भन्सार ऐनअन्तर्गतको कसुरमा तीन चिनियाँ नागरिक पुर्पक्षका लागि थुनामा गइसकेपछि प्रहरीले फेरि संगठित अपराधको कसुरमा अनुसन्धान थालेको हो
काठमाडौँ — प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट बरामद २१ किलो सुनका विषयमा संगठित अपराधको कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । सुनसहित पक्राउ परेका ३ जना चिनियाँ नागरिकविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले संगठित अपराधको कसुरमा समेत अनुसन्धान थालेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले संगठित रूपमा तस्करी भएर तेस्रो मुलुक लैजान लागिएको देखिएकाले यसमा संलग्न अरूको ‘नेक्सस’ पहिचान र यसको शैलीबारे अनुसन्धान गर्ने गरी अनुसन्धान थालिएको जानकारी दिए । संगठित अपराध निवारण ऐन, २०७० अनुसार छानबिन गर्न कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरेको नेतृत्वमा अनुसन्धान टोली बनाएको छ ।
टोलीलाई सुन कुन देशबाट आएको थियो र कुन शैलीबाट ल्याइएको थियो, कसरी तेस्रो मुलुक जाँदै थियो भन्ने पत्ता लगाउने जिम्मेवारी दिइएको छ । टोलीका एक अधिकृतका अनुसार प्रारम्भिक जाँचका क्रममा सुन हङकङबाट अर्धठोस स्वरूपमा हवाई मार्ग हुँदै काठमाडौं आएको देखिएको छ । ‘सुन कुन एयरलाइन्सबाट आएको थियो भन्नेबारे समेत केही सूचना प्राप्त भएका छन्, त्यसलाई भेरिफाइ गरिरहेका छौं,’ ती अधिकृतले भने, ‘बरामद भएको सुन भारततर्फ जानेवाला थियो, त्यसबारे पनि छुट्टै जाँच भइरहेको छ ।’
प्रहरीले २२ असोजमा २१ किलो ७ सय ५० ग्राम सुन बुढानीलकण्ठबाट बरामद गरेको थियो । एउटा घर नै भाडामा लिएर सुन प्रशोधन कारखाना चलाउँदै आएको अवस्थामा प्रहरीले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ४७ वर्षीय झोउ लाङक्विन, ३७ वर्षीय हान फेई र ३६ वर्षीय वाङ जिआनजेङ छन् । पक्राउ परेपछि बरामद सुन र तीन जनालाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालय पठाएको थियो । उनीहरू भन्सार ऐनअन्तर्गतको कसुरमा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
अनुसन्धानका क्रममा चिनियाँ नागरिकहरूले असहयोग गरेका थिए । दोभासेको सहयोगमा बयान लिँदा उनीहरूले केही जवाफ दिन इन्कार गरेका थिए । मुख्य नाइके चीनमै रहेको उनीहरूको भनाइ थियो ।
प्रहरीले उनीहरूको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । त्यसको रिपोर्ट आएपछि सुन ल्याउने शैलीबारे केही जानकारी आउन सक्ने प्रहरीको अपेक्षा छ । ‘रिपोर्ट आएपछि यस प्रकरणमा जोडिएका अरू कतिपयको विवरणसँगै उनीहरूको तस्करी शैलीबारे समेत सूचना आउन सक्छ भन्ने हाम्रो बुझाइ हो,’ अनुसन्धानमा संलग्न अर्का एक अधिकृतले भने, ‘ल्याबको रिपोर्ट आउनेबित्तिकै त्यसका आधारमा अनुसन्धान अघि बढाउँछौं ।’
