क्वालिफायर–२ मा पराजित भए पनि ढकालले सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र सर्वाधिक विकेटकर्ताको पुरस्कार पाए।
काठमाडौँ — बिहीबार क्वालिफायर–२ मा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि रिजन ढकाल र चितवन राइनोज खुसी थिएनन्। तर, फाइनलपछिको रात भने ढकालका लागि स्मरणीय रह्यो।
सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र समग्रमा सर्वाधिक विकेट लिने बलर बन्दै ढकालले क्रमशः कार, मोटरसाइकल र २ लाख रुपैयाँ हात पारे।
जेको जे५ प्रो कारको विजेता घोषणा भएपछि २७ वर्षीय ढकाल भावुक बनेका थिए।
यस्तै, जनकपुर बोल्ट्सका लागि सात खेलमा १२ विकेट लिएका किशोर बलर राहुल यादव सिजनको उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) घोषित भए। यादवले बजाज पल्सर एन१६० मोटरसाइकल प्राप्त गरे।
मोटरसाइकल पाउने अर्का खेलाडी लोकेश बम रहे, जो सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान बने। बमले सात खेलमा २ सय ४२ रन जोडेका थिए।
यद्यपि, युवराज सिंह सामराले ५२ रनले पछि पारेपछि बम प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बन्न सकेनन्। क्यानेडियन युवा ब्याट्सम्यान सामराले पोखरा एभेन्जर्सका लागि मात्र चार खेल खेल्दै २ सय ९४ रन बनाएका थिए।
अन्त्यमा, दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) घोषित भए र नगद ५ लाख रुपैयाँ पुरस्कार हात पारे।
नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।