Trending
Prev Story
Next Story

गण्डकी प्रदेशका आर्थिक अवसर

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गण्डकी प्रदेशमा पर्यटन, कृषि, जलविद्युत्, उद्योग, व्यापार तथा सेवा क्षेत्र आर्थिक गतिविधिका प्रमुख आधार हुन् । पोखरा, अन्नपूर्ण क्षेत्र, मुक्तिनाथ, मनकामना, गोरखा दरबार लगायतका पर्यटकीय तथा धार्मिक गन्तव्यले …

गण्डकी प्रदेशका आर्थिक अवसर

आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गण्डकी प्रदेशमा पर्यटन, कृषि, जलविद्युत्, उद्योग, व्यापार तथा सेवा क्षेत्र आर्थिक गतिविधिका प्रमुख आधार हुन् । पोखरा, अन्नपूर्ण क्षेत्र, मुक्तिनाथ, मनकामना, गोरखा दरबार लगायतका पर्यटकीय तथा धार्मिक गन्तव्यले यस प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक केन्द्र बनाएका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार करिब २४ लाख ६६ हजार जनसंख्या रहेको यस प्रदेशले नेपालको कुल जनसंख्याको करिब ८.५ प्रतिशत हिस्सा ओगटेको छ ।

यस प्रदेशको समग्र आर्थिक अवस्था पनि राष्ट्रिय औसतको तुलनामा सकारात्मक देखिन्छ । आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) करिब ५ खर्ब ९३ अर्ब रुपैयाँ छ । उक्त अवधिमा नेपालको जीडीपी करिब ६६ खर्ब बराबर हो । राष्ट्रिय अर्थतन्त्रमा करिब ९ प्रतिशत योगदान गर्ने यस प्रदेशको आर्थिक वृद्धिदर ५.०१ प्रतिशत छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका सोही अवधिमा राष्ट्रिय औसत आर्थिक वृद्धि ३.८५ प्रतिशत हो । त्यसैगरी प्रतिव्यक्ति जीडीपी अमेरिकी डलर १ हजार ६ सय ५१ छ, जबकि राष्ट्रिय औसत अमेरिकी डलर १ हजार ५ सय १३ मात्र छ ।

वित्तीय पहुँच र संस्थागत उपस्थिति अवस्था

२०८३ असार मसान्तसम्म गण्डकी प्रदेशका ११ जिल्लामा बैंक तथा वित्तीय संस्थाका कुल १ हजार ३ सय ६९ शाखा सञ्चालनमा छन् । यसले बैंकिङ सेवाको भौतिक पहुँच विस्तार भएको देखाउँछ । तर, शाखा संख्यामात्र वित्तीय पहुँचको पर्याप्त मापदण्ड होइन, सेवाको उपलब्धता, भौगोलिक वितरण, कारोबार सहजता र नागरिकको वास्तविक उपयोग क्षमता समेत ध्यान दिनुपर्छ ।

२०८३ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप करिब ७ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १८.७ प्रतिशत धेरै हो । यसले प्रदेशमा बचत परिचालन तथा बैंकिङ प्रणालीप्रतिको विश्वासमा सुधार आएको संकेत गर्छ ।

राष्ट्रिय स्तरमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ११ अर्ब छ । यसमा गण्डकी प्रदेशको हिस्सा करिब ८.७५ प्रतिशत हुन्छ । जनसंख्याको हिस्सासँग तुलना गर्दा निक्षेप परिचालनको अवस्था सकारात्मक देखिन्छ । तर, निक्षेपमा भएको वृद्धिको तुलनामा कर्जा विस्तार भने सुस्त छ ।

यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३ खर्ब ६४ अर्ब पुगेको छ । यसरी राष्ट्रिय निक्षेपमा करिब ८.७५ प्रतिशत योगदान गर्ने प्रदेशको कर्जा परिचालनमा हिस्सा ६.१२ प्रतिशतमात्र रहनुले वित्तीय स्रोतको उपयोग र उत्पादनशील क्षेत्रमा पूँजी परिचालनका दृष्टिले थप विश्लेषण आवश्यक देखाउँछ ।

गण्डकीमा निक्षेप र कर्जाबीच करिब ३ खर्ब ६३ अर्ब रुपैयाँको अन्तर छ । निक्षेपको तुलनामा कर्जा परिचालन अनुपात करिब ५० प्रतिशत छ । जबकि, राष्ट्रिय स्तरमा यस्तो अनुपात करिब ७१.५ प्रतिशत छ । यो तथ्यांकले प्रदेशमा परिचालित वित्तीय स्रोतलाई स्थानीय उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक गतिविधिमा रूपान्तरण गर्ने पर्याप्त अवसर रहेको देखाउँछ ।