प्रहरीले यसअघि नै सुन तस्करीमा संलग्न गिरोहका नेपाली सहयोगीको खोजी सुरु गरेको थियो । तर अनुसन्धानमा चिनियाँ नागरिकको असहयोगका कारण कठिनाइ भएको थियो । अनुसन्धानमा संलग्न अर्का एक अधिकृतका अनुसार सुनको भण्डारण, बिक्री र भारततर्फ पठाउने कार्यमा नेपाली नागरिकको संलग्नता हुन सक्ने आशंकामा अझै अनुसन्धान चलिरहेको छ । सुन तस्करीको सञ्जालमा विदेशी नागरिकले सुन ल्याउने वा प्रशोधन गर्ने गरे पनि त्यसलाई बजारमा पुर्याउन स्थानीय सहयोग आवश्यक पर्ने अनुसन्धान अधिकारीहरू बताउँछन् ।
नेपालमा सुनको भण्डारण, ढुवानी, बिक्री र भारततर्फ ओसारपसारमा स्थानीय सम्पर्कको भूमिका हुन सक्ने भएकाले पक्राउ परेका चिनियाँ नागरिकका डिजिटल उपकरण, उनीहरूको आवतजावत र सम्पर्कमा रहेका व्यक्तिबारे अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बरामद भएको गाडीको जीपीएस रेकर्ड र विभिन्न स्थानका सीसीटीभी फुटेजसमेत विश्लेषण गरिएको छ ।
अनुसन्धानका क्रममा बरामद गाडी कम्तीमा ६ पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा पुगेको देखिएको थियो । त्यसका आधारमा प्रहरीले सुन अर्धठोस पदार्थका रूपमा विमानस्थलबाटै बाहिरिएको निष्कर्ष निकालेको थियो । हान फेईले नेपाल आएलगत्तै विमानस्थलबाट उक्त गाडी भाडामा लिएका थिए । उनले १० देखि २५ असोजसम्मका लागि गाडी भाडामा लिएको देखिएको छ । त्यसअघि पनि उनी १९ साउनमा परिवारसहित नेपाल आएर सुनको बजार अवस्था र मूल्य बुझेर १३ भदौमा चीन फर्किएका थिए । त्यतिबेला पनि उनको नेपालीहरूसँग सम्पर्क भएको र सहयोग लिएको हुन सक्ने प्रहरीको आशंका छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मुलुकमा दैनिक ३० किलो सुन खपत हुने गरेको छ । तर, नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकमार्फत दैनिक २५ किलो सुन मात्रै बजारमा पठाउने गरेको छ । यसले नेपाली बजारमा दैनिक पाँच किलो सुनको अभाव हुनुपर्ने देखाउँछ । अभाव हुनुपर्ने सुन तस्करीबाट आउनेले पूरा गर्ने २०७४ सालमा गठित उच्चस्तरीय सुन छानबिन समितिका सदस्यसमेत रहेका पूर्वएआईजी वसन्त लामा बताउँछन् । ‘नेपालमा खपत हुनेबाहेक सबै सुन भारततर्फ जाने हो,’ उनले भने, ‘चिनियाँले आफैं सुन नेपालसम्म ल्याए पनि नेपालीको सहयोगबिना भारत लैजान कठिन हुन्छ ।’ भारतीय नागरिकको समेत सहयोग लिए पनि कुनै न कुनै तहमा नेपालीको संलग्नता हुन सक्ने उनले बताए ।
अनुसन्धानमा संलग्न अधिकृतहरू भने हालसम्म नेपालीको संलग्नता फेला नपरेको बताउँछन् । ‘त्यस पाटोमा पनि अनुसन्धान चलिरहेको छ, अहिलेसम्म बताउन मिल्ने विवरण आइसकेका छैनन्,’ एसएसपी खड्काले भने ।
नेपालमा पछिल्लो एक दशकमा हवाई र स्थलमार्ग हुँदै तस्करी गरिएको ५ सय ७९ किलो २ सय १८ ग्राम सुन बरामद भएको छ । आर्थिक वर्ष २०७३/७४ देखि २०८२/८३ सम्मको प्रहरी तथ्यांकअनुसार यस अवधिमा सुन तस्करीमा संलग्न देखिएका ७ सय ६८ जना पक्राउ परेका छन् । बरामद सुनबाट ५ अर्ब ६१ करोड ८२ लाख ३३ हजार ८ सय ८५ रुपैयाँ राजस्व असुली भएको छ ।
गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।