Trending
Prev Story
Next Story

मिठो सांस्कृतिक बिम्बमा अल्झिएको कमजोर ‘जलाकी’

Nagarik News •
November 22, 2026 • 02:10 PM
4
4 reads 0 reactions

त्रिकोणात्मक प्रेम, माया, पर्खाइ, आस्था, सम्झनालाई नै अशोक थापा मगर चलचित्र ‘जलाकी’ मार्फत सिनेमा घरमा पस्केका छन्।

मिठो सांस्कृतिक बिम्बमा अल्झिएको कमजोर ‘जलाकी’

मगर समुदायको सांस्कृतिक परम्परामा आस्था, माया, पर्खाइ र सम्झनाको प्रतीकका रूपमा ठड्याइने ढुङ्गाको स्तम्भलाई ‘जलाकी’ भनिन्छ।

यही सांस्कृतिक बिम्बलाई केन्द्रमा राखेर निर्देशक अशोक थापा मगरले चलचित्र ‘जलाकी’ लाई पर्दामा उतारेका छन्। त्रिकोणात्मक प्रेम, वर्षौंको पर्खाइ, आस्था र सम्झनाका तन्तुहरू जोडेर बुनिएको यो चलचित्रले बाहिरबाट हेर्दा एउटा सामान्य प्रेमकथाको छनक दिन्छ। तर भित्र पस्दै जाँदा यसले नेपाली समाजको एक तीतो यथार्थलाई समेत छुन खोजेको छ।

चलचित्रको प्रचारप्रसारको शैली हेर्दा धेरै दर्शकलाई यो कलेज पढ्ने युवा-युवतीको हलुका प्रेमकथा मात्र होला भन्ने भान पर्न सक्छ। तर, पर्दामा कथाको उठान अलि फरक धरातलबाट हुन्छ।

आजको नेपाली समाजमा आर्थिक अवस्था सुधार्न विदेश नै जानुपर्छ, स्वदेशमा बसेर केही हुँदैन भन्ने जुन निराशाजनक भाष्य निर्माण भइरहेको छ, ‘जलाकी’ ले त्यही मनोविज्ञानलाई आफ्नो कथाको प्रस्थानबिन्दु बनाएको छ।

खाडी मुलुक नै किन नहोस्, केही गर्नका लागि देश छाड्नैपर्छ भन्ने युवापुस्ताको सोच कसरी नेपाली समाजको नियति र राष्ट्रका लागि घातक बन्दै गएको छ भन्ने यथार्थबाट चलचित्रको यात्रा सुरु हुन्छ।

कथाको सुरुवात उषा खड्कीले निभाएको आमाको पात्रबाट हुन्छ। घरको आर्थिक अवस्था उकास्ने र छोरी लिसारा अर्थात् उपासना सिंह ठकुरीको भविष्य उज्यालो बनाउने सपना साँचेर उनी वैदेशिक रोजगारीमा जान्छिन्।

तर, परदेशको संघर्षले उनको जीवनमा खुसी होइन, त्रासदी निम्त्याउँछ। विदेशमा जुन घरमा उनी हेरचाहको काम गरिरहेकी हुन्छिन्, त्यहीँका घरधनीबाट बलात्कृत हुन पुग्छिन्।

केही वर्षपछि गर्भवती अवस्थामा स्वदेश फर्किएकी उनलाई आफ्नै परिवारले अस्वीकार गर्छ। समाज र परिवारको तिरस्कार सहन नसकेर उनी अन्ततः आत्महत्याको बाटो रोज्न बाध्य हुन्छिन्।

आमाको यो कारुणिक अवसानसँगै कथाको मुख्य धार छोरी लिसारातर्फ मोडिन्छ। आमाको मृत्युपछि मामाघरको आश्रयमा हुर्किएकी लिसाराको बाल्यकालदेखि युवावस्था, उनको प्रेम, पर्खाइ र जीवनका उतारचढाववरिपरि नै ‘जलाकी’ को बाँकी कथा घुमेको छ।

मगर र गुरुङ समुदायको सांस्कृतिक पृष्ठभूमिमा निर्माण भएका कतिपय नेपाली चलचित्रहरू केवल समुदाय विशेषको चिनारी वा प्रचारमा मात्र सीमित देखिन्छन्। त्यसको तुलनामा ‘जलाकी’ ले समुदायभन्दा बाहिरका दर्शकलाई समेत अपरिचित रहेको एउटा सुन्दर सांस्कृतिक शब्द र त्यसको मर्मलाई फरक विषयवस्तुसँग जोड्ने प्रयास गरेको छ।