क्षेत्रगत कर्जा परिचालन र उत्पादनशील लगानीको सम्भावना

क्षेत्रगत कर्जा प्रवाह हेर्दा कृषि क्षेत्रमा करिब २३ अर्ब, औद्योगिक क्षेत्रमा २९ अर्ब १० करोड, सेवा क्षेत्रमा १ खर्ब ७ अर्ब र अन्य क्षेत्रमा करिब २ खर्ब २ अर्ब कर्जा प्रवाह भएको छ । सेवा क्षेत्रमा भएको कर्जा लगानीले प्रदेशको पर्यटन, होटल, यातायात, व्यापार तथा अन्य सेवामूलक व्यवसायको आर्थिक महत्त्वलाई प्रतिविम्बित गर्छ ।

गण्डकी प्रदेशको पर्यटन सम्भावना उल्लेखनीय भए पनि पर्यटक आगमन वृद्धिदर भने अपेक्षाकृत न्यून देखिएको छ । आव २०८१/८२ मा ९१ हजार २ सय ८८ विदेशी पर्यटक आगमन भएकोमा २०८२/८३ मा ९१ हजार ६ सय ३७ पुगेको छ ।

यसले पर्यटकीय सम्भावनालाई वास्तविक आर्थिक गतिविधिमा रूपान्तरण गर्न पूर्वाधार, सेवा गुणस्तर, अन्तर्राष्ट्रिय प्रवर्द्धन र पर्यटकीय उत्पादन विविधीकरणमा थप लगानी आवश्यक रहेको देखाउँछ । कृषि तथा औद्योगिक उत्पादनसँग जोडिएका मूल्य शृङ्खला, भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा लगानी बढाउन सके प्रदेशको आन्तरिक उत्पादन तथा रोजगारी विस्तारमा महत्त्वपूर्ण सहयोग पुग्न सक्छ ।

वित्तीय समावेशिता र डिजिटल वित्तीय सेवा विस्तार

वित्तीय समावेशिता दृष्टिले गण्डकी प्रदेशको अवस्था उत्साहजनक देखिन्छ । प्रदेशमा निक्षेप खाताको संख्या ६६ लाख ७५ हजार पुगेको छ । यद्यपि, एउटै व्यक्तिका विभिन्न संस्थामा एकभन्दा बढी खाता हुन सक्ने भएकाले खाता संख्यालाई वास्तविक निक्षेपकर्ताका रूपमा बुझ्नु हुँदैन ।

डिजिटल बैंकिङ सेवा विस्तारमा पनि प्रदेशको उपस्थिति उल्लेखनीय छ । गण्डकीमा मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या करिब ३१ लाख ६६ हजार पुगेको छ, जबकि राष्ट्रियस्तरमा यस्तो संख्या करिब ३ करोड १ लाख छ । यस आधारमा प्रदेशको हिस्सा करिब १०.५२ प्रतिशत हुन्छ ।

जनसंख्या अनुपातमा डिजिटल वित्तीय पूर्वाधार तथा सेवा उपस्थिति सकारात्मक देखिन्छ । कर्जा पहुँचका दृष्टिले प्रदेशमा करिब २ लाख २७ हजार ५ सय ८७ ऋणी छन् । बैंक तथा वित्तीय संस्थामा करिब २० लाख ३१ हजार कर्जा खाता रहेको आधारमा प्रदेशको हिस्सा करिब ११.२ प्रतिशत हुन्छ । यस प्रदेशमा महिला उद्यमी, कृषक, युवा व्यवसायी, साना तथा मझौला उद्यम र ग्रामीण समुदायमा गुणस्तरीय कर्जा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता अझै छ ।

वित्तीय पहुँचलाई अझ प्रभावकारी बनाउन मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, इन्टरनेट बैंकिङ, डिजिटल वालेट तथा एजेन्ट बैंकिङजस्ता माध्यमको विस्तार महत्त्वपूर्ण छ । विशेषगरी पर्यटन क्षेत्रका व्यवसाय तथा दुर्गम स्थानका नागरिकलाई डिजिटल भुक्तानीमा जोड्न सकेमा नगदमा निर्भरता घटाउनुका साथै वित्तीय कारोबार सहज, पारदर्शी र सुरक्षित बनाउन सकिन्छ । यससँगै डिजिटल साक्षरता, साइबर सुरक्षा, उपभोक्ता संरक्षण र वित्तीय सेवाप्रतिको विश्वास अभिवृद्धि गर्न पनि उत्तिकै आवश्यक छ ।

