Trending
Prev Story
Next Story

राते दाइमा अस्ताए ‘राते काइँला’

Nagarik News •
November 19, 2026 • 11:00 AM
3
3 reads 0 reactions

नेपाली चलचित्र इतिहासमा खलनायकको परिभाषा नै बदल्न सफल कलाकार सुनील थापालाई दर्शकले फेरि एकपटक ‘राते काइँला’कै रूपमा पर्दामा देख्न पाउने भएका छन्।

1 / 3
Swipe Photos

नेपाली चलचित्र इतिहासमा खलनायकको परिभाषा नै बदल्न सफल कलाकार सुनील थापालाई दर्शकले फेरि एकपटक ‘राते काइँला’कै रूपमा पर्दामा देख्न पाउने भएका छन्।

२०४५ सालको माघमा प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित चर्चित चलचित्र ‘चिनो’को राते काइँला पात्र आज पनि दर्शकको स्मृतिमा उत्तिकै ताजा छ। नेपाली सिनेमामा खलनायकलाई समेत नायकसरह लोकप्रियता दिलाउने पात्रका रूपमा राते काइँलालाई लिइन्छ।

संयोग कस्तो भने, नेपाली चलचित्रमा राते काइँलाको बलियो छवि निर्माण गरेका सुनील थापाले आफ्नो अन्तिम चलचित्रमा पनि राते दाइकै भूमिका निर्वाह गरेका छन्। गत वर्ष माघ २४ गते हृदयघातका कारण निधन भएका थापाको अभिनय भने नयाँ चलचित्र ‘हिमालयन गोल्ड’मार्फत राते दाइ मार्फत् दर्शकमाझ शुक्रबारदखि सिनेमा हलमा प्रदर्शनमा आउनेछ।

सानातिना भूमिकादेखि मुख्य पात्रसम्म करिब ३०० नेपाली चलचित्रमा अभिनय गरेका थापा नेपाली चलचित्रका सफल कलाकारमध्ये एक हुन्। उनले बलिउडका केही चलचित्रमा समेत अभिनय गरेका थिए। उनले निर्वाह गरेका अधिकांश भूमिकाले दर्शकमाझ छुट्टै छाप छाड्न सफल भएका छन्।

सन् १९५७ मे १९ मा दाङ जिल्लामा जन्मिएका थापाले नेपाली चलचित्र क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका थिए। विशेषगरी ‘चिनो’मा राते काइँलाको भूमिकाले उनलाई नेपाली सिनेमाका चर्चित खलनायकका रूपमा स्थापित गरायो। उनको संवाद बोल्ने शैली, शारीरिक हाउभाउ र अभिनयले राते काइँलालाई नेपाली चलचित्रको अविस्मरणीय पात्र बनाएको थियो।

थापाले आफ्नो अभिनय यात्रामा ‘चिनो’, ‘राँको’, ‘सपना’, ‘देउकी’, ‘ठूल्दाइ’, ‘आगो’ र ‘तँ त सारै बिग्रिस् नि बद्री’ लगायतका चर्चित नेपाली चलचित्रमा काम गरेका छन्।

‘एक दूजे के लिए’मार्फत भारतीय चलचित्र क्षेत्रमा देखिएका उनी त्यसपछि ‘मानव हत्या’, ‘अलबेला’ र ‘मेरी कोम’लगायतका चलचित्रमा प्रस्तुत भए। ‘मेरी कोम’मा गरेको अभिनयले उनलाई अन्तर्राष्ट्रिय दर्शकमाझ थप परिचित गराएको थियो। उनले केही भोजपुरी चलचित्रमा समेत अभिनय गरेका थिए।

‘चिनो’ प्रदर्शनमा आएको करिब ३७ वर्षपछि निर्देशक तथा लेखक धीराज राजवंशीले सुनील थापालाई पुनः राते दाइकै भूमिकामा प्रस्तुत गर्दै ‘हिमालयन गोल्ड’ निर्माण गरेका छन्।

लामो समयदेखि हिमाली क्षेत्रका मानिसहरूको जीविकोपार्जनसँग जोडिएको यार्सागुम्बाको महत्व, यसको खोजी, संकलनको मौसममा परिवारले गर्ने संघर्ष र यार्सागुम्बा प्राप्तिका लागि हुने जोखिमलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ।

यार्सागुम्बा संकलन गरेर फर्किने क्रममा लुटेरा समूहले आक्रमण गरी बाबुआमा र भाइको हत्या गरेपछि सुरु हुने सोनाम (परीक्षा लिम्बू) को संघर्ष चलचित्रको केन्द्रमा छ। शारीरिक शक्तिभन्दा भावनात्मक बुद्धिमत्ताको प्रयोग गर्दै सोनामले चार जना खलनायकलाई एकअर्काविरुद्ध उभ्याएर बदला लिने प्रयास गर्छिन्।

