Trending
Prev Story
Next Story

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : दुई अर्ब डलरको प्रस्तावमा भारत सकारात्मक, हवाई रुटमा जुटेन सहमति

Ekantipur •
November 21, 2026 • 05:32 PM
5
5 reads 0 reactions

भारत हुँदै नेपाल प्रवेश गर्ने विमानले कति उचाइमा उडान गर्न पाउने भन्नेमा छलफल जारी, बागडोगरा हुँदै आफ्ना सैन्य विमानलाई उडान अनुमति दिनुपर्ने भारतको प्रस्तावले वार्ता थप जटिल

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : दुई अर्ब डलरको प्रस्तावमा भारत सकारात्मक, हवाई रुटमा जुटेन सहमति

भारत हुँदै नेपाल प्रवेश गर्ने विमानले कति उचाइमा उडान गर्न पाउने भन्नेमा छलफल जारी, बागडोगरा हुँदै आफ्ना सैन्य विमानलाई उडान अनुमति दिनुपर्ने भारतको प्रस्तावले वार्ता थप जटिल

नयाँदिल्ली र काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा दुई अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र अनुदानसम्बन्धी नेपालको प्रस्तावमा भारतले सकारात्मक संकेत दिएको छ । नेपालले प्रस्ताव गरेअनुरूप थप हवाई रुट उपलब्ध गराउने विषयमा भने सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री शाहको आइतबारदेखि हुने दुईदिने भारत भ्रमणअघि दुई मुलुकका अधिकारीबीच चलेको वार्तामा नेपालले सहुलियतपूर्ण ऋण र अनुदान तथा भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने थप हवाई रुट उपलब्ध गराउन प्रस्ताव राखेको थियो । ‘यी दुई विषय नै भ्रमणका क्रममा नेपालको प्रमुख प्राथमिकतामा छन्,’ परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले कान्तिपुरसँग भने ।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै, सीमित अधिकारीसहित र प्रतिनिधिमण्डल स्तरमा गरी सोमबार एक घण्टा वार्ता हुने कार्यतालिका आर्थिक सहयोगको प्रस्तावमा नयाँदिल्ली सकारात्मक देखिए पनि थप हवाई रुटका विषयमा भने दुई पक्षबीच सहमति जुट्न नसकेको वार्ताबारे जानकार अधिकारीहरूको भनाइ छ । ‘भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने थप हवाई रुट उपलब्ध गराउने नेपालको प्रस्तावमा अझै वार्ता जारी छ,’ एक अधिकारीले भने ।

वार्तामा भारतीय पक्षले बागडोगरा प्रवेश बिन्दु हुँदै आफ्ना सैन्य विमानलाई समेत उडान अनुमति दिनुपर्ने प्रस्ताव राखेको छ । यसले वार्तालाई थप जटिल बनाएको छलफलमा सहभागी एक नेपाली अधिकारीले बताए । ‘हामीले सैन्य विमानलाई होइन, नागरिक विमानलाई मात्र अनुमति दिन सकिने स्पष्ट पारेका छौं,’ ती अधिकारीले भने, ‘यो नयाँ प्रस्ताव भएकाले दुवै पक्षबीच छलफल भइरहेको छ ।’

भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने विमानले कति उचाइमा उडान गर्न पाउने भन्ने विषयमा पनि दुई पक्षबीच छलफल भइरहेको छ । भारतले ३९ हजार फिट उचाइ प्रस्ताव गरेको छ भने नेपालले त्यसलाई घटाएर करिब २९ हजार फिट कायम गर्नुपर्ने अडान राखेको ती अधिकारीले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूका अनुसार नेपालले पश्चिमी क्षेत्रको एल६२६ (काठमाडौं–महेन्द्रनगर) हवाई रुटलाई दुवैतर्फी सञ्चालनमा ल्याउन जोड दिइरहेको छ । यसो भए अन्तर्राष्ट्रिय विमानले नेपालको पश्चिमी सीमाबाट प्रवेश र बहिर्गमन दुवै गर्न सक्नेछन् ।

१९ नोभेम्बर २००९ देखि सञ्चालनमा आएको उक्त रुटबाट हाल अन्तर्राष्ट्रिय विमानले नेपालको पश्चिमी क्षेत्र हुँदै बाहिरिन मात्र पाउँछन् । त्यही रुटबाट नेपाल प्रवेश गर्न भने अनुमति छैन ।

यी दुई प्रमुख विषयबाहेक भ्रमणका क्रममा दुई पक्षबीच विभिन्न सम्झौतामा हस्ताक्षर, नयाँ परियोजनाको उद्घाटन तथा जनकपुर–अयोध्याबीचको सिधा रेल सेवा उद्घाटन गर्ने कार्यक्रम पनि छ ।

