Trending
Prev Story
Next Story

दिल्लीमा नेपालले सुनायो सभ्यतागत सम्बन्धको कथा

Ekantipur •
November 22, 2026 • 04:03 AM
3
3 reads 0 reactions

नेपालका पर्यटन मन्त्रीद्वारा सम्पदा संरक्षण, पाण्डुलिपिको डिजिटल अभिलेखीकरण र साझा सांस्कृतिक पर्यटन मार्ग विकासमा क्षेत्रीय सहकार्यको प्रस्ताव

दिल्लीमा नेपालले सुनायो सभ्यतागत सम्बन्धको कथा

नेपालका पर्यटन मन्त्रीद्वारा सम्पदा संरक्षण, पाण्डुलिपिको डिजिटल अभिलेखीकरण र साझा सांस्कृतिक पर्यटन मार्ग विकासमा क्षेत्रीय सहकार्यको प्रस्ताव

काठमाडौँ — सगरमाथा र गौतम बुद्धको जन्मभूमि नेपालले एसियाली सभ्यताबीचको ऐतिहासिक सम्बन्ध, धार्मिक सहअस्तित्व, सांस्कृतिक सम्पदा र ज्ञान परम्परालाई क्षेत्रीय सहकार्यको आधार बनाउनुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ।

भारतको नयाँ दिल्लीस्थित पुराना किल्लामा आयोजित पहिलो शाङ्घाई सहयोग संगठन (एससीओ) सभ्यतागत संवाद मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश) ले नेपाल प्राचीन सभ्यताहरूबीचको सम्पर्क, ज्ञान, कला, व्यापार र आध्यात्मिक आदानप्रदानको महत्त्वपूर्ण सेतु रहेको बताए।

शक्रबारदेखि जारी सभ्यतागत संवाद मञ्चमा नेपालले शनिबार आफ्नो सभ्यतागत विरासत प्रस्तुत गर्दै सांस्कृतिक सम्पदा संरक्षण, प्राचीन पाण्डुलिपिको डिजिटल अभिलेखीकरण, अनुसन्धान, सांस्कृतिक आदानप्रदान र साझा धार्मिक तथा पर्यटन मार्ग विकासमा एससीओ राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको औंल्याएको हो।

मन्त्री पौडेलले नेपाल भारत र चीनबीच मात्र नभई गङ्गाको मैदान र तिब्बती पठार तथा दक्षिण र मध्य एसियाबीच ऐतिहासिक रूपमा सांस्कृतिक, व्यापारिक र आध्यात्मिक सम्बन्धको सेतु रहेको उल्लेख गरे।

नेपाल १४२ जातजाति तथा समुदाय र १२४ मातृभाषाको साझा भूमि भएको बताउँदै उनले हिन्दु, बौद्ध, किरातलगायत विभिन्न धार्मिक तथा आध्यात्मिक परम्परा शताब्दीयौँदेखि सहअस्तित्वमा रहँदै आएको उल्लेख गरे। नेपालको सांस्कृतिक विविधता सम्पदा मात्र नभई राष्ट्रिय पहिचानको आधारसमेत रहेको उनको भनाइ थियो।

नेपालको अन्तर्राष्ट्रिय पहिचान, सभ्यतागत योगदान र आध्यात्मिक विरासत प्रस्तुत गर्दै मन्त्री पौडेलले गौतम बुद्धको जन्मभूमि नेपालबाट विश्वभर फैलिएको शान्ति, करुणा, अहिंसा र मध्यम मार्गको सन्देशलाई नेपालको महत्वपूर्ण योगदानका रूपमा व्याख्या गरे।

लुम्बिनीबाट सुरु भएको बुद्धको शिक्षाले एसियाली सभ्यतामा गहिरो प्रभाव पारेको र आज पनि मानव समुदायलाई प्रेरित गरिरहेको उनले बताए।

नेपालको हिमाली भूगोल, प्राचीन सभ्यता र सांस्कृतिक सम्बन्धलाई जोड्ने सगरमाथासहितका हिमाली क्षेत्रले नेपालको विशिष्ट पहिचान स्थापित गरेको छ। हिमाली क्षेत्र केवल भौगोलिक सम्पदा मात्र नभई प्राचीन व्यापारिक मार्ग, धार्मिक परम्परा, बौद्ध दर्शन र विभिन्न समुदायबीचको ऐतिहासिक सम्पर्कको आधारसमेत रहेको सन्देश नेपालको मन्तव्यमा प्रतिबिम्बित भएको छ।

मिथिलाको दार्शनिक विरासत, राजा जनक र माता सीतासँग जोडिएको इतिहास, महर्षि वेदव्यासको परम्परा तथा नेपाली कलाकार अरनिकोले तिब्बत, चीन र मङ्गोलियासम्म पुर्‍याएको कला र वास्तुकलाको योगदानलाई उनले साझा सभ्यतागत सम्बन्धका उदाहरणका रूपमा प्रस्तुत गरे।

नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ र मुक्तिनाथजस्ता धार्मिक स्थलहरू विभिन्न आस्था र परम्पराबीचको सम्बन्धका जीवन्त केन्द्र रहेको मन्त्री पौडेलले उल्लेख गरे।