लुटेरा समूहको नेतृत्व सुनील थापाले गरेका छन्। चलचित्रमा उनका सहयोगीका रूपमा प्रकाश (कर्मा शाक्य), दीपक (साजन थापा मगर) र सुनील (राहुल मुखिया)लाई प्रस्तुत गरिएको छ। यी चारै कलाकारको अभिनयले चलचित्रमा कतै आक्रोश, कतै हास्य र कतै दुःखको वातावरण सिर्जना गरेको छ।

निर्देशक राजवंशीले चलचित्रमा सुनील थापालाई पुरानै राते काइँलाको झल्को दिने गेटअपमा प्रस्तुत गरेका छन्। उनको संवाद र बोल्ने शैलीले पनि दर्शकलाई ‘चिनो’को राते काइँलाको सम्झना दिलाउँछ।

चलचित्रका मुख्य खलनायक रहेका राते दाइलाई निर्देशकले मध्यन्तरमै मारिदिन्छन्। त्यसैले दर्शकले उनलाई पूरै चलचित्रभरि देख्न पाउने छैनन्। यद्यपि, बाँकी लुटेरा र सोनामबीचको सम्बन्धलाई क्रमशः विकास गर्दै एकपछि अर्को खलनायकको अन्त्यसँगै निर्देशकले कथा टुंग्याएका छन्।

चलचित्रले गाउँमा रहेका अवसरवादी पात्रहरूको चरित्र, यौन चाहना र आमाबुबाको संरक्षणबाट वञ्चित बालबालिकाको असुरक्षित अवस्थालाई समेत चित्रण गर्ने प्रयास गरेको छ।

चलचित्रको सम्पूर्ण छायांकन माथिल्लो मुस्ताङमा गरिएको हो। समुद्री सतहबाट ३ हजार ८ सय मिटरभन्दा बढी उचाइमा रहेका मुक्तिनाथ, लोमान्थाङ, छुसाङ गुफा, भिन्ताङ र अन्नपूर्ण आधार शिविरसहित छवटा स्थानमा चलचित्र खिचिएको निर्देशक राजवंशीले बताएका छन्।

माथिल्लो मुस्ताङका हिउँले ढाकिएका हिमाल, समथर फाँट र त्यहाँको मौलिक जीवनशैलीले चलचित्रलाई थप आकर्षक बनाएको छ। प्राकृतिक सौन्दर्यसँगै हिमाली क्षेत्रका कठिन भौगोलिक अवस्थालाई पनि चलचित्रमा समेटिएको छ।

चलचित्रको एउटा फरक पक्ष भनेको यसमा कुनै पनि गीतसंगीत समावेश गरिएको छैन। नायिका पनि परम्परागत अर्थमा नायकसरह शक्तिशाली पात्रका रूपमा प्रस्तुत भएकी छन्। चलचित्रले परम्परागत नायकको अवधारणाभन्दा फरक कथा प्रस्तुत गर्न खोजेको देखिन्छ।

यद्यपि, गीतसंगीत मन पराउने दर्शकका लागि चलचित्र केही खल्लो लाग्न सक्छ। पहिलो भागका अधिकांश संवादमा अश्लील शब्दको प्रयोग भएकाले कतिपय दृश्य असहजसमेत महसुस हुन सक्छन्।

‘हिमालयन गोल्ड’ सुनील थापाको अन्तिम चलचित्र बन्न पुगेको छ। चलचित्रको सुटिङ र डबिङ सकिएपछि हृदयघातका कारण उनको निधन भएको थियो। संयोगवश, नेपाली चलचित्र क्षेत्रमा खलनायकको सशक्त छवि निर्माण गरेका थापा आफ्नो अन्तिम चलचित्रमा पनि राते काइँलाकै नामसँग मिल्दोजुल्दो राते दाइको भूमिकामा देखिँदै अस्ताएका छन्।

‘चिनो’को राते काइँलादेखि ‘हिमालयन गोल्ड’को राते दाइसम्मको उनको अभिनय यात्रा नेपाली चलचित्र इतिहासमा अविस्मरणीय रहनेछ। पर्दामा उनले निर्वाह गरेका पात्र र दर्शकको मनमा छाडेको प्रभावले उनलाई नेपाली सिनेमामा सधैँ जीवित राख्नेछ।

प्रकाशित: ३ मंसिर २०८३ १६:४५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
थापा अब चलचित्र निर्माणमा

थापा अब चलचित्र निर्माणमा

काठमाडौँ, कात्तिक २१ गते । पेसाले व्यवसायी तर कला र चलचित्र क्षेत्रमा समेत आफ्नो रुचि र सिर्जनशीलतालाई अघि बढाइरहेका कलाकार मदन थापा पछिल्लो समय चलचित्र निर्माणको तयारीमा जुट्नुभएको छ । जीवनमा सङ्घ...

#चलचित्र #थापा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612