प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय संवादमा एक घण्टा व्यतित गर्ने कार्यतालिका छ । प्रधानमन्त्री शाह नेतृत्वको नेपाली टोली भेटवार्ताका लागि सोमबार बिहान ११ बजे हैदरावाद हाउस पुग्नेछ । ५ मिनेटको फोटो सेसनपछि द्विपक्षीय भेटवार्ता हुने तालिका छ ।

शाह र मोदीबीचको भेटवार्ताका लागि ११ बजेर ५ मिनेटदेखि ११ बजेर ३० मिनेटसम्मको समय छुट्याइएको छ । दुई प्रधानमन्त्रीबीच हुने बैठकलाई ‘रेस्ट्रिकेटेड मिटिङ’ भनिएको छ । त्यसमा प्रधानमन्त्रीसँग सीमित अधिकारीको सहभागिता रहन सक्छ । उक्त भेटवार्ता हैदरावाद हाउसको नीलगिरी हलमा हुने भारतले निर्धारण गरेको कार्यतालिकामा उल्लेख छ । उक्त कार्यतालिका नेपाली पक्षलाई उपलब्ध गराइएको छ ।

नीलगिरी हलमै दुई प्रधानमन्त्रीको एक्लाएक्लै वार्ताका लागि समय तोकिएको छ । साढे ११ देखि ११ बजेर ४५ मिनेट समय त्यसका लागि निर्धारण गरिएको छ । हैदरावाद हाउसकै गिरनार रुममा १२ बजेदेखि १२ बजेर २० मिनेटसम्म प्रतिनिधिमण्डल तहको वार्ता हुनेछ । उक्त वार्ताको नेतृत्व नेपालका तर्फबाट प्रधानमन्त्री शाहले र भारतका तर्फबाट प्रधानमन्त्री मोदीले गर्नेछन् ।

प्रधानमन्त्री तहमा हुने तीन चरणको वार्ता पछाडि दुई देशबीच समझदारीपत्रहरूको आदानप्रदान हुनेछ । विभिन्न ६ परियोजनाको उद्घाटन र शिलान्यास ‘भर्चुअल’ रूपमा गर्ने तयारी छ । त्यसमा अयोध्या–जनकपुर रेल सेवा शुभारम्भ, दार्चुलामा निर्मित मोटरेबल पुलको उद्घाटन गरिनेछ । त्यस्तै, भारततर्फ उत्तराखण्डको बनवासामा एकीकृत जाँच चौकीको शिलान्यास तथा नेपालतर्फ दोधारा चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माण प्रगतिको अवलोकन दुवै प्रधानमन्त्रीले गर्नेछन् ।

६ सय ६९ मेगावाटको तल्लो अरुण विद्युत् उत्पादन परियोजनाको शिलान्यास, झापामा निर्माण हुने पेट्रोलियम पदार्थ भण्डारण टर्मिनल निर्माणको शुभारम्भसमेत दुवै प्रधानमन्त्रीले गर्नेछन् । त्यस्तै, निर्माण सम्पन्न भएको दोस्रो चरणको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको परियोजना नेपाललाई हस्तान्तरण गरिनेछ । त्यसपछि दुवै प्रधानमन्त्रीले हैदरावाद हाउसमै प्रेसलाई सम्बोधन गर्नेछन् ।

भारतका प्रधानमन्त्री मोदीका तर्फबाट हैदरावाद हाउसमै नेपालका प्रधानमन्त्री शाह नेतृत्वको नेपाली टोलीका लागि दिवा भोज राखिएको छ । दुवै पक्षले उपहार आदानप्रदान गरेपछि प्रधानमन्त्री शाह अपराह्न २ बजेर २५ मिनेटमा हैदरावाद हाउसबाट बाहिरिनेछन् । दिल्लीको मानसिंह रोडमा रहेको ताजमहल होटलमा केहीबेरको ‘रिफ्रेसमेन्ट’ पछाडि प्रधानमन्त्री शाह ३ बजेर १५ मिनेटमा राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट्न राष्ट्रपति भवन पुग्नेछन् ।

राष्ट्रपति भवनमा आधा घण्टा व्यतित गरेपछि त्यहीँबाट नेपाली भ्रमण टोली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्नेछन् । आइतबार अपराह्न ३ बजेर १५ मिनेटमा दिल्लीमा अवतरण गर्ने र सोमबार अपराह्न ४ बजेर ५० मिनेटमा नेपाल एयरलाइन्सको नियमित विमानबाट प्रधानमन्त्री शाह नेपाल फर्किने कार्यतालिका छ ।