पशुपतिनाथको सिख परम्परासँगको ऐतिहासिक सम्बन्ध, गुरु नानक देवले दर्शन गरेको मान्यता, पशुपति परिसरको भष्मेश्वर गुरु नानक मठमा रहेको गुरु ग्रन्थ साहिबको हस्तलिखित प्रति तथा बौद्ध पर्व मुखाष्टमीमा पञ्चभूत बुद्धको प्रतीकात्मक मुकुट शिवलिङ्गमा अर्पण गर्ने परम्परालाई उनले धार्मिक सहअस्तित्वका उदाहरणका रूपमा प्रस्तुत गरे।

त्यसैगरी, बौद्ध विद्वान् शान्तरक्षित र पद्मसम्भव (गुरु रिन्पोछे) सँग जोडिएको ज्ञान र पाण्डुलिपि संरक्षणको परम्पराले बौद्ध दर्शन तथा संस्कृत साहित्यको विशाल ज्ञानभण्डार सुरक्षित राख्न योगदान पुर्‍याएको उनले बताए।

काठमाडौं, पाटन र भक्तपुरका ऐतिहासिक सहरका मन्दिर, स्तूप, गुम्बा, विहार, काष्ठकला, धातुकला तथा परम्परागत चित्रकलालाई नेपालको सिर्जनात्मक र वास्तुकलागत उपलब्धिका रूपमा प्रस्तुत गर्दै उनले मुस्ताङ र डोल्पाले प्राचीन हिमाली सभ्यता, व्यापारिक मार्ग र सांस्कृतिक सम्बन्धका प्रमाणहरू सुरक्षित राखेको बताए।

जलवायु परिवर्तन, प्राकृतिक विपद्, तीव्र सहरीकरण र परम्परागत ज्ञानको क्षयीकरणले साझा सभ्यतागत सम्पदामाथि चुनौती थपिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले एससीओ सदस्य तथा संवाद साझेदार राष्ट्रहरूबीच व्यावहारिक सहकार्य आवश्यक रहेको बताए।

उनले सम्पदा संरक्षण, प्राचीन पाण्डुलिपिको डिजिटल अभिलेखीकरण, अनुवाद, प्राज्ञिक अनुसन्धान, सांस्कृतिक आदानप्रदान तथा परस्पर जोडिएका तीर्थयात्रा र सांस्कृतिक पर्यटन मार्ग विकासलाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि सारे।

सभ्यतागत विरासत भावी पुस्तामा हस्तान्तरण गर्न युवाहरूलाई सम्पदा, इतिहास, दर्शन र ज्ञान परम्परासँग जोड्न आवश्यक रहेको उनको भनाइ थियो।

विविधता विभाजनको कारण नभई शक्तिको स्रोत बन्नुपर्ने बताउँदै उनले सभ्यताहरू एकअर्कासँग भेटिँदा, सिक्दा र सहकार्य गर्दा मानव सभ्यता अझ समृद्ध हुने सन्देश दिए।

पहिलो एससीओ सभ्यतागत संवाद मञ्च नोभेम्बर २०–२२ सम्म नयाँ दिल्लीस्थित पुराना किल्लामा आयोजना भईरहेको छ।

मञ्चमा एससीओ सदस्य राष्ट्र र संवाद साझेदार राष्ट्रका प्रतिनिधिहरूले सभ्यतागत तथा सांस्कृतिक अभिव्यक्ति, कला र वास्तुकला, भाषा, साहित्य, लिपि, पाण्डुलिपि, मठ परम्परा, धार्मिक तथा दार्शनिक विषयमा छलफल जारी छ।

शनिबारदेखि सहभागी देशका मन्त्री तथा प्रतिनिधिहरूले मन्तव्य दिने, विज्ञ छलफल गर्ने र कला तथा वास्तुकलामा विभिन्न सभ्यताबीचको साझा सौन्दर्य र आदानप्रदानबारे बहस जारी छन्।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल

नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल

३ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासद्वारा बुधबार …

#पर्यटन #सम्बन्ध
Compare →
Hamro Patro News
19h ago
ब्रेक्जिटपछि बेलायत-इयु सम्बन्ध सुधारमा सहमति

ब्रेक्जिटपछि बेलायत-इयु सम्बन्ध सुधारमा सहमति

ब्रसेल्स । ब्रेक्जिटपछि एक दशकदेखि कमजोर बनेको सम्बन्ध सुधार्न बेलायत र युरोपेली सङ्घ (इयु) व्यापार, युवा आदानप्रदान, आप्रवासन र सुरक्षासम्बन्धी सहकार्य विस्तार गर्न सहमत भएका छन् । शुक्रबार ब्रसे...

#सम्बन्ध
Compare →
Nagarik News
1d ago
श्रीमानसँग प्रेम सम्बन्धको शंकामा श्रीमतीले यसरी लिइन् एयरलाइन्स कर्मचारीको ज्यान

श्रीमानसँग प्रेम सम्बन्धको शंकामा श्रीमतीले यसरी लिइन् एयरलाइन्स कर्मचारीको ज्यान

प्रहरीका अनुसार नितेशसँग वर्षाको सम्बन्ध रहेको आशंकामा उनकी श्रीमती मोना असन्तुष्ट थिइन्। उनले छिमेकी कुणाल कुम्भालकरको सहयोगमा हत्याको योजना बनाएकी थिइन्।

#सम्बन्ध
Compare →

Related Stories

National (Nepal)
Build #2612