विषय चयनका हिसाबले निर्देशकको सोच सराहनीय छ। तर, जब त्यही सोचलाई पर्दामा विश्वसनीय ढंगले पस्कने कुरा आउँछ, निर्देशक अशोक थापा मगर धेरै ठाउँमा चुकेको महसुस हुन्छ।

चलचित्रको सबैभन्दा ठूलो कमजोरी पात्रको चरित्र निर्माणमा देखिएको लापरबाही हो। कथाको मागअनुसार पात्रको पहिरन, शृङ्गार र शारीरिक हाउभाउमा ध्यान नदिँदा धेरै दृश्यहरू स्वाभाविक लाग्दैनन्।

नायकलाई जस्तोसुकै परिस्थितिमा पनि ‘हिरो’ जस्तै चिटिक्क देखाउने पुरानै प्रवृत्ति यहाँ हाबी छ। उदाहरणका लागि, अभिनेता सोनम तोप्देन (नजीम) एक वर्षपछि बिरामी परेर स्वदेश फर्किएको प्रसङ्गलाई लिन सकिन्छ।

बिरामी भएर फर्किएको मान्छेमा न त शारीरिक कमजोरीको छनक छ, न त अनुहारमा पीडा वा थकानको भाव नै। उनी अचानक चिटिक्कको पहिरनमा लिसाराको सामुन्ने उभिन्छन्। यस्तो अस्वाभाविक प्रस्तुतिले दर्शकलाई पात्रको दुःख र संवेदनामा भिज्न दिँदैन।

यस्तै असावधानी सहायक पात्रको हकमा पनि दोहोरिएको छ। भेडाबाख्रा चराउने गोठालोको जीवनशैली र पहिरन कस्तो हुन्छ भन्ने सामान्य यथार्थलाई समेत निर्माण पक्षले बेवास्ता गरेको छ।

नजीमका बुबाको भूमिकामा देखिएका बुद्धि तामाङको सफाचट र चिटिक्क परेको पहिरनले उनी कतैबाट पनि लेकबेँसी गर्ने भेडा गोठालो जस्तो देखिँदैनन्। जब पर्दाका पात्र नै आफ्नो पेसा र परिवेशसँग मेल खाँदैनन्, तब दर्शकलाई कथाको संसारमा बाँधिराख्न कठिन हुन्छ।

प्रमुख पात्रका रूपमा स्थापित गर्न खोजिएकी लिसाराको चरित्र चित्रण पनि पर्दामा निकै फितलो लाग्छ। मुख्य पात्रमा हुनुपर्ने सङ्घर्ष, द्वन्द्व र चारित्रिक अभाव खट्किन्छ।

कथामा लिसाराले चाहेका प्रायः कुराहरू बिनाकुनै ठूलो सङ्घर्ष सहजै प्राप्त गरेको देखाइँदा उनको पात्रले दर्शकमा अपेक्षित प्रभाव छाड्न सक्दैन। यसका साथै निर्देशक मुख्य कथामा अडिग रहनुभन्दा अन्य झिनामसिना विषयवस्तुमा बढी अल्मलिएको देखिन्छ।

चलचित्रभित्र यति धेरै स-साना उपकथाहरू कोचिएका छन् कि दर्शक नै अलमलमा पर्छन् आखिर कुन पात्रको पीडामा डुब्ने र कसको कथालाई पछ्याउने ? कमजोर पटकथा, चोटिलो र स्मरणीय संवादको अभाव, अनावश्यक स्थानमा राखिएका गीतहरू र पटकपटक दोहोरिने अनावश्यक क्लोजअप सटहरूले चलचित्रको गतिलाई सुस्त बनाइदिएका छन्।

कतिपय ठाउँमा कथाको प्रवाहलाई नै अवरुद्ध पार्ने गरी गीत आउँदा दर्शकलाई झर्को लाग्ने अवस्थासमेत सिर्जना हुन्छ।

अभिनयको कसीमा हेर्दा ‘जलाकी’ मा कलाकारहरूको प्रस्तुति मिश्रित देखिन्छ। चलचित्रको भावनात्मक आधारलाई बलियो बनाउने काम उषा खड्कीले गरेकी छन्। आर्थिक अवस्था सुधार्न बिदेसिनुपरेको बाध्यता, परदेशमा भोगेको पीडा र स्वदेश फर्किएपछि परिवारबाटै सहनुपरेको अवहेलनालाई उनले अत्यन्त स्वाभाविक रूपमा पर्दामा उतारेकी छन्। सीमित समयमै भए पनि उनको पात्र र अभिनयले दर्शकको मन चसक्क छुन्छ।

