Trending
Prev Story
Next Story

प्रशासनिक सेवा लिन घुइँबारीका बासिन्दालाई रातभरको यात्रा

Ekantipur •
November 22, 2026 • 07:03 AM
3
3 reads 0 reactions

भौगोलिक रूपमा जिल्ला सदरमुकामबाट टाढा रहेको घुइँबारीबाट प्रशासन कार्यालय पुग्न उनलाई सल्यानकै बाटो सहज छैन। बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै सुर्खेतको बाटो पार गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ।

प्रशासनिक सेवा लिन घुइँबारीका बासिन्दालाई रातभरको यात्रा

भौगोलिक रूपमा जिल्ला सदरमुकामबाट टाढा रहेको घुइँबारीबाट प्रशासन कार्यालय पुग्न उनलाई सल्यानकै बाटो सहज छैन। बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै सुर्खेतको बाटो पार गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ।

सल्यान — कालीमाटी गाउँपालिका–७ घुइँबारीकी भीमसरा सुनार नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सल्यान आइपुग्दा रातभरको यात्रा पार गरिसकेकी थिइन्। भौगोलिक रूपमा जिल्ला सदरमुकामबाट टाढा रहेको घुइँबारीबाट प्रशासन कार्यालय पुग्न उनलाई सल्यानकै बाटो सहज छैन। बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै सुर्खेतको बाटो पार गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ।

घुइँबारीका प्रेम महतारा पनि नागरिकता बनाउन सदरमुकाम आइपुग्दा थकित देखिन्थे। साँझ ७ बजे रिजर्भ गाडी चढेका उनी बिहान ८ बजे मात्र प्रशासन कार्यालय पुगेका थिए। ‘एउटा नागरिकता बनाउन पनि यति दुःख पाइयो। बेलुका ७ बजे गाडीमा बसेको, बिहान ८ बजे आइपुग्यौं,’ उनले भने, ‘बाटो भएको भए यतैबाट आउने थियौं। कि दाङ भएर आउनुपर्छ, कि सुर्खेत हुँदै।’

भीमसरा र प्रेमजस्ता घुइँबारीका बासिन्दालाई नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीजस्ता प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम पुग्नु नै लामो यात्राको विषय बनेको छ । बबई नदी, बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको सल्यानको कालिमाटी गाउँपालिका–७ घुइँबारीका बासिन्दा भौगोलिक विकटता र यातायातको कठिनाइका कारण सरकारी सेवा लिन आउजाउ गर्दा समय र खर्च दुवै बढी बेहोर्न बाध्य छन्।

यही कठिनाइका बीच घुइँबारीका करिब ८० देखि ९० जना नागरिक केही दिनअघि समूह बनाएर जिल्ला प्रशासन कार्यालय सल्यान पुगेका थिए । वडाध्यक्षको समन्वयमा आएका उनीहरू नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीलगायत सेवा लिन सदरमुकाम आएका हुन्। गाउँबाट व्यक्तिगत रूपमा सदरमुकाम आउन कठिन र खर्चिलो हुने भएकाले एकैपटक समूह बनाएर सेवा लिन आउनुपरेको स्थानीयको भनाइ छ।

समूहमा युवा, महिला, वृद्धवृद्धा र बालबालिकासमेत थिए। रातभरको यात्रा गरेर सदरमुकाम पुगेकी डिलसरा रानाले गाउँबाट प्रशासन कार्यालयसम्म आइपुग्न निकै कठिन भएको बताइन्। ‘हामीले कति दुःख पायौं। साँझ गाडी चढेको, बिहान मात्र पुग्यौं। निकै गाह्रो भयो,’ उनले भनिन्, ‘हामीलाई नजिकै सेवा उपलब्ध भएको भए सहज हुने थियो।’

घुइँबारीका बासिन्दालाई सदरमुकामसम्म ल्याउन कालिमाटी गाउँपालिका–७ का वडाध्यक्षले समन्वय गर्दै आएका छन्। व्यक्तिगत रूपमा सेवा लिन आउँदा यातायात खर्च बढी लाग्ने र यात्रा पनि कठिन हुने भएकाले वर्षौंदेखि समूह बनाएर रिजर्भ गाडीमार्फत नागरिकलाई सदरमुकाम ल्याउने गरिएको उनले बताए। ‘आउन जान साह्रै कठिन छ। व्यक्तिगत रूपमा आउँदा पनि धेरै खर्च लाग्छ। अहिले पाँचौं वर्षमा छौं, प्रत्येक वर्ष यसरी नै समूह बनाएर गाडी रिजर्भ गरी नागरिकलाई ल्याउने गरेका छौं,’ उनले भने, ‘गत वर्ष वडाको बजेटबाट व्यवस्था गरेका थियौं। यस वर्ष आफ्नै व्यक्तिगत लगानीमा नागरिकलाई ल्याएको छु।’

दुर्गम बस्तीका नागरिकलाई प्रशासनिक सेवा लिन पटक–पटक सदरमुकाम धाउनुपर्ने अवस्थाबाट राहत दिन स्थानीय तह र प्रशासनबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय सल्यानले सेवाग्राहीको चाप र आवश्यकतालाई ध्यानमा राखेर बिहानैदेखि सेवा प्रवाह गर्दै आएको जनाएको छ। कार्यालयले बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सेवाग्राहीलाई सेवा दिने गरेको जनाएको छ। दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै पुगेर सेवा उपलब्ध गराउन स्थानीय तहसँग समन्वय र सहकार्य भए प्रशासन तयार रहेको प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसीले बताइन्। स्थानीय तहसँग समन्वय गरेर दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन सकिने उनको भनाइ छ।

राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीजस्ता सेवा नागरिकको पहुँचमा सहज रूपमा पुर्‍याउनु प्रशासनिक जिम्मेवारी हो। तर घुइँबारीजस्ता दुर्गम बस्तीका नागरिकका लागि यी सेवा लिन जिल्ला सदरमुकदाम पुग्नु नै लामो र कठिन यात्रा बन्ने गरेको छ। साविक काप्रेचौर गाविसअन्तर्गत घुइँबारी, र्‍याङ, स्वामिवासलगायत बस्तीका नागरिकले वर्षौंदेखि यस्तै समस्या भोग्दै आएका छन्।

स्थानीय तह र प्रशासनबीच समन्वय गरेर गाउँमै प्रशासनिक सेवा उपलब्ध गराउने व्यवस्था भए समय, खर्च र यात्राको कठिनाइ कम हुने उनीहरूको अपेक्षा छ।

सरिता चलाउने कान्तिपुरकी सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612