Trending
Prev Story
Next Story

कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ : कहाँ पुग्यो तयारी ?

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions 4 comments

६ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुदको महाकुम्भका रूपमा हेरिएको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, …

1 / 10
Swipe Photos

६ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुदको महाकुम्भका रूपमा हेरिएको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास परिषद्, स्थानीय तह, निजी क्षेत्र र सुरक्षा निकाय जुटेका छन् ।

प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । तर मुख्य खेलहरू मंसिर ८ गतेदेखि नै सुरु हुनेछन् । मंसिर २७ गते सोही रङ्गशालामा समापन समारोह आयोजना गरिने छ ।

प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । ३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । कूल एक हजार ३३७ पदकका लागि हुने प्रतिस्पर्धामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य पदक समावेश छन् ।

प्रतियोगितालाई कर्णालीले खेलकुद प्रतिस्पर्धा र पदक जित्ने अवसरका रूपमा मात्रै लिएको छैन । प्रदेशको पहिचान, संस्कृति, पर्यटन, आर्थिक गतिविधि र व्यवस्थापकीय क्षमता देशभर चिनाउने अवसरका रूपमा लिएको छ । त्यसैले प्रतियोगिताको तयारीमा मुख्यमन्त्री मंगलबहादुर शाही स्वयं सक्रिय देखिएका छन् ।

मुख्यमन्त्री शाहीको सक्रियता, तयारीलाई अन्तिम रूप दिँदै सरकार

दशौँ राष्ट्रिय खेलकुदको मिति नजिकिएसँगै मुख्यमन्त्री शाही विभिन्न तयारी बैठक, सुरक्षा समन्वय र व्यवस्थापनसम्बन्धी छलफलमा सहभागी हुँदै आएका छन् । खेलस्थल, खेल सामग्री, खेलाडीको पोसाक, आवास, खानपान, यातायात, स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छ ।

‘पूर्वाधार सामान्य मर्मत गर्नेबाहेक सबै खेल स्थान प्रतियोगिताका लागि तयार भइसकेका छन् । कतिपय खेल सामग्री आइसकेका छन्, कति आउने क्रममा छन्,’ मुख्यमन्त्री शाहीले भने ।

खेलस्थल व्यवस्थापन, प्रकाशको व्यवस्था, खेलाडीको पोसाक तथा अन्य प्राविधिक कामलाई समयमै सम्पन्न गर्ने सरकारको योजना छ । प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक र व्यवस्थापकको आवास, खानपान तथा यातायात व्यवस्थापनका लागि स्थानीय तह र निजी क्षेत्रसँग समन्वय भइरहेको छ ।

मुख्यमन्त्री शाहीले प्रतियोगिताको सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन सुरक्षा निकायलाई स्पष्ट जिम्मेवारीसहित परिचालन गर्न निर्देशन दिएका छन् ।

स्वीकृत बजेट, हालसम्मको खर्च र अपुग रकमको विवरणसहित प्रस्ताव पेस गर्न निर्देशन दिँदै आवश्यक खर्चका लागि प्रदेश सरकार तयार रहेको उनले बताएका छन् । तर कुन शीर्षकमा कति रकम आवश्यक हो भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

करिब १० हजार दर्शक क्षमता रहेको प्रदेश रङ्गशालामा क्षमताभन्दा बढी दर्शक प्रवेश गराउन नहुने भन्दै उनले प्रवेश पास वितरण व्यवस्थित गर्न, प्रवेश तथा बाहिरिने मार्गको व्यवस्थापन गर्न र उद्घाटन तथा समापन समारोहको प्रत्यक्ष प्रसारण अन्य स्थानमा समेत गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

उद्घाटनमा १० जिल्लाको संस्कृति, राउटे समुदायको नाचको आकर्षण

दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोहलाई यसपटक कर्णालीको मौलिकता र सांस्कृतिक विविधता प्रदर्शन गर्ने मञ्चका रूपमा तयार पारिँदै छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दका अनुसार उद्घाटन तथा समापन समारोहमा कर्णालीका १० वटै जिल्लाको पहिचान झल्किने सांस्कृतिक झाँकी, परम्परागत नाचगान, बाजागाजा, भेषभूषा र मौलिक प्रस्तुतिहरू समेट्ने योजना बनाइएको छ ।

विशेषगरी कर्णालीको मौलिक संस्कृति बोकेको राउटे समुदायको नाचलाई पनि उद्घाटन समारोहको आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ । विभिन्न जिल्लाका सांस्कृतिक प्रस्तुतिका लागि तीनदेखि चार मिनेटसम्मको समय छुट्याउने योजना रहेको चन्दले बताएका छन् ।

