समितिले देउसी भैलोबाट जुटेको रकमले खानेपानीका पाइप तथा अन्य पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा र पानीको मुहान खरिद गर्दै आएको हो ।
पाँचथर — फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हरेक वर्ष तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकम खानेपानी पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छ । समितिले देउसी भैलोबाट जुटेको रकमले खानेपानीका पाइप तथा अन्य पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा र पानीको मुहान खरिद गर्दै आएको हो ।
यसवर्ष संकलित रकम भने बाढीबाट क्षति पुगेको खानेपानीको मुहान मर्मतमा खर्च गरिने भएको छ । उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङका अनुसार बाढीले क्षति पुर्याएको मुहान मर्मत गरी खानेपानी आपूर्तिलाई सहज बनाउने उदेश्यले यसवर्षको रकम परिचालन गरिने बताइएको छ ।
समितिले यसवर्षको तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकम आइतबार सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार समितिले २०८३ सालमा १० लाख २१ हजार ८२ रुपैयाँ संकलन गरेको छ । यसअघि २०८२ सालमा २२ लाख, २०८१ सालमा १८ लाख र २०८० सालमा १२ लाख रुपैयाँ संकलन भएको थियो ।
चार वर्षको अवधिमा समितिले देउसी भैलोबाट कुल ६२ लाख २१ हजार ८२ रुपैयाँ संकलन गरेको छ । रकम सार्वजनिक कार्यक्रममा तिहारमा देउसी भैलो टोलीमा सहभागी कलाकारलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको समितिले जनाएको छ ।
खानेपानी पूर्वाधार निर्माण र संरक्षणका लागि सांस्कृतिक पर्वलाई उपयोग गर्दै आएको समितिले देउसी भैलोबाट संकलित रकमलाई सामुदायिक सम्पत्तिको विकासमा खर्च गर्दै आएको छ ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।