करिब तीन वर्ष अघिदेखि प्लान्टबाट अक्सिजन उत्दादन बन्द भएपछि नेपालगन्ज र कोहलपुरबाट खरिद हुँदै आएको छ ।
बर्दिया — बर्दिया जिल्ला अस्पताल, गुलरियाको हातामा रहेको प्लान्टबाट अक्सिजन उत्पादन बन्द भएको छ । करिब तीन वर्ष अघिदेखि प्लान्टबाट अक्सिजन उत्दादन बन्द भएपछि नेपालगन्ज र कोहलपुरबाट खरिद हुँदै आएको छ ।
०७७/०७८ सालदेखि उत्पादन सुरु भएको ३ वर्षपछि बन्द भएको हो । कोभिडको समय अक्सिजनको अभाव भएपछि संघीय सरकारको सहयोगमा अक्सिजन पलान्ट स्थापना गरिएको थियो । यस प्लान्टबाट दैनिक २० एमएम अक्सिजन उत्पादन हुँदै आएको थियो । जिल्ला अस्पताल बर्दियाका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले अक्सिजन प्लान्ट वर्षेनी सर्भिसिङ गर्नुपर्ने बताए । ‘अक्सिजनको माग अन्यत्र हुन सकेको छैन ,’ उनले भने, ‘उत्पादन खर्चभन्दा खरिद गर्दा कम मूल्य पर्ने भएकाले प्लान्ट बन्द भएको हो ।’
अस्पताल हाता भित्र निर्माण गरिएको अक्सिजन प्लान्टबाट स्टोर गर्न पाइप लाइन जडान गरिएको छ । ८१ लाख ९० हजार बढीको लागतमा भौतिक संरचनासहित अक्सिजन प्लान्ट निर्माण भएको थियो । ४५ लाख लागतमा पाइप लाइन विस्तार गरिएको थियो ।
७५/७५ लिटर क्षमता भएका ठूलो सिलिण्डरमा अक्सिजन भरिन्थ्यो । संघीय सरकारको सशर्त अनुदानमा स्थापना भएको पलान्ट बन्द भएपछि बिरामीका लागि अक्सिजनका लिन नेपालगन्ज र कोहलपुर जानुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मी बताउॅछन ।
अक्सिजन प्लान्ट सञ्चालन गर्दा वार्षिक १८ लाख बढीको खर्च हुने गरेको छ । बाहिरबाट खरिद गर्दा १४/१५ लाख खर्च हुने गरेको अस्पतालले जनाएको छ । प्लान्टमा नियमित खटिने दुई कर्मचारीको तलब, विद्युत्,सर्भिसिङलगायतका खर्चमा १८ लाख बढीको खर्च हुने गरेको मेसु डाक्टर पाण्डेयले जनाए ।
कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।