स्थानीय सञ्चारमाध्यमका अनुसार नोभेम्बर १४ यता भएका हिंसात्मक घटनामा तीन राजनीतिक कार्यकर्ता र एक बस मजदुरसहित कम्तीमा चार जनाको मृत्यु भइसकेको छ
ढाका — राजनीतिक हिंसा र आगजनीका घटना बढेपछि नियन्त्रणका लागि बंगलादेशले शनिबार सयौं अतिरिक्त अर्धसैनिक बल परिचालन गरिएको छ ।
पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकका घरमा आगजनी, प्रहरी चौकी तथा बैंकमा आक्रमण र प्रतिद्वन्द्वी दलका समर्थकका घर जलाउने क्रम तीव्र भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सन् २०२४ को जनविद्रोहपछि सत्ताच्युत भई भारतमा निर्वासित ७९ वर्षीया हसिनाले मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको थियो । उनले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेपछि अशान्ति चर्किएको हो ।
सरकारी समाचार संस्था बीएसएसका अनुसार देशभर बोर्डर गार्ड बंगलादेश (बीजीबी) का ९० अतिरिक्त प्लाटुन तैनाथ गरिएको छ ।
प्रहरी प्रमुख मोहम्मद अली हुसेन फकिरले हसिनाको गृहनगर गोपालगन्जमा सुरक्षा स्थिति सामान्य भइसकेको बताउँदै विध्वंसविरुद्ध उभिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यसका साथै, जीविकोपार्जन योग्य ज्यालाको माग गर्दै गार्मेन्ट मजदुरहरूले आन्दोलन गरिरहेका औद्योगिक क्षेत्रहरूमा समेत सुरक्षा बल बढाइएको छ ।
सुरुमा हसिनाको अवामी लिग पार्टीका समर्थकहरुले गरेको आन्दोलन हिंत्सामक बनेको थियो र सत्तारुढ राजनीतिज्ञहरुलाई आन्दोलनकारीले निशाना बनाएका थिए ।
सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई कार्यकर्ताको हत्या भएको केही दिनपछि आक्रोशित सत्तारुढ पार्टीका समर्थकले बदलास्वरूप तोडफोड र आगजनी गरे ।
पछिल्लो घटनाक्रममा दक्षिण–पश्चिमी जिल्ला नरैलमा शुक्रबार हसिनाको प्रतिबन्धित पार्टी अवामी लिगसँग आबद्ध व्यक्तिहरूका एक दर्जनभन्दा बढी घरमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार करिब ५० घरमा क्षति पुगेको छ भने सडकमा अवरोध गरिएकाले दमकलसमेत समयमै पुग्न सकेको थिएन ।
स्थानीय सञ्चारमाध्यमका अनुसार नोभेम्बर १४ यता भएका हिंसात्मक घटनामा तीन राजनीतिक कार्यकर्ता र एक बस मजदुरसहित कम्तीमा चार जनाको मृत्यु भइसकेको छ ।