शनिबार राति धरान रंगशालामा सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो।
सुनसरी — विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
शनिबार राति धरान रंगशालामा सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा भने एपीएफले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल निकाल्यो।
अतिरिक्त समयको चौथो मिनेटमा रसमी कुमारी घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। त्यसपछि अतिरिक्त समयको ३०औँ मिनेटमा अनिता केसीले दोस्रो गोल थपेपछि एपीएफको जित पक्का भएको हो।
नेपाल पुलिस क्लबले खेलमा फर्किने प्रयास गरे पनि एपीएफको रक्षापंक्ति तोड्न सकेन। अन्ततः घिसिङ र केसीको गोल निर्णायक बन्दै एपीएफलाई पहिलो संस्करणकै उपाधि दिलायो। उपाधिसँगै एपीएफले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको नेपाल पुलिस क्लबले ३ लाख नगद पुरस्कार प्राप्त गरेको छ।
पहिलो संस्करणमै उपाधि जित्दै एपीएफले धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपको पहिलो च्याम्पियनका रूपमा इतिहासमा आफ्नो नाम लेखाएको छ।
रातको समयमा आयोजित फाइनल हेर्न धरान रंगशालामा उल्लेख्य संख्यामा दर्शक उपस्थित थिए। निर्धारित समयमा गोलविहीन रहेको खेल अतिरिक्त समयमा पुगेपछि एपीएफका दुई गोलले फाइनलको रोमाञ्चकता थपेको थियो।
मंसिर ७ देखि सुरु भएको प्रतियोगितामा एक भारतीय सहित आठ टिमको सहभागिता थियो। प्रतियोगिता डी १९ क्लब र स्वर्णिम फुटबल क्लबले संयुक्त रुपमा आयोजना गरेका हुन्।
अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।