चोभार र टौदह पार गरेर दक्षिणतर्फ लागेपछि पुगिने फर्पिङमा राणाकालीन समयमा निर्मित इँटाको पावरहाउस छ । यही हो, नेपालको पहिलो जलविद्युत् केन्द्र चन्द्रज्योति विद्युत् गृह, जुन अहिले फर्पिङ जलविद्युत् केन्द्रका रूपमा परिचित छ ।
काठमाडौँ — काठमाडौं नजिकै रहेको फर्पिङमा नेपालको पहिलो जलविद्युत् केन्द्र चन्द्रज्योति विद्युत् गृहसँगै मन्दिर, गुफा, गुम्बा र प्राकृतिक सौन्दर्यको अनुभव लिन सकिन्छ ।
काठमाडौंको धुवाँ र कोलाहलबाट केही समय टाढा रहेर इतिहास, प्रकृति र संस्कृति नियाल्न चाहनेका लागि फर्पिङ उपयुक्त गन्तव्य बन्न सक्छ । चोभार र टौदह पार गरेर दक्षिणतर्फ लागेपछि पुगिने फर्पिङमा राणाकालीन समयमा निर्मित इँटाको पावरहाउस छ । यही हो, नेपालको पहिलो जलविद्युत् केन्द्र चन्द्रज्योति विद्युत् गृह, जुन अहिले फर्पिङ जलविद्युत् केन्द्रका रूपमा परिचित छ ।
सल्ला र उत्तिसका रुख, चराचुरुङ्गीको चिरबिर र चिसो पहाडी हावाबीच रहेको यस केन्द्रमा पुराना पेल्टन टर्बाइन, जेनेरेटर र अन्य यन्त्रहरू संरक्षित छन् । जलविद्युत् इतिहाससँगै धार्मिक तथा सांस्कृतिक स्थलको भ्रमण गर्न चाहनेका लागि पनि फर्पिङमा पर्याप्त आकर्षण छन् ।
दक्षिणकाली नगरपालिकाले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाइरहेको छ । नगरप्रमुख मोहन बस्नेतका अनुसार ऐतिहासिक जलविद्युत् केन्द्रसँगै शेषनारायण मन्दिर र त्यहाँका कुण्ड, गुरु पद्मसम्भवसँग सम्बन्धित असुर गुफा तथा बौद्ध गुम्बा यहाँका आकर्षक गन्तव्य हुन् । भ्रमणमा दक्षिणकाली मन्दिरलाई पनि समेट्न सकिन्छ ।
काठमाडौंबाट बिहानै निस्कने हो भने यी स्थल एकै दिनमा घुम्न सकिन्छ । रात बिताउन चाहनेका लागि नजिकै हात्तीबन हिमालयन हाइट रिसोर्ट र चम्पादेवी हिलसाइड रिसोर्टजस्ता आवासका विकल्प पनि छन् ।
फर्पिङ हाइड्रोको शताब्दी पुरानो इतिहास
राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण योजना अघि बढेको चन्द्रज्योति विद्युत् गृहको उद्घाटन १९६८ जेठ ९ गते भएको थियो । पाँच सय किलोवाट क्षमताको यो आयोजना नेपालको पहिलो जलविद्युत् केन्द्र हो ।
यस केन्द्रले चीनको पहिलो जलविद्युत् केन्द्र शिलोंग्बाभन्दा करिब एक वर्षअघि बिजुली उत्पादन सुरु गरेको थियो । शिलोंग्बा सन् १९१२ मा ४८० किलोवाट क्षमतामा सञ्चालनमा आएको थियो । भारतमा भने त्यसअघि नै सन् १८९७ मा १३० किलोवाटको सिद्रापोङ र सन् १९०२ मा चार हजार ५०० किलोवाटको शिवसमुद्रम आयोजना सञ्चालनमा आइसकेका थिए ।
आयोजनाको योजना निर्माणमा नेपाली इन्जिनियर कर्णेल किशोर नरसिंह राणाको नेतृत्व थियो । कुमार नरसिंह राणा पनि निर्माण कार्यमा संलग्न थिए । बेलायती इन्जिनियरले विस्तृत लागत अनुमान र उपकरण जडानको काम गरेका थिए भने जनरल पद्मशमशेरले निर्माणको समग्र निरीक्षण गरेका थिए । नेपाली कामदार र केही भारतीय प्राविधिकको संलग्नतामा मुख्य निर्माण करिब २० महिनामा पूरा भएको थियो ।
आयोजनामा सात लाख १३ हजार २७३ रुपैयाँ खर्च भएको अभिलेख छ । त्यसमध्ये तीन लाख ६७ हजार ९८४ रुपैयाँ नेपालभित्रै खर्च भएको थियो । टर्बाइन र जेनेरेटर बेलायत सरकारबाट अनुदानमा प्राप्त भएकाले तिनको मूल्य उक्त लागतमा समावेश थिएन । आवश्यक उपकरण बेलायतबाट कलकत्ता र भीमफेदी हुँदै फर्पिङसम्म ल्याइएको थियो ।
