५ मंसिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा निर्माण कम्पनीले कर्णाली प्रदेश रङ्गशालामा ताला लगाउने चेतावनी दिएको छ ।
निर्माण सम्पन्न भएको तीन महिना बित्दा पनि प्रदेश सरकारले अन्तिम भुक्तानी नदिएको भन्दै निर्माण कम्पनीले रङ्गशालामा ताला लगाउने चेतावनी दिएको हो ।
तीन महिना अगाडि नै काम सम्पन्न गरेर अन्तिम भुक्तानी प्रक्रिया पूरा गर्दा पनि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले हस्तान्तरण प्रक्रिया अगाडि नबढाएको निर्माण कम्पनीले बताएको छ ।
प्रदेश सरकारले अन्तिम भुक्तानी दिएर हस्तान्तरण लिनुको साटो पेलेरै जान खोजेको निर्माण कम्पनी एमएसी/जिएसएल जेभीका इन्जिनियर पुरुषोत्तम बरालको आरोप छ ।
‘हामीले तीन महिना अगाडि नै काम सम्पन्न गरेका हौँ । बाँकी भुक्तानी लागि आवश्यक कागजात पनि पुरा गरिसकेका छौँ । तर परिषद्ले कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन’, इन्जिनियर बरालले अनलाइनखबरसँग भने, ‘दसौँ अगावै भुक्तानी नभए रङ्गशालामा ताला लगाउनुको विकल्प छैन ।’
निर्माण सम्पन्न पछि पनि प्रदेश सरकारले औँल्याएका केही कमजोरी समेत सुधार गरिएको उनले बताए । उनले भने, ‘यो विषयमा हिजो मात्रै हामीले मुख्यमन्त्रीज्यूसँग भेटेरै कुरा राखेका थियौँ । उहाँले पनि छलफल गरौंला भन्नु भयो । तर प्रस्ट जवाफ दिनु भएन ।’
घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुदको दशौं संस्करण सुरु हुन अब ११ दिन बाँकी छ । मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका केही खेलहरू भने मंसिर ८ गतेबाट सुरु हुँदै छन् ।
प्रतियोगिताका खेल सुरु हुन दुई दिन बाँकी हुँदा रङ्गशालामा ताला लगाउने निर्माण व्यवसायीको अडानले प्रतियोगिताप्रति नै अन्यौलता बढाएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णाली प्रदेश सरकारले १ अर्ब ५९ करोड ४७ लाख लागतमा प्रदेश रङ्गशाला निर्माण गरेको थियो । प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–८ को मध्य भागमा ९ बिघा क्षेत्रफलमा फैलिएको रङ्गशालामा आधुनिक र भव्य खेल संरचना निर्माण गरिएको छ ।
तर, प्रदेश सरकारकै ढिलासुस्तीका कारण प्रतियोगिता नजिक आउँदा पनि रङ्गशाला प्रदेश सरकारमातहत आएको छैन । २०८१ जेठमा निर्माण सम्पन्न हुनुपर्ने रङ्गशालाको अन्तिम चरणको एक प्रतिशत काम बाँकी रहेको थियो । दुई वर्ष प्रदेश खेलकुद परिषद् रिक्त हुँदा रङ्गशाला अलपत्र परेको मात्र थिएन, चलायमान नहुँदा संरचना जीर्ण बन्न थालेका थिए ।
गत चैतमा परिषद्ले पूर्णता पाएसँगै बाँकी एक प्रतिशत २०८३ साउन मसान्तमै निर्माण कम्पनीले काम सम्पन्न गरी सकेको थियो । अहिले रङ्गशालामा विभिन्न खेलकुद गतिविधि भइरहेका छन् । १८ वटा खेलको बन्द प्रशिक्षण चलिरहँदा अधिकांश खेलको प्रशिक्षण रङ्गशालामै भइरहेको छ ।
तर प्रदेश सरकारले हस्तान्तरण नलिँदा खेलाडीहरूले शौचालयहरूसमेत पर्याप्त रूपमा प्रयोग गर्न पाएका छैनन् । ‘खेल मैदानहरू प्रयोग भइरहेका छन् । तर अधिकांश संरचनामा अहिले पनि ताला छ’, निर्माण कम्पनीका इन्जिनियर बराल भन्छन्, ‘भोली कुनै पनि संरचना तोडफोड भए जिम्मा कसले लिन्छ ? फेरी हामीले नै बनाइदिनुपर्ने ।’
प्रदेश सरकारले भुक्तानी दिएर हस्तान्तरण नलिएसम्म दशौं खेलकुद प्रतियोगितामा कुनै पनि सहयोग गर्न नसकिने निर्माण कम्पनीले चेतावनी दिएको छ ।