दिल्ली पुगेको पहिलो दिन प्रधानमन्त्री शाहलाई भारतीय विदेशमन्त्री एस. जयशंकरले साँझ ६ बजे ताजमहल होटलमा भेट्ने कार्यक्रम छ । दोस्रो दिन बिहान ९ बजेर ५० मिनेटबाटै प्रधानमन्त्रीको व्यस्तता सुरु हुनेछ । १० बजे राष्ट्रपति भवनमा शाहको सम्मानमा ‘सेरेमोनियल रिसेप्सेन’ राखिएको छ । राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री शाहको त्यहाँ औपचारिक प्रोटोकलअनुसार ‘गार्ड अफ अनर’ सहितको स्वागत समारोह हुनेछ । त्यहाँबाट महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्प अर्पण गरेपछि प्रधानमन्त्री शाह हैदरावाद हाउस आउनेछन् ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मोदी र शाहबीच हुने द्विपक्षीय वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान हुनेछ । नेपालको परराष्ट्र मन्त्रालयले पनि भ्रमणका क्रममा दुई प्रधानमन्त्रीले दुई देशको शताब्दियौं पुरानो सम्बन्धलाई आधार बनाउँदै साझा चासोका विविध विषयमा छलफल गर्ने जनाएको छ । आपसी सहकार्य र साझेदारीलाई थप सुदृढ बनाउने विषयमा पनि कुराकानी हुनेछ ।

भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्तिसँगै विकास र समृद्धिका लागि संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारी छ । संयुक्त विज्ञप्तिमा प्रयोग गरिने भाषाका विषयमा पनि दुई पक्षबीच छलफल भइरहेको छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत र नेपालबीच ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धका साथै जनस्तरको बलियो सम्बन्धमा आधारित घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको जनाएको छ । ‘व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत र भौतिक एवं डिजिटल सम्पर्क सञ्जाल (कनेक्टिभिटी) लगायत विविध क्षेत्रमा द्विपक्षीय सहकार्यले प्रगति गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘स्टार्टअप, प्रविधि तथा नवप्रवर्तन र खेलकुदजस्ता नयाँ क्षेत्रमा पनि सहकार्य विस्तार हुँदै गएको छ ।’

दुई देशबीच नियमित रूपमा हुँदै आएका उच्चस्तरीय आदानप्रदानको निरन्तरताका रूपमा रहेको यस भ्रमणले भारतको ‘छिमेक पहिलो’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिएको महत्त्वलाई प्रतिबिम्बित गर्ने पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ । भ्रमणले द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउन र दुवै देशका लागि लाभदायी सहकार्य अघि बढाउन अवसर प्रदान गर्ने पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको परराष्ट्र मन्त्रालयले यस भ्रमणबाट प्राप्त हुने उपलब्धिले द्विपक्षीय साझेदारीलाई थप गति दिने र दुवै देशका नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस लाभ हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको जनाएको छ । नेपाल र भारतबीचको लामो समयदेखिको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन यो भ्रमण सहयोगी हुने विश्वास पनि मन्त्रालयले व्यक्त गरेको छ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कूटनीति, निर्वाचन प्रणाली र संघीयताका विषयमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
प्रधानमन्त्री वालेन्द्र शाहले भोलिदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्नुहुँदै

प्रधानमन्त्री वालेन्द्र शाहले भोलिदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्नुहुँदै

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमणका लागि भोलि भारतको राजधानी नयाँ दिल्ली जादै हुनुहुन्छ । प्रधानमन्त्री शाह भोलि अपरान्ह नेपाल वायुसेवा निगमको जहाज मार्फत नयाँ दिल्...

#भारत #शाह #वालेन्द्र
Compare →
Nagarik News
13h ago
प्रधानमन्त्रीको भारत भ्रमण: थप हवाई प्रवेशमार्गको टुंगो लगाउन निजी क्षेत्रको माग

प्रधानमन्त्रीको भारत भ्रमण: थप हवाई प्रवेशमार्गको टुंगो लगाउन निजी क्षेत्रको माग

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेशमार्गको विषय टुंगोमा पु¥याउन निजी क्षेत्रले माग गरेको छ।

#भारत #भ्रमण #हवाई
Compare →
Arthasansar
13h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#भारत #भ्रमण
Compare →
Onlinekhabar
1d ago
‘भारतले बालेन शाहलाई चासोपूर्वक हेरेको छ, नेपाल नीतिमा पुनरावलोकन गर्नुपर्छ’

‘भारतले बालेन शाहलाई चासोपूर्वक हेरेको छ, नेपाल नीतिमा पुनरावलोकन गर्नुपर्छ’

५ मंसिर नयाँ दिल्ली (भारत) । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारबाट भारत भ्रमण गर्दैछन् । यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले अर्थपूर्ण अवसरका रूपमा हेरिएको छ। नेपालमा जेनजी आन्दोलनपछि उदाएको शक्तिशाली नेतृत्वलाई भारतले आफ्नै भूमिमा औपचारिक …

#भारत #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612