फर्पिङदेखि टुँडिखेलसम्म पुगेको उज्यालो
बिजुली उत्पादनका लागि फर्पिङमा कुनै विशाल नदी थुन्नुपरेको थिएन । सातमूले र शेषनारायण क्षेत्रका मुहानबाट ल्याइएको पानी जम्मा गर्न २०० फिट व्यास र १८ फिट गहिराइको गोलाकार जलाशय बनाइएको थियो । उक्त जलाशयको पानी सञ्चय क्षमता पाँच लाख २८ हजार ७८३ घनफिट थियो ।
जलाशयबाट दुई हजार ५३८ फिट लामो र २० इन्चको पाइपमार्फत पानी पावरहाउससम्म पुर्याइन्थ्यो । पानीको बलले २५०–२५० किलोवाटका दुई पेल्टन टर्बाइन घुमाउँथ्यो । जेनेरेटरबाट उत्पादित तीन फेजको ३.३ किलोभोल्ट विद्युत् ट्रान्सफर्मरमार्फत ११ किलोभोल्टमा बढाएर प्रसारण गरिन्थ्यो । काठ र स्टिलका पोलमा टाँगिएको करिब छ माइल लामो प्रसारण लाइनले फर्पिङको बिजुली टुँडिखेलसम्म पुर्याएको थियो ।
विसं १९६८ जेठ ९ गते साँझ टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले साँझ करिब ६:३० बजे बत्ती बालेर चन्द्रज्योति विद्युत् गृहको उद्घाटन गरेका थिए । त्यसपछि टुँडिखेल क्षेत्रमा एक सातासम्म बत्ती बालिएको थियो । उद्घाटनको भोलिपल्ट जङ्गी तथा निजामती कर्मचारीलाई एक दिन बिदा दिइएको इतिहास छ ।
सुरुका वर्षमा भने यस केन्द्रबाट उत्पादित बिजुली मुख्यतः राजपरिवार, राणा परिवार र पहुँच भएका स्थानमा मात्रै सीमित थियो ।
फर्पिङ जलविद्युत् केन्द्रले २०३८ सालसम्म नियमित विद्युत् उत्पादन गर्यो । त्यसपछि यसको पानी खानेपानी आपूर्तिमा प्रयोग हुन थालेपछि नियमित उत्पादन रोकियो । पुराना यन्त्रहरू मर्मत गरेर प्रदर्शनका लागि कहिलेकाहीँ चलाइने अवस्थामा राखिएका छन् । नेपाल विद्युत् प्राधिकरणले यस क्षेत्रलाई ऐतिहासिक विद्युत् सङ्ग्रहालयका रूपमा विकास गर्ने काम अघि बढाएको छ ।
धार्मिक र शैक्षिक भ्रमणको गन्तव्य बनाउने योजना
दक्षिणकाली नगरपालिकाका प्रमुख बस्नेतका अनुसार नगरपालिका यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा थप विकास गर्ने काममा जुटेको छ । अहिले नगरपालिकाले यहाँका पर्यटकीय स्थलको म्यापिङ गरिरहेको र चाँडै सार्वजनिक गर्ने तयारी गरेको उनले बताए ।
'फर्पिङ काठमाडौंको नजिकै भएको ऐतिहासिक पर्यटकीय क्षेत्र हो । यहाँ धार्मिक हिसाबले र इतिहास अध्ययन गर्न चाहनेहरूका लागि उपयुक्त गन्तव्य छ । त्यसबाहेक एक दिनको ट्रेकिङमा जाने र पिकनिक मनाउनेका लागि पनि उत्तम स्थलका रूपमा विकास भइरहेको छ,' उनले भने ।
जलविद्युत्का लगानीकर्ता विजय सागर प्रधान पनि फर्पिङलाई ऐतिहासिक, सांस्कृतिक र शैक्षिक भ्रमणको गन्तव्यका रूपमा चिनाउने प्रशस्त आधार रहेको बताउँछन् । उनका अनुसार जलविद्युत् केन्द्रको संरक्षण र प्रवर्द्धन गर्दै यस क्षेत्रलाई शैक्षिक गन्तव्यका रूपमा समेत विकास गर्न सकिन्छ ।
जलाशय, पावरहाउस, मन्दिर र गुम्बालाई जोडेर भ्रमणको राम्रो अनुभव तयार गर्न सके यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले नेपालको विद्युत् इतिहास नजिकबाट बुझ्ने अवसर पाउने प्रधानको भनाइ छ ।