्दा स्थानीयले चरम समस्या झेल्नुपरेको पनि सुनाए। अहिले भने दमक–चिसोपानी सडको नयाँ ठेक्काप्रक्रिया सुरु भएको छ।

परार र पोहोर सालको असोजमा मेची राजमार्गको राजदुवालीमा पहिरो जाँदा इलाम, पाँचथर र ताप्लेजुङ तराईबाट गाडी जाने बाटो अवरोध भयो। महिनौंसम्म खाद्यान्नसहित दैनिक उपभोग्य सामान ढुवानी हुन सकेनन्। करोडौंको कृषिउपज विक्री गर्न ढुवानी गर्ने सडक नहुँदा बारीमै खेर गएको थियो। मेची राजमार्गको विकल्प हुनसक्ने केचना–कञ्चनजंघा सडक हिलाम्य भएका कारण सवारी पार हुन सकेनन्। अरू उपयुक्त विकल्पसमेत छैनन्। ‘अब बर्खा लाग्दा पनि पुरानै नियति दोहोरिने सम्भावना छ,’ पूर्वेली जिप तथा ट्याक्सी सेवा प्रालिका अध्यक्ष गृष्म सुब्बा भन्छन्, ‘आउँदो बर्खासम्ममा फास्ट ट्र्याक बनिसकेन भने पोहोर र परारभन्दा जटिल समस्या इलाम, पाँचथर र ताप्लेजुङवासीले भोग्नुपर्नेछ।’

सडक डिभिजन कार्यालयले साढे ९ किलोमिटरको यो सडकमा कालोपत्रेसम्मको काम गर्न २०७८ असार २९ मा २ वर्ष अवधिको ठेक्का लगाएको थियो। २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा लागेको ठेक्काको काम २०८३ सालको कात्तिकमा आइपुग्दा ४५.२८ प्रतिशतमात्रै भएको छ। पटक–पटक म्याद थप्दा र लिखित–मौखिक ताकिता गर्दा पनि निर्माण कम्पनीले आफ्नै प्रतिबद्धताअनुसार काम गर्न नसकेको, अब पनि पार नलाग्ने देखिएपछि ठेक्का रद्द गरेको डिभिजनले जनाएको छ।

डिभिजनका अनुसार प्रारम्भिक रूपमा ३० महिनामा सक्नुपर्ने कामलाई ३३ महिना म्याद थप गरेर कुल ६३ महिना समय दिँदा पनि ४५.२८ प्रतिशतमात्र वित्तीय प्रगति र ४७ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। निर्माण व्यवसायी स्वयंबाट ठेक्का सम्पन्न नहुने अवस्था सिर्जना भएपछि रद्द गर्नुपरेको डिभिजनको भनाइ छ। पटक–पटक ‘काम सक्छु’ भन्दै निर्माण व्यवसायीले काम झुलाएर ठेक्का अलपत्र पारेका थिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले यो खण्डको ठेक्का तोडिएको दिन (गत कात्तिक १२) सामाजिक सञ्जालमार्फत् तुरुन्तै नयाँ ठेक्काप्रक्रियामा जाने आश्वासन दिएका थिए। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘वर्षौंसम्म अलपत्र ठेक्का अब चल्दैन। अधुरो सडक निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत र बहुवर्षीय ठेक्का सहमति जुटाएर नयाँ ठेक्काप्रक्रिया शीघ्र अघि बढाइनेछ। अब अलपत्र ठेक्का तोडिनेछन्, नयाँ प्रक्रिया अघि बढ्नेछ।’ रुग्ण ठेक्का तोडेर नयाँ ठेक्का तुरुन्तै सुरु गर्ने मन्त्रीको भनाइमा स्थानीय हर्षितसमेत भएका थिए। तर, महिनादिन बित्नलाग्दासमेत नयाँ ठेक्काप्रक्रिया सुरु नहुँदा स्थानीय निराश हुन थालेका छन्।

गत असारमा इलाम आएका मन्त्री लम्सालले नै यो खण्डको ठेक्का तोड्न ठाडो निर्देशन दिएका थिए। उनको निर्देशनअनुसार सडक डिभिजनले सडक विभागमा फाइलसमेत पठाएको थियो। तर, निर्माण व्यवसायीले वर्षौं अलपत्र रहेपनि अब चाँडै काम सक्ने लिखित प्रतिबद्धता गरेपछि डिभिजनले असोज मसान्तसम्मको म्याद राखेर ‘अन्तिम मौका’ दिएको थियो।

निर्माण व्यवसायीको प्रतिबद्धताअनुसार २० दिनमा सडक हिलोरहित बनाएर असोज मसान्तमा कालोपत्रे सक्ने योजना थियो। सामान्य हिलो पुर्नेबाहेक अरू काम भएन। बरू, पुनः निर्माण पक्षले म्याद थपको निवेदन दिएको थियो निर्माण व्यवसायीको लापरबाहीकै कारण काममा ढिलाइ भएपछि विभिन्न २ आर्थिक वर्षमा यो सडकको झन्डै २० करोड रुपैयाँ फ्रिजसमेत भइसकेको थियो।

प्रकाशित: ७ मंसिर २०८३ ०८:१५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
फास्ट ट्र्याक निर्माण लम्बिनेमा इलामवासी चिन्तित, छिटो नयाँ ठेक्कामा जान माग

फास्ट ट्र्याक निर्माण लम्बिनेमा इलामवासी चिन्तित, छिटो नयाँ ठेक्कामा जान माग

इलाम, पाँचथर र ताप्लेजुङको ‘कोशेढुंगा’ हुने आशा गरिएको मेची करिडोर (केचना–कञ्चनजंघा सडक)को काम वर्षौं अलपत्र पारेका निर्माण व्यवसायी अदालत गएपछि निर्माणप्रक्रिया पुनः लम्बिने सम्भावना देखिएको छ। २ ...

#ठेक्का #व्यवसायी #लम्बिने
Compare →
Ekantipur
1d ago
वन विभागको ढिलाइले अरुण करिडोरको ठेक्का प्रभावित

वन विभागको ढिलाइले अरुण करिडोरको ठेक्का प्रभावित

वन क्षेत्रको अवस्था स्पष्ट पार्न आयोजनाले गत साउनमै पठाएको थियो पत्र, विभागबाट अहिलेसम्म जवाफ आएन

#ठेक्का
Compare →
Onlinekhabar
3d ago
कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

३ मंसिर, बाजुरा । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रका लागि दोस्रो चरणमा ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढेको छ । गत वर्ष पनि ३ अर्ब रुपैयाँभन्दा बढी लागतमा ५० …

#ठेक्का
Compare →

Related Stories

Technology
Build #2612