‘उद्घाटन समारोहमा कर्णालीका सबै जिल्लाको प्रतिनिधित्व होस् भन्ने हाम्रो चाहना हो,’ चन्दले भनेका छन्, ‘यहाँको संस्कृति, भेषभुषा, बाजागाजा र मौलिक प्रस्तुतिमार्फत कर्णालीको पहिचान देखाउन खोजेका छौँ ।’ उद्घाटन समारोहलाई थप आकर्षक बनाउन आतसबाजी र प्याराग्लाइडिङ लगायतका प्रदर्शन समेट्ने प्रस्तावसमेत गरिएको छ । यद्यपि, यी कार्यक्रमको अन्तिम टुंगो लाग्न बाँकी रहेको सदस्यसचिव चन्दले बताएका छन् ।

खेलाडी टोलीको मार्चपास, राष्ट्रिय झण्डा तथा प्रतियोगिताको औपचारिक प्रस्तुति, सांस्कृतिक झाँकी र औपचारिक उद्घोषण उद्घाटन समारोहका मुख्य पक्ष हुनेछन् । समारोहको अन्तिम कार्यक्रम तालिका भने आयोजकले सार्वजनिक गर्न बाँकी छ ।

यसरी उद्घाटनलाई खेलकुदको औपचारिक सुरुआतमा मात्रै सीमित नगरी कर्णालीका १० जिल्लाको कला, संस्कृति, रहनसहन र पहिचान देशभर चिनाउने अवसरका रूपमा उपयोग गर्न खोजिएको छ ।

३२ खेल सात जिल्लामा, सुर्खेतमा २३ खेल

प्रतियोगिताका ३२ खेल सात जिल्लामा सञ्चालन हुनेछन् । सुर्खेतमा सबैभन्दा धेरै २३ खेल आयोजना हुनेछन् । कर्णालीका दैलेख, कालीकोट, सल्यान र पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा खेल सञ्चालन हुनेछन् ।

बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस प्रतियोगिता सञ्चालन हुनेछन् । नेपालगञ्ज रङ्गशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ खेल हुनेछन् । बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित भुरीगाउँमा खोखो र गुलरियामा टेनिस खेल सञ्चालन गरिने छ ।

कर्णालीका जिल्लाहरूमा पनि उपलब्ध खेल पूर्वाधारका आधारमा खेल सञ्चालन गर्ने व्यवस्था गरिएको छ । दैलेख, कालीकोट, सल्यान र पश्चिम रुकुममा खेल आयोजना गरिँदै छ । प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सञ्चालन हुनेछन् । आयोजकका अनुसार उद्घाटनअघि विभिन्न १० खेल सुरु हुनेछन् ।

दुई हजार सुरक्षाकर्मी, १५ खेलस्थलमा सीसीटीभी निगरानी

प्रतियोगितामा देशभरबाट खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक, अतिथि र दर्शक आउने भएकाले सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार प्रतियोगिताको सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । प्रदेशमा उपलब्ध सुरक्षाकर्मीमध्ये करिब ७० प्रतिशत परिचालन गर्ने र आवश्यक परे रिजर्भ टोलीसमेत खटाउने योजना छ । प्रतियोगिताका १५ खेलस्थलमा सीसीटीभीमार्फत निगरानी गरिने छ । वीरेन्द्रनगरका मुख्य चोक तथा बजार क्षेत्रमा समेत २०० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

भिड व्यवस्थापन, ट्राफिक नियन्त्रण, पार्किङ, खेलाडी तथा पदाधिकारीको आवागमन, खेलस्थलको सुरक्षा र सम्भावित विवाद व्यवस्थापनका लागि छुट्टाछुट्टै जिम्मेवारी तोक्ने तयारी गरिएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्र सापकोटाले खेलाडी तथा पदाधिकारीको आवास, आवागमन, दर्शक व्यवस्थापन, ट्राफिक र पार्किङलाई सुरक्षा योजनामा समेट्नुपर्ने बताएका छन् । खेलाडी तथा दर्शकको स्वास्थ्य सुरक्षाका लागि अस्पताल र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने, आकस्मिक उपचार तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा पनि छलफल भइरहेको छ ।

प्रदेश रङ्गशाला निर्माण कम्पनीबाट सरकारको मातहतमा हस्तान्तरण मंसिर ७ गते गर्ने तयारी गरिएको छ । प्रतियोगिता आयोजनाका लागि सरकारले ४४ करोड १० लाख रुपैयाँ विनियोजन गरेको र राष्ट्रिय खेलकुद परिषद्ले करिब ७२ करोड रुपैयाँ आवश्यक पर्ने प्रस्तावसहित काम गरिरहेको छ ।

११ टोली, १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा

दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनएका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ३२ खेलका ३८४ इभेन्ट्समा कूल एक हजार ३३७ पदक वितरण गरिने छ । जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य पदक छन् ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा ७४० खेलाडी सहभागी हुनेछन् । उनीहरूमध्ये ३९४ महिला र ३४६ पुरुष खेलाडी रहने छन् । खेलाडीका अतिरिक्त प्रशिक्षक, व्यवस्थापक, निर्णायक र प्राविधिक जनशक्तिसमेत परिचालन हुनेछन् । प्रतियोगिताका लागि २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक तथा ३४९ स्थानीय सहयोगी परिचालन हुनेछन् ।