यता, मुख्य भूमिका लिसारामा देखिएकी उपासना सिंह ठकुरीको अभिनय भने अपेक्षाअनुसार प्रभावकारी हुन सकेको छैन। चलचित्रको केन्द्रमा रहेकी उनको प्रस्तुति धेरै दृश्यमा कमजोर देखिन्छ र उनलाई आफ्नो अभिनय निखार्न अझै मेहनतको आवश्यकता रहेको झल्किन्छ।

नजीमको भूमिकामा रहेका गायक तथा अभिनेता सोनम तोप्देनले पढाइ सकेर आर्थिक अवस्था सुधार्न बिदेसिनुपरेको युवाको प्रतिनिधित्व गरेका छन्। तर, पर्दामा उनको अभिनय स्वाभाविकभन्दा बढी नाटकीय लाग्छ, जसले गर्दा उनको पात्रसँग दर्शकको भावनात्मक तादात्म्य बलियो बन्न सक्दैन।

यसै चलचित्रमार्फत अभिनय यात्रा सुरु गरेकी नवअभिनेत्री साहारा हाङमा लिम्बू अस्मिताको भूमिकामा देखिएकी छन्। डेब्यु चलचित्रका हिसाबले उनको प्रयास देखिन्छ, तर संवाद प्रस्तुति र भावभंगीमा अझै धेरै सुधार गर्नुपर्ने ठाउँ छ।

मुख्य पात्रहरूमा केही कमजोरी देखिए पनि चलचित्रका अन्य सहायक कलाकारहरूले भने आफ्नो भूमिकालाई न्याय गर्दै सन्तोषजनक अभिनय प्रस्तुत गरेका छन्।

निर्देशन र पटकथामा थुप्रै कमजोरीहरू रहे पनि ‘जलाकी’ पूर्ण रूपमा निराश पार्ने चलचित्र भने होइन। यसका केही सबल पक्षहरूले दर्शकलाई अन्त्यसम्म बाँधिराख्न मद्दत गर्छन्।

विशेषगरी उषा खड्कीको कथाले चलचित्रलाई एउटा बलियो भावनात्मक आधार दिएको छ। वैदेशिक रोजगारीको पीडा र त्यसले नेपाली परिवारमा पारेको असरलाई चलचित्रले इमानदारीपूर्वक छोएको छ। त्यस्तै, लिसारा र नजीमको प्रेममा देखाइएको वर्षौँको पर्खाइ, धैर्य र एकअर्काप्रतिको अटुट विश्वास हेर्न लायक छ।

प्राविधिक पक्षमा चलचित्रको छायाङ्कन र दृश्य संरचना आकर्षक बनेको छ। स्थान विशेषको सौन्दर्यलाई क्यामेराले राम्ररी कैद गरेको छ भने चलचित्रका गीतसङ्गीत कर्णप्रिय र मिठा छन्।

समग्रमा, माया, सम्झना, बिछोड र परदेशिनुको पीडालाई एउटै मालामा उन्न खोजिएको ‘जलाकी’ ले एउटा राम्रो विषयवस्तु उठाएर पनि बलियो पटकथा र कसिलो निर्देशनको अभावमा उत्कृष्ट बन्ने अवसर गुमाएको छ।

यद्यपि, नेपाली समाजको कथा, मिठा गीतसङ्गीत र सामान्य मनोरञ्जनका लागि यो चलचित्र एक पटक हेर्न योग्य छ।

प्रकाशित: ६ मंसिर २०८३ १९:५५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
‘जलाकी’मा प्रेमभन्दा गहिरो छ प्रतीक्षा र सम्झनाः उपासना सिंह ठकुरी

‘जलाकी’मा प्रेमभन्दा गहिरो छ प्रतीक्षा र सम्झनाः उपासना सिंह ठकुरी

काठमाडौं । प्रेम केवल पाउनुको नाम होइन, कसैको प्रतीक्षामा जीवन बिताउनु र उसको सम्झनालाई मनमा सँगालेर बाँच्नु पनि प्रेमकै एउटा रूप हो। यस्तै प्रेम, त्याग, विछोड, प्रतीक्षा र सम्झनालाई मगर समुदायको ...

#जला #सम्झना
Compare →
Ekantipur
12h ago
फिल्म ‘जलाकी’ : बासी कथा, बल्झिएको पटकथा

फिल्म ‘जलाकी’ : बासी कथा, बल्झिएको पटकथा

‘जलाकी’ पनि उही कमजोर पटकथाको मारमा परेको छ। फिल्ममा दर्शकलाई आकर्षित गर्ने न चुस्त पटकथा छ, न त विश्वस्त पार्ने कथा नै । न पात्रहरूको उद्देश्य, न रूपान्तरण नै । छन् त केवल शृङ्खलाबद्ध पट्यारलाग्दो घटनाक्रम ।

#जला
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612