५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेसँगै कप्तान दीपेन्द्रसिंह ऐरीको फ्रेन्चाइज क्रिकेट यात्रामा अर्को उपलब्धि थपिएको छ। सुदूरपश्चिमलाई पहिलो एनपीएल उपाधि दिलाएका दीपेन्द्रले कप्तानका रूपमा आफ्नो तेस्रो फ्रेन्चाइज उपाधि जितेका हुन्।
दीपेन्द्रको कप्तानीमा घरेलु फ्रेन्चाइज क्रिकेटमा उपाधि जितेको यो पहिलो अवसर भने होइन। सन् २०१९ मा उनले सीवाईसी अत्तरियालाई धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि दिलाएका थिए।
त्यसको तीन वर्षपछि सन् २०२२ मा उनको कप्तानीमा लुम्बिनी अल स्टार्सले पहिलो नेपाल टी–२० लिग जितेको थियो। अहिले सुदूरपश्चिमलाई एनपीएल च्याम्पियन बनाउँदै उनले कप्तानका रूपमा तेस्रो उपाधि थपेका छन्।
नेपाली क्रिकेटमा पछिल्लो पुस्ताका प्रभावशाली अलराउन्डरका रूपमा परिचित दीपेन्द्रको फ्रेन्चाइज यात्रा भने कम उमेरमै सुरु भएको थियो। सन् २०१७ मा एभरेस्ट प्रिमियर लिग (ईपीएल) का ६ मार्की खेलाडीमध्ये उनी पनि एक थिए। राष्ट्रिय टोलीमा स्थान बनाउँदै गरेका दीपेन्द्र त्यतिबेला मार्की खेलाडीको सूचीमा पर्ने एकमात्र युवा खेलाडी थिए। उनी चितवन टाइगर्सका मार्की खेलाडी बनेका थिए।
त्यसयता उनले घरेलु क्रिकेटका विभिन्न प्रतियोगितामा खेल्दै आफ्नो भूमिका विस्तार गरे। राष्ट्रिय टोलीमा उपकप्तानदेखि कप्तान सम्मको जिम्मेवारी सम्हालेका उनी उमेर समूहदेखि नै कप्तानी अनुभव बटुल्दै आएका थिए।
यू–१९ टोलीको नेतृत्व गर्दा भारतलाई पराजित गरेको क्षणदेखि फ्रेन्चाइज टोलीको कप्तानीसम्म आइपुग्दा दीपेन्द्रको नेतृत्व क्षमता निरन्तर परिपक्व हुँदै गएको देखिन्छ।
सन् २०१९ मा अत्तरियालाई डीपीएलको उपाधि दिलाउँदा उनले कप्तानका रूपमा पहिलो ठूलो फ्रेन्चाइज सफलता हात पारे।
त्यसपछि नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सको नेतृत्व गर्दै अर्को उपाधि जिते। एनपीएलमा भने सुदूरपश्चिमलाई लगातार तीन संस्करण फाइनलसम्म पुर्याएर तेस्रो प्रयासमा च्याम्पियन बनाएका छन्।
उपाधि जितेपछि दीपेन्द्रले सबैको अथक प्रयासले उपाधि जित्न सफल भएको बताए । उनले विदेशी खेलाडीबाट राम्रो प्रदर्शन भएको उल्लेख गर्दै सबै विदेशी खेलाडीलाई धन्यवाद दिए ।
‘हाम्रो टिममा आएर अनुभव साझा गरेर, हामीले यो वर्ष चाहिँ उपाधि जित्न सक्यौं’ उनले भने ।
‘हामीलाई समर्थन गरिरहनुहोला, नेपाली टोलीलाई पनि समर्थन गरिरहनुहोला हामी राम्रो गर्दै जानेछौं’ उनले थपे ।
दीपेन्द्रसँगै सन् २०१७ को ईपीएलमा मार्की खेलाडीका रूपमा घोषणा भएका खेलाडीमध्ये अधिकांश अहिले नेपाली क्रिकेटमा फरक भूमिकामा देखिन्छन्।
त्यतिबेला राष्ट्रिय टोलीका कप्तान रहेका पारस खड्का अहिले नेपाल क्रिकेट संघ (क्यान) का सचिव छन्। राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल एनपीएलमा कर्णाली याक्सका टिम डाइरेक्टरको जिम्मेवारीमा छन्।