गण्डकी प्रदेशमा वित्तीय सेवाको सहज आपूर्ति तथा नगद व्यवस्थापन नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गर्दै आएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडका शाखामार्फत सञ्चालनमा रहेका नौ वटा नोटकोषबाट २०८२/८३ अवधिभरि करिब १२ अर्ब ४५ करोड बराबर नोट प्रदेशभरि स्थानान्तरण भएका छन । अघिल्लो वर्ष यस्तो रकम १५ अर्ब ५० करोड थियो । नोटकोष मार्फत प्रदेशका विभिन्न स्थानमा नगदको उपलब्धता तथा व्यवस्थापन सहज बनाउने काम हुँदै आएको छ ।

त्यसैगरी परिवर्त्य विदेशी मुद्रा कारोबारमा पनि उल्लेखनीय वृद्धि भएको छ । राष्ट्र बैंक पोखरा कार्यालय मार्फत यो वर्ष करिब २ अर्ब १४ करोड बराबर परिवर्त्य विदेशी मुद्रा सटही भएको छ । यस प्रदेशमा विदेशी मुद्रा सटही सेवा प्रदान गर्ने संस्था संख्या १ सय २४ पुगेको छ । यसले पर्यटन तथा अन्तर्राष्ट्रिय आर्थिक गतिविधिसँग सम्बन्धित वित्तीय सेवा विस्तारलाई सहयोग पुर्‍याएको छ ।

समग्रमा गण्डकी प्रदेशको वित्तीय प्रणालीको अवस्था हेर्दा संस्थागत उपस्थिति, निक्षेप परिचालन, डिजिटल बैंकिङ तथा एटीएम सेवाको विस्तार सकारात्मक देखिन्छ । यस प्रदेशको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति जीडीपी राष्ट्रिय औसतभन्दा राम्रो हुनु प्रदेशको आर्थिक सम्भावनाको सूचक हो ।

तर, मुलुकभरिको कूल निक्षेपमा ८.७५ प्रतिशत योगदान हुँदा कर्जामा ६.१२ प्रतिशतमात्र हिस्सा रहनु, कर्जा विस्तारको न्यून वृद्धिदरले वित्तीय स्रोत परिचालनमा थप ध्यान दिनुपर्ने देखाउँछ । उपलब्ध वित्तीय स्रोतलाई पर्यटन, कृषि, उद्योग, जलविद्युत् तथा साना तथा मझौला उद्यममा परिचालन गर्न सके प्रदेशको आर्थिक सम्भावना थप प्रभावकारी उपयोग गर्न सकिन्छ ।

वित्तीय पहुँच विस्तारसँगै पूँजी निर्माण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राख्न आवश्यक छ । यसका लागि राष्ट्र बैंकको नियामकीय भूमिका, बैंक तथा वित्तीय संस्थाको व्यावसायिक रणनीति, प्रदेश सरकारको विकास प्राथमिकता र निजी क्षेत्रको उद्यमशीलताबीच प्रभावकारी समन्वय आवश्यक छ ।

(पौडेल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् ।)

गुरुप्रसाद पौडेल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2d ago
गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा ८ अर्ब बढी लाग्ने अनुमान

गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा ८ अर्ब बढी लाग्ने अनुमान

यसमा निजी घर, जग्गा, व्यवसाय र कृषि क्षेत्रमा पुगेको क्षति नसमेटिएको गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

#गण्डकी
Compare →
Arthasansar
4d ago
काबेली–ए जलविद्युत आयोजनामा ३० जनालाई रोजगारीको अवसर

काबेली–ए जलविद्युत आयोजनामा ३० जनालाई रोजगारीको अवसर

काबेली इनर्जी लिमिटेडले ३७.६ मेगावाट क्षमताको काबेली–ए जलविद्युत आयोजनाको सुरुङ उत्खनन कार्यका लागि विभिन्न पदमा ३० जना जनशक्ति माग गरेको...

#जलविद्युत् #अवसर
Compare →
Hamro Patro News
6d ago
आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

२९ कात्तिक, बुटवल । पाल्पा र स्याङजा संगमस्थल नजिकै उत्तरवाहिनी कालिगण्डकी क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानमा कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठान लाग...

#पर्यटन #गण्डकी
Compare →

Related Stories

National (Nepal)
Build #2612