Trending
Prev Story
Next Story

डोटीको बडीकेदारमा भक्तजनको घुइँचो, पूर्वाधारको अभाव

Ekantipur •
November 22, 2026 • 07:03 AM
2
2 reads 0 reactions

सडक र पदमार्ग सुधारिए पनि बडीकेदार धाममा धर्मशाला, खानेपानी, शौचालय र विद्युत्‌जस्ता आधारभूत सुविधा अझै पर्याप्त छैनन्।

डोटीको बडीकेदारमा भक्तजनको घुइँचो, पूर्वाधारको अभाव

सडक र पदमार्ग सुधारिए पनि बडीकेदार धाममा धर्मशाला, खानेपानी, शौचालय र विद्युत्‌जस्ता आधारभूत सुविधा अझै पर्याप्त छैनन्।

कैलाली — डोटीको बडीकेदार धाममा हरेक वर्ष भक्तजनको चाप बढ्दै छ । सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतबाट समेत लाखौं श्रद्धालु पुग्ने यस धार्मिक स्थलमा पर्याप्त आवास, खानेपानी, शौचालय र विद्युत्को सुविधा छैन ।

साँघुरो भूगोलमा ठूलो संख्यामा भक्तजन पुग्दा व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । मेला सुरु हुनुभन्दा चार–पाँच दिनअघिदेखि नै भक्तजन आउने र मेला सकिएपछि पनि केही दिन बस्ने भएकाले सीमित पूर्वाधारले धान्न मुस्किल पर्ने गरेको स्थानीय बताउँछन् ।

यस वर्ष मंसिर ६ गतेदेखि लाग्ने वैकुण्ठ चतुर्दशी मेलामा दुई लाखभन्दा बढी भक्तजन पुग्ने आयोजकको अनुमान छ । तर, धाममा पर्याप्त आवास र अन्य सुविधा नहुँदा कतिपय भक्तजन राति जंगलमै बस्नुपर्ने अवस्था छ । सडक र पदमार्गमा सुधार भए पनि खानेपानी, शौचालय, धर्मशाला र विद्युत्जस्ता आधारभूत पूर्वाधारको अभाव कायमै छ ।

बडीकेदार गाउँपालिकाकी पूर्वउपाध्यक्ष इन्द्र बोहराका अनुसार साँघुरो भूगोलमा ठूलो संख्यामा भक्तजन पुग्दा भीड व्यवस्थापन गर्न कठिन हुन्छ । पर्याप्त आवास, खानेपानी, शौचालय र विद्युत्को सुविधा नहुँदा भक्तजनले असुविधा भोग्नुपरेको छ । ‘चार–पाँच दिन अगाडिदेखि चार–पाँच दिन पछाडिसम्म धेरै भीड हुन्छ । ठाउँ साँघुरो भएकाले व्यवस्थापन गर्न गाह्रो छ । बाटो पहिलेभन्दा सहज भए पनि पर्याप्त टहरा, खानेपानी र बत्तीको व्यवस्था अझै आवश्यक छ,’ बोहराले भनिन् ।

बडीकेदार धाम डोटीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । समुद्री सतहदेखि करिब २ हजार ५ सय मिटर उचाइमा रहेको यस धाममा भगवान् शिवको विशाल शिला छ । त्यसको दर्शन गर्न हरेक वर्ष सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतबाट श्रद्धालु पुग्ने गर्छन् ।

मनोकामना पूरा हुने विश्वासमा कतिपय भक्तजन हप्तौंसम्म खाली खुट्टा पैदल यात्रा गर्दै बडीकेदार पुग्छन् । डोटीको बडीकेदार गाउँपालिका–५ मा पर्ने धाममा विशेषगरी वैकुण्ठ चतुर्दशी र महाशिवरात्रिका अवसरमा भव्य मेला लाग्छ । वैकुण्ठ चतुर्दशीको मेलामा कैलाली, कञ्चनपुरसहित पश्चिम तराईका थारू समुदाय र भारतको उत्तर प्रदेशबाट उल्लेख्य संख्यामा भक्तजन आउने स्थानीय बताउँछन् ।

बडीकेदारप्रतिको आस्था थारू समुदायमा विशेष रूपमा स्थापित छ । कैलाली र कञ्चनपुरका कतिपय श्रद्धालु घरबाटै खाली खुट्टा पैदल यात्रा गरेर त्यहाँ पुग्छन् । उकालो, जंगल र पहाडी बाटो पार गर्दै दुईदेखि चार दिनसम्म हिँडेर धाम पुगिन्छ । उनीहरूका लागि यो यात्रा धार्मिक स्थल पुग्नु मात्र होइन, भाकल, विश्वास र पुर्खौंदेखिको परम्परासँग पनि जोडिएको छ ।

कैलालीको बर्दगोरियाकी रेखा चौधरीका बुबा र जेठाजु हरेक वर्ष बडीकेदार पुग्छन् । पहिले घरबाटै खाली खुट्टा हिँडेर धाम पुग्ने उनीहरू पछिल्लो समय मोटरसाइकलमा जाने गरेका छन् । थारू समुदायका धेरै मानिस बडीकेदारप्रति गहिरो धार्मिक आस्था राख्ने र मनोकामना पूरा हुने विश्वासमा दर्शन गर्न जाने गरेको उनले बताइन्। ‘मेरो बुबा र जेठाजु हरेक वर्ष बडीकेदार जानुहुन्छ । पहिले खाली खुट्टा हिँडेरै जानुहुन्थ्यो, अहिले मोटरसाइकलमा जानुहुन्छ । त्यहाँ गएर पूजा गर्दा मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ,’ चौधरीले भनिन् ।

बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार धामको धार्मिक महिमा हजारौं वर्ष पुरानो इतिहास र विश्वाससँग जोडिएको छ । यहाँ दर्शन गरेपछि आफूले मागेको वर प्राप्त भएको र मनोकामना पूरा भएको अनुभव सुनाउने भक्तजन धेरै रहेको उनी बताउँछन् ।

सन्तान प्राप्ति, पारिवारिक सुख, स्वास्थ्य, रोजगारी तथा जीवनका विभिन्न आकांक्षा पूरा हुने विश्वास बोकेर श्रद्धालु यहाँ पुग्ने गरेका छन् । कतिपय विदेश जाने युवाले आफ्नो काम सफल होस् भनेर भाकल गर्ने र पछि पूरा भएको अनुभव सुनाउने गरेको बमले बताए । ‘श्रद्धालुहरू खुला हृदयले बडीकेदारको दर्शन गर्न आउनुहुन्छ । यहाँ आएर मागेको वर प्राप्त भएको अनुभव सुनाउने धेरै हुनुहुन्छ । धार्मिक विश्वासकै कारण टाढाटाढाबाट भक्तजन आउने गरेका छन्,’ बमले भने ।

बडीकेदारको धार्मिक महिमासँग स्थानीय किंवदन्ती पनि जोडिएको छ । परापूर्वकालमा गाउँको एउटा गाई लेकमा चर्न जाँदा जंगलको बीचमा रहेको शिलामा दूध चढाएर फर्कने गरेको बताइन्छ । घरमा गाईले दूध नदिएपछि गोठालाले चियो गर्दा शिलामा दूध चढाएको देखेको र त्यसपछि स्थानीय ब्राह्मणहरूले उक्त शिलामा पूजाआजा सुरु गरेको किंवदन्ती छ । त्यही समयदेखि कात्तिक चतुर्दशीमा विशेष पूजा हुँदै आएको स्थानीय बताउँछन् ।

बडीकेदारको लेकाली क्षेत्रबाट तराईको समथर भूभाग, भारतको उत्तर प्रदेश तथा डोटी, अछाम र सुर्खेतका अग्ला पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । जंगलको बीचमा रहेको धामको शान्त वातावरण र प्राकृतिक दृश्यले धार्मिक यात्रामा आउनेलाई थप आकर्षित गर्छ ।

अध्यक्ष बमका अनुसार प्रदेश सरकार तथा स्थानीय तहले धामको विकासका लागि विभिन्न पूर्वाधार निर्माण गरिरहेका छन् । बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाले टहरा तथा अन्य संरचना निर्माणमा सहयोग गरेका छन् । सडक, पदमार्ग र सिँढीमा सुधार भए पनि दुर्गम लेकाली क्षेत्रमा निर्माण सामग्री पुर्‍याउन कठिन छ।

यद्यपि यस वर्षको मेलाका लागि व्यवस्थापन समितिले सम्पूर्ण तयारी पूरा गरिसकेको बमले बताए । उनका अनुसार सुरक्षा र भीड व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय डोटीसँग समन्वय भइसकेको छ ।

बडीकेदार धामलाई राष्ट्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने माग समितिले गरेको छ । अध्यक्ष बमले सडक, पदमार्ग, खानेपानी, धर्मशाला र अन्य पूर्वाधारका लागि बजेट व्यवस्था गर्न प्रधानमन्त्रीलाई पत्र पठाएका छन् । साथै, उनले प्रधानमन्त्रीलाई बडीकेदार धाम दर्शन तथा अवलोकनका लागि निमन्त्रणा गरेका छन् ।

यस वर्ष मेलामा सहभागी हुन चाहनेका लागि पूर्वमन्त्री प्रेमबहादुर आले र धनगढी उपमहानगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेका छन् । आलेका सातवटा बस र उपमहानगरपालिकाले नगरवासीका लागि पाँचवटा बस सञ्चालन गर्ने भएको छ । ती बस आइतबार बिहान धनगढीबाट प्रस्थान गरेको र सोमबार फर्किने कार्यक्रम छ । धनगढी उपमहानगर प्रमुख गोपाल हमालले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मेलामा नगरवासीलाई सहज रूपमा सहभागी गराउने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको बताए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
सेतीनदीको किनारमा भक्तजनको घुइँचो

सेतीनदीको किनारमा भक्तजनको घुइँचो

हरिबोधनी एकादशीको पोखरास्थित सेती नदी किनारमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । सेती दिन किनारको घाईघाट, तुलसीघाट, नारायणथान मन्दिर, ढुंगेसाँघुलसहित रामघाट क्षेत्रमा बढि मात्रामा भक्त...

#भक्तजन #घुइँचो
Compare →
Onlinekhabar
1d ago
हरिबोधिनी एकादशीमा कालीगण्डकी किनारमा भक्तजनको घुइँचो

हरिबोधिनी एकादशीमा कालीगण्डकी किनारमा भक्तजनको घुइँचो

४ मंसिर, पाल्पा । हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको सङ्गमस्थल रामनदी धाम राम्दीसँगै तटीय क्षेत्रमा बिहानैदेखि भक्तजनको बाक्लो घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जाग्ने …

#भक्तजन #घुइँचो
Compare →
Nagarik News
2d ago
हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ।

#भक्तजन
Compare →

Related Stories

Building & Construction
Build #2612