त्यस्तै, शरद भेषावकर काठमाडौं गोर्खाजका क्रिकेट डाइरेक्टर छन् भने शक्ति गौचन लुम्बिनी लायन्सका कन्सल्टेन्ट प्रशिक्षकका रूपमा आबद्ध छन्। सन् २०१७ मा दीपेन्द्रसँगै मार्की खेलाडी रहेका यी पूर्वखेलाडी अहिले मैदानबाहिरबाट नेपाली क्रिकेट र फ्रेन्चाइज टोलीको विकासमा जोडिएका छन्।
सन् २०१७ को ईपीएलमा मार्की खेलाडी रहेका छ जनामा पारस, ज्ञानेन्द्र, शरद, शक्ति, सोमपाल कामी र दीपेन्द्र थिए। त्यसअघि सन् २०१६ को ईपीएलमा वसन्त रेग्मी कान्तिपुर गोर्खाजका कप्तान थिए।
यसरी त्यस समयका राष्ट्रिय टोलीका स्थापित खेलाडीहरू अहिले खेलाडी, प्रशिक्षक र व्यवस्थापकका रूपमा नेपाली क्रिकेटसँग जोडिइरहेका छन्।
एनपीएलको पहिलो संस्करणमा पनि दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिम फाइनलसम्म पुगेको थियो। तर, जनकपुर बोल्ट्ससँग पराजित भएपछि टोली उपविजेतामा सीमित भयो। दोस्रो संस्करणमा पनि सुदूरपश्चिम फाइनलमा पुग्यो। यसपटक लुम्बिनी लायन्ससँग पराजित भएपछि उपाधि जित्ने उसको प्रयास अधुरै रह्यो।
तेस्रो संस्करणमा सुदूरपश्चिमले फेरि फाइनलमा स्थान बनायो। पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि टोलीले फाइनल पुग्न दोस्रो अवसरको सदुपयोग गर्नुपर्ने थियो।
दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै फाइनल पुगेको सुदूरपश्चिमले यसपटक लुम्बिनीसँगको फाइनलमा भने १० विकेटको जित निकाल्यो। यससँगै लगातार तीन संस्करण फाइनल खेलेको सुदूरपश्चिमले पहिलोपटक उपाधि जित्यो।
टोलीलाई च्याम्पियन बनाउनुका साथै दीपेन्द्र व्यक्तिगत रूपमा पनि प्रतियोगिताका उत्कृष्ट खेलाडी बने। उनले १० खेलमा २१७ रन बनाउनुका साथै सात विकेट लिए। यही अलराउन्ड प्रदर्शनका आधारमा उनी यस संस्करणको ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।
पहिलो संस्करणमा पनि दीपेन्द्रले व्यक्तिगत पुरस्कार जितेका थिए। त्यतिबेला उनी ‘इलेक्ट्रिफाइङ नेपाली प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदै ओमोडा ई–५ विद्युतीय कार जित्न सफल भएका थिए।
उनले पहिलो संस्करणमा नौ खेलबाट २२७ रन बनाउनुका साथै नौ विकेट लिएका थिए। तर, टोली भने फाइनलमा जनकपुरसँग पराजित भएको थियो।
पहिलो संस्करणमा व्यक्तिगत पुरस्कार पाए पनि उपाधि जित्न नसकेका दीपेन्द्र दोस्रो संस्करणमा पनि फाइनलको हार बेहोर्न बाध्य भए।
तेस्रो संस्करणमा भने व्यक्तिगत उत्कृष्टता र टोलीको सफलता दुवै हात पारे। कप्तानका रूपमा तेस्रो फ्रेन्चाइज उपाधि जितेका दीपेन्द्रका लागि एनपीएलको यो सफलता उनको नेतृत्व यात्राको अर्को महत्त्वपूर्ण उपलब्धि बनेको छ।