कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा लुम्बिनी लायन्सलाई पराजित गर्दै च्याम्पियन बनेको सुदूरपश्चिमले एनपिएलमा पहिलोपटक उपाधि उचाल्दै आफ्नो नाममा सफलता हात पार्न सफल भएको हो ।
तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल
चौका र छक्काको वर्षा, अन्तिम समयसम्म कायम जितको रोमाञ्चक प्रतिस्पर्धा र दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण (सिजन-३) को उपाधि सुदूरपश्चिम रोयल्सले आफ्नो नाममा दर्ता गराउँदै प्रतियोगिता सम्पन्न भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा लुम्बिनी लायन्सलाई पराजित गर्दै च्याम्पियन बनेको सुदूरपश्चिमले एनपिएलमा पहिलोपटक उपाधि उचाल्दै आफ्नो नाममा सफलता हात पार्न सफल भएको हो ।
लगातार पहिलो र दोस्रो संस्करणको एनपिएलमा फाइनलमा पुग्दै उपविजेतामा सिमित बनेको सुदूरपश्चिमले यसपटक भने नयाँ इतिहास कायम गर्यो । दोस्रो संस्करणको एनपिएलमा लुम्बिीनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो । गत कात्तिक ९ गतेदेखि सुरुआत भएको तेस्रो संस्करणको एनपिएलमा सुदूरपश्चिम विजेता बनेको छ । यसअघि भएको पहिलो संस्करणमा जनकपुर बोल्टल्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।
लिगचरणमा सुदूरपश्चिमको यात्रा भने निकै सङ्घर्षपूर्ण रह्यो । पहिलो खेलमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले पोखरालाई हराउँदै खेलमा पुनरागमन गरेको थियो । त्यसपछि तेस्रो खेलमा विराटनगरसँग पराजित भए पनि चितवन, कर्णाली, जनकपुर र काठमाडौँलाई लगातार हराउँदै लिग चरणमा दोस्रो स्थान हासिल गर्यो । सुदूरपश्चिमले लिग चरणमा १० अङ्क बटुलेको थियो । आजको फाइनल खेलमा जर्ज मन्सीको आक्रामक शतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि १० विकेटको शानदार जित निकालेको हो । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पच्छाएको सुदुरपश्चिमले १३ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्यो ।
तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।
अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।