‘अहिले पनि पानी, बिद्युत् लाइन देखि सबै कुराहरू हाम्रै कन्ट्रोलमा छ । भुक्तानी नभएसम्म कुनै पनि कुरामा सहयोग गर्न सक्दैनौ भनेर मुख्यमन्त्री ज्यूलाई भेटेरै भनेका छौँ’, उनले भने ।
प्रतियोगिता अवधिमा कुनै पनि संरचना टुटफुट भए वा भव्यतव्य भए यसको जिम्मेवारी निर्माण कम्पनीले नै दिनुपर्ने भएकाले पनि हस्तान्तरण महत्त्वपूर्ण भएको बरालले बताए ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा पनि यस्तै समस्या झेल्नु परेको उनले बताए । ‘नवौँ खेलकुद प्रतियोगिता हुँदा पनि पोखराका संरचना हामीले नै बनाएका थियौ’, उनले भने, ‘त्यहाँ पनि यस्तै समस्या आएको थियो । त्यो बेला पनि हामीले ताला नै लगाउन बाध्य भएका थियौँ । त्यही अहिले पनि दोहोरिएको छ ।’
रङ्गशाला हस्तान्तरणका लागि प्राविधिक टोलीको प्रतिवेदन र भुक्तानीको विषय नटुङ्गिएको मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बताए । ‘प्राविधिक टोलीले मूल्याङ्कन प्रतिवेदन दिएको छ । अब हेर्नुपर्छ’, उनले भने, ‘तेस्रो पक्षबाट मूल्याङ्कन गराएर भुक्तानी हुन्छ । र, छिट्टै हस्तान्तरण पनि हुन्छ ।’
मुख्यमन्त्री र विभागीय मन्त्रीको उपस्थिति मिलाउनेदेखि रङ्गशालामा राखिने शिलालेखमा कसको नाम लेख्दे भन्ने विषयमा सहमति जुट्न नसकेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का एक सदस्य बताउँछन् ।
उता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रवीन्द्र चन्द भने रङ्गशालाको निर्माण सम्पन्न भए पनि कार्य व्यस्तता र समय व्यवस्थापन गर्नुपर्ने भएकाले हस्तान्तरणमा ढिलाइ भएको बताउँछन् ।
‘हस्तान्तरण लिने जिम्मेवारी परिषद्कै हो । तर मुख्यमन्त्री, पूर्व मुख्यमन्त्रीज्यूहरू र सामाजिक विकास मन्त्रीज्यूहरूको समय नमिल्दा हस्तान्तरण केही ढिला भएको हो’, सदस्यसचिव चन्दले अनलाइनखबरसँग भने, ‘प्रतियोगिता सुरु हुनुअगावै हस्तान्तरण लिने तयारी छ । यही मंसिर ७ गतेभित्रै लिन्छौं ।’
उनका अनुसार, यसअघि मंसिर ५ गते एक समारोहका बीच हस्तान्तरण गर्ने मिति तय भएको थियो । तर मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री जितबहादुर मल्लको समय नमिल्दा ७ गतेका लागी सारिएको बताइएको छ ।
हस्तान्तरणपछि गर्नुपर्ने प्राविधिक परीक्षण, सरसफाइ, सुरक्षा तथा सञ्चालन व्यवस्थापनका कामसमेत बाँकी छन् । प्रदेश रङ्गशालामा करिब १० हजार दर्शक अट्ने भव्य फुटबल मैदान रहेको छ । त्यस्तै एथलेटिक्स र्ट्याक, पौडी पोखरी, मार्सल आर्ट्स हल, भलिबल तथा बहुउद्देश्यीय कभर्डहल लगायत संरचना निर्माण गरिएका छन् ।
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन तथा प्रमुख प्रतियोगिता सञ्चालन गर्ने केन्द्रका रूपमा रङ्गशालालाई तयार गरिएको छ । प्रादेशिक रङ्गशालामा यसअघि १७–१८ वटा खेल खेलाइने बताइएको थियो ।
तर अहिले त्यसलाई घटाएर रङ्गशाला कम्पाउन्डभित्र १३ देखि १५ वटा खेल खेलाइने तयारी गरिएको सदस्य सचिव चन्दले बताए । केही खेल वीरेन्द्रनगरका अन्य मैदान तथा छिन्चुमा पनि राखिएको छ ।
त्यस्तै, सल्यानमा कुस्ती, रुकुम पश्चिममा शारीरिक सुगठन, दैलेखमा आईटीएफ तेक्वान्दो र कालिकोटमा बुद्धिचाल (चेस) लगायतका खेल खेलाइने छ । केही खेल लुम्बिनीका बाँके र बर्दियामा खेलाइने छ । महिला फुटबल वा भलिबलमध्ये कुनै खेल जुम्लामा पनि सञ्चालन गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको उनले बताए ।