कर्णालीको अर्थतन्त्र र पर्यटनमा नयाँ अवसर

दशौँ राष्ट्रिय खेलकुदलाई कर्णालीको आर्थिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा पनि हेरिएको छ । प्रतियोगितामा सहभागी हुन देशका विभिन्न स्थानबाट खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक, अतिथि र दर्शक आउने भएकाले होटल, रेस्टुरेन्ट, यातायात, खाद्यान्न तथा अन्य व्यवसायमा कारोबार बढ्ने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले प्रतियोगिताले निजी क्षेत्रलाई समेत उत्साहित बनाएको बताएका छन् । उनका अनुसार ठूलो संख्यामा मानिसको आवागमन हुँदा होटल, यातायात, खाद्यान्न तथा अन्य सेवा व्यवसायमा आर्थिक गतिविधि बढ्ने छ ।

प्रतियोगितामा आउने पाहुनालाई कर्णालीका पर्यटकीय गन्तव्यसम्म पुर्‍याउन सके यसको प्रभाव अझ व्यापक हुनेछ । सुर्खेतको काँक्रेविहार, बुलबुले, मुगुको रारा, डोल्पाको फोक्सुण्डो, जुम्लाको सिंजा, दैलेखको पञ्चकोशी तथा सल्यानको कुपिण्डे दह जस्ता पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न सकिने छ ।

तर, प्रतियोगितामा सहभागी हुने पाहुनालाई पर्यटनसँग जोड्न यातायात, समय, आवास र भ्रमण प्याकेजको व्यवस्थापन आवश्यक देखिन्छ । यसका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच समन्वय हुन सके खेलकुदको अवसर पर्यटन प्रवर्द्धनसँग पनि जोडिन सक्छ ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दले दशौँ राष्ट्रिय खेलकुदलाई कर्णालीको छवि बदल्ने अवसरका रूपमा लिएका छन् । उनका अनुसार कर्णालीमा ठूला कार्यक्रम आयोजना गर्न सकिँदैन, यहाँ पर्याप्त खाना, बसोबास र पानीको सुविधा छैन भन्ने बुझाइलाई प्रतियोगिताको सफल आयोजनाबाट चिर्न खोजिएको छ ।

‘कर्णालीमा ठूला कार्यक्रम गर्न सकिँदैन, यहाँ खाना, बसोबास र पानी जस्ता सुविधा छैनन् भन्ने भाष्य छ,’ उनले भनेका छन्, ‘दशौँ राष्ट्रिय खेलकुद सफलतापूर्वक आयोजना गरेर कर्णालीले पनि ठूलो प्रतियोगिता व्यवस्थापन गर्न सक्छ भन्ने सन्देश दिन चाहन्छौँ ।’

प्रतियोगितापछि पनि खेलकुदको गति रोक्नु हुँदैन

कर्णाली प्रदेशमा निर्माण भएको प्रदेश रङ्गशाला र अन्य खेल पूर्वाधारलाई प्रतियोगितापछि कसरी उपयोग गरिन्छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । प्रतियोगिता सम्पन्न भएपछि संरचना प्रयोगविहीन हुने अवस्था आउन नदिन नियमित खेल प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरीय खेलकुद र राष्ट्रियस्तरका अन्य प्रतियोगिता सञ्चालन गर्नु पर्नेछ । कर्णालीमा खेलाडी उत्पादनका लागि दक्ष प्रशिक्षक, खेल सामग्री, नियमित प्रशिक्षण र प्रोत्साहनको व्यवस्था आवश्यक छ ।

मुख्यमन्त्री शाहीले प्रतियोगितापछि खेल पूर्वाधारको निरन्तर उपयोग, खेलाडी उत्पादन र खेलकुदमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । कर्णालीका लागि दशौँ राष्ट्रिय खेलकुद पदक जित्ने प्रतिस्पर्धा मात्रै होइन, आफ्नो क्षमता र सम्भावना देशसामु प्रस्तुत गर्ने अवसर हो । उद्घाटन समारोहमा १० वटै जिल्लाको संस्कृति देखाउने तयारीदेखि हजारौँ खेलाडी तथा पाहुनाको व्यवस्थापनसम्मका कामले प्रदेशको परिचय निर्माण गर्नेछ ।

प्रतियोगिताको सफलताले कर्णालीले राष्ट्रियस्तरका ठूला कार्यक्रम आयोजना गर्नसक्ने सन्देश जानेछ । होटल व्यवसायदेखि यातायात, कृषि उत्पादन, पर्यटन र स्थानीय व्यापारसम्म यसको लाभ विस्तार हुनसक्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
11h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

#खेलकुद #कर्णाली #तयारी
Compare →
Hamro Patro News
11h ago
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतीक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चल...

#खेलकुद #कर्णाली #तयारी
Compare →
Ekantipur
13m ago
एनपीएल सकिएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

एनपीएल सकिएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

आइतबार सामाजिक सञ्जालमार्फत शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

#खेलकुद #तयारी
Compare →
Bizshala
2d ago
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

#तयारी
Compare →

Related Stories

Sports
Build #2612