बाँकेको नेपालगन्ज रंगशालामा पौडी र सुटिङ तथा बर्दियाको भुरीगाउँस्थित कभर्डहलमा खोखो र गुलरियास्थित कभर्डहलमा टेनिस प्रतियोगिता सञ्चालन गरिनेछ ।
बुटवल — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशमा हुने चार खेलको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने प्रतियोगिताअन्तर्गत पौडी, सुटिङ (निसानेबाजी), खोखो र टेनिस खेल लुम्बिनी प्रदेशका बाँके र बर्दियामा सञ्चालन हुन लागेका हुन् । चारवटै खेलका लागि पूर्वाधार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
बाँकेको नेपालगन्ज रंगशालास्थित पौडीपोखरीमा पौडी र रंगशालामै सुटिङ प्रतियोगिता हुनेछन् । बर्दियाको भुरीगाउँस्थित कभर्डहलमा खोखो र गुलरियास्थित कभर्डहलमा टेनिस प्रतियोगिता सञ्चालन हुनेछन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीका अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक खेल पूर्वाधारको मर्मत तथा निर्माणको काम सकेर व्यवस्थापनको काम अन्तिम चरणमा पुर्याइएको हो ।
नेपालगन्ज रंगशालास्थित पौडीपोखरीमा रङरोगन, टायल परिवर्तन र मर्मतसम्भारको काम सकिएको छ । पोखरीको मर्मतको काम पनि अन्तिम अवस्थामा पुगेको छ । बाँकी छिटफुट मर्मत र आवश्यक रङरोगनका काम भइरहेको छ । त्यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित भुरीगाउँको कभर्डहलमा खोखो तथा गुलरियाको कभर्डहलमा टेनिस प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारीका सबै काम सकिएका छन् । दुवै खेलस्थलमा व्यवस्थापनको काम भइरहेको छ ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतमले नेपालगन्जमा मंसिर ८ गतेदेखि पौडी र मंसिर १६ गतेदेखि सुटिङ प्रतियोगिता सुरु हुने भएकाले तयारी तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताए । ‘पौडीपोखरी मर्मतको काम सकेर निरीक्षण भइरहेको छ,’ उनले भने, ‘सुटिङ रेन्जका बिग्रिएका उपकरण मर्मतको काम पनि अन्तिम अवस्थामा पुगेको छ ।’ सुटिङ रेन्जका मर्मत गर्नुपर्ने १० वटा उपकरणका लागि आवश्यक पाटपुर्जा विदेशबाट मगाइएको र सामान जडान गरेपछि प्रतियोगिताका लागि रेन्ज तयार हुने उनले बताए ।
त्यस्तै, बर्दियाको भुरीगाउँस्थित कभर्डहलमा मंसिर १९ देखि २३ गतेसम्म खोखो र गुलरियास्थित कभर्डहलमा मंसिर ८ देखि १४ गतेसम्म टेनिस प्रतियोगिता हुनेछ । राष्ट्रिय प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट कात्तिक २० र २१ गते बुटवल, नेपालगन्ज र बर्दियामा खेलाडी छनोट प्रतियोगिता भएको थियो । त्यसमा बास्केटबल (महिला तथा पुरुष), टेनिस, पौडी, सुटिङ, भारोत्तोलन, जिम्न्यास्टिक र आर्चरी खेलका लागि खेलाडी छनोट गरिएको परिषद्का प्रशासन प्रमुख अमृत केसीले बताए ।
राष्ट्रिय प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुनेछन् । सहभागी टोलीले खेलाडी छनोट गरिसकेको लुम्बिनी प्रदेश खोखो संघका महासचिव तथा प्रशिक्षक खगेन्द्र शाहीले बताए । खोखोका लागि निर्माण गरिएको भुरीगाउँको कभर्डहलमा म्याटसहितका सुविधा छन् । हलको रङरोगन तथा मर्मतसम्भार पूरा भएको ठाकुरबाबा नगर खेलकुद विकास समितिका अध्यक्ष तीर्थबहादुर खड्काले बताए ।
‘बत्ती तथा अन्य आवश्यक व्यवस्थापनको काम सबै सकिएको छ,’ उनले भने, ‘अब हामी खेलाडी र अतिथि स्वागतको तयारीमा छौं ।’ बर्दियामा हुने दुवै खेल व्यवस्थित रूपमा सम्पन्न गर्न खेलकुद विकास समिति, स्थानीय सरकार, लुम्बिनी खेलकुद परिषद् र राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर काम भइरहेको उनले बताए ।
मंसिर ८ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न विधाका खेल सुरु हुनेछन् । प्रतियोगिताको उद्घाटन भने मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ । प्रतियोगितामा ३२ खेलका ३८४ विधा समावेश